Breaking

मोदीको दूत मिश्रीले ल्याएको तरंग, ओलीमा शंका, प्रचण्ड हौसिए


भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमण सक्काएर स्वदेश फर्किएका छन् । विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्परा अनुसार उनी नेपाल भ्रमणमा आएका हुन् । यद्यपि, विशेष एजेन्डा बिनै शिष्टाचार भ्रमणमा आएका उनीसँग भेट गर्नु स्वाभाविक भए पनि मुुलुकको कुटनीतिक प्रोटोकल नै जोगाउन असफल नेताहरुको लम्पसारवाद चरित्र फेरि एक पटक उदाङगो भएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नाडी छामेर स्वदेश फर्किएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आइतवार विहान काठमाडौँ ओर्लिएका मिश्रीले दुई दिने नेपाल बसाईंमा नेपालस्थित भारतीय राजदुतवासमा वृक्षारोपण, पशुपतिनाथ मन्दिरको दर्शनदेखि नेपाल भाषा परिषदको नवनिर्मित भवन उद्घाटनसम्मका कार्यक्रममा सहभागिता जनाए ।

यसक्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तामा छलाङ नै मारे । कुटनीतिक प्रोटोकलको धज्जी उडाउँदै समकक्षीसँगको भेटलाई अन्तिममा राखेर उनले सिधैँ शीतलनिवासबाट शिष्टाचार भेटघाट थाले । कुटनीतिक प्रोटोकल अनुसार समकक्षीबाट भेट गर्नुपर्ने हुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेट लगत्तै सिंहदरबार पुगेर प्रधानमन्त्री केपी ओलीसँग भेट गरे । त्यसपछि मिश्रीको रोजाइमा विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परे । आइतबार साँझ नै उनी प्रचण्डको निजी निवास खुमलटार पुगे ।

प्रचण्डसँगको शिष्टाचार भेटपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे । शिष्टाचार भेटमा मिश्रीले भारतीय नेतृत्वको सन्देश सुनाएका छन् । विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्परा अनुसार नेपाल भ्रमणमा आएको भनिएका मिश्रीको भ्रमण, दुईपक्षीय उच्चस्तरी भेटघाटमा नेपाल–भारत सम्बन्ध र दुई पक्षीय हितका सवालमा चर्चा भए । भेटका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत मिश्रीमार्फत पठाएका छन् । शीर्ष नेताहरुको निवास चहार्न भ्याएका विदेश सचिव मिश्रीले सोमबार नेपाल सरकारका मन्त्रीहरुको चोटाकोठामै पुगेर भेट दिए ।

विहानैदेखि भेटघाटमा भ्याईनभ्याई विदेश सचिव मिश्रीले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरे । गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि उनले भेटवार्ता गरे । विशेष एजेन्डा बिनै शिष्टाचार भ्रमणमा आएका मिश्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणाले भने एयर कनेक्टिभिटी बढाउन नेपाललाई थप हवाई रुट उपलब्ध गराउन आग्रह गरिन् । कुटनीतिक प्रोटोकल अनुसार समकक्षीबाट शिष्टाचार भेट गर्ने परम्परा रहे पनि मिश्रीले सिधैँ शीतल निवासबाट भेटवार्ता थालनी गर्दा उनको भेटघाटको सूचीको अन्तिममा परराष्ट्र सचिव सेवा लम्साल परिन् ।

अन्तिममा परराष्ट्र सचिवसँग भेट गर्दै आफ्नो दुई दिने नेपाल बसाईं बिट मारेर बिदा भएका छन् । विदेश सचिवस्तरीय भेटमा भने दुई देशबीचमा विगतमा भएका सहमतिहरु तथा सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको थियो । नेपाल भारत सम्बन्ध सबै पक्षहरुको बीचमा समीक्षा गर्ने र आगामी कसरी अगाडि बढाउने भन्ने विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्ध सुधारका नाममा नेपालका राजनीतिक नेतृत्वले मिश्रीलाई गरेको स्वागत र भेट भने कुटनीतिक रुपमा शोभनीय नभएको टिप्पणी भइरहेको छ । विदेश सम्बन्ध सञ्चालन र कुटनीतिक मर्यादाको ख्याल नगरी कुटनीतिक प्रोटोकल नै मिचेर मन्त्रीको कोठाचोटा, शीर्ष नेतृत्वको कार्यकक्षमै पुगेका एक कर्मचारीका लागि बिछ्याइएको रेड कार्पेट र नेताहरुको नतमस्तक प्रवृत्ति उदाङगो भएको छ । यस घटनाक्रमले नेताहरुको लम्पसारवादले हद नाघेको छ । यसलाई शीर्ष नेतृत्वले नै प्रश्रय दिएको जानकारहरुको तर्क छ ।

विदेश सचिव मिश्रका यी भेट समाचार बनेका र सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरबाट पुष्टि भएका भेट मात्र हुन् । विगतमा भारत, चीन वा अन्य मुलुकबाट उच्चस्तरीय प्रतिनिधिमण्डल आउँदा होटलको कोठाकोठा धाउने परम्पराले यो पटक निरन्तरता पाएन होला त ? भेटवार्ता र छलफलका क्रममा फोटो खिचाउनै हम्मेहम्मे परेका विदेश सचिव मिश्रीले पर्दा पछाडि कतिलाई भेट दिए ? यत्ति धेरै भेटको अर्थ के ? प्रश्न उठ्नु स्वभाविक छ ।

नेपालमा फेरिएको सत्ता समीकरण र एमाले कांग्रेस गठबन्धनको सरकार बनेपछि भएको विदेश सचिवको भ्रमणलाई अनेक तवरबाट अथ्र्याउन थालिएको छ । विदेश सचिवमा नियुक्त भएपछि भुटान पुगेका उनी त्यसपछि नेपाल आएका हुन् । मिश्रीको नेपाल यात्रा पूर्वनिर्धारित नै भए पनि बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाले तनावमा रहेको भारतबाट भएको उच्चस्तरी भ्रमण महत्वपूर्ण छ । हिन्दुत्वको विषयदेखि बीआरआई के गर्ने भन्ने बहस नेपालमा तीव्र छ । संविधान संशोधन गर्ने तयारीमा दलहरु छन् । दुई पक्षीय सम्बन्ध सुधारको दृष्टिले विदेश सचिव मिश्रीको नेपाल भ्रमण आफँैमा महत्वपूर्ण मान्न सकिन्छ । तर मिश्रीको नेपाल यात्रा र यत्तिका भेटघाटले विगतमा टकरापूर्ण रहँदै आएको प्रधानमन्त्री ओली र भारतबीचको सम्बन्ध सुधार होला ?

भारतबाट अतिक्रमित भूमि चुच्चे नक्सामा समेटेका प्रधानमन्त्री ओलीले ती भूभाग फिर्ता ल्याउँदै सीमा समस्या सुल्झाउन सक्लान् ? यी प्रश्नहरुको जवाफ अहिले नै आउन नसके पनि दुई देशबीच देखिएका समस्या सुल्झाउन अपरिहार्य बनिसकेको छ ।

—सिधैँ शीतलनिवास छिरेका मिश्रीले नयाँ र वैकपिल्क शक्तिहरुलाई भने भेट गर्न जरुरी ठानेनन् । व्यस्तताका कारण उनले भेट दिएनन् कि आवश्यक ठानेनन् यो विषयले उनैले जानुन् । नेपालका नेताहरुको नाडी छामेर स्वदेश फर्किएका मिश्रीले कस्तो कुटनीति तय गर्छन् ? त्यो भने निकट भविष्यमा भारतले नेपालप्रति गर्ने व्यवहारले उजागर गर्ने नै छ ।