अन्तर्राष्ट्रिय

भारतबाट हसिनाको धम्की, छोरा लिएर स्वदेश फर्कने संकेत


बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई देशबाट लखेट्न विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । विद्यार्थी आन्दोलनका कारण सत्ता नेतृत्व छाडेपछि उनको पहिलो प्रतिक्रिया बाहिर आएको हो । बंगलादेशबाट भागेर हाल भारतमा शरण लिइरहेकी हसिनाले आफूविरुद्ध विदेशी शक्तिले षड्यन्त्र गरेको ठोकुवा गरेकी छन् । हसिनाले दाबी गरेजस्तै के उनीविरुद्ध विदेशी शक्ति लागेका थिए ?

बंगलादेशमा चर्किएको विद्यार्थीहरूको एक महिना लामो आन्दोलनले १५ वर्षदेखि शासन सत्ता चलाइरहेकी शेख हसिना देश छाडेर भाग्नुप¥यो । आन्दोलन उत्कर्षमा पुगेपछि उनले राजीनामा दिएर गत सोमबार देश छाडेकी थिइन् । प्रधानमन्त्रीबाट सत्ताच्युत भएपछि भारतको शरणमा पुगेकी हसिनाले देशबाट लखेट्न विदेशी शक्तिको हात रहेको दाबी गरेकी छन् । भागेर भारत पुगेकी उनले सत्ताच्युत भएपछि पहिलोपटक यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘सेन्ट मार्टिन्स र बंगालको खाडी अमेरिकालाई छाडेको भए म सत्तामा रहिरहन सक्थेँ ।’ उनले भनेकी छन् ।

तीन वर्गकिलोमिटरको सेन्ट मार्टिन टापु दिए तत्काल आफूलाई सत्तामा फर्काउने प्रस्ताव आएको पनि उनले दाबी गरेकी छन् । भारत निर्वासनमा रहेकी उनी अन्य मुलुक जान सक्ने आकलनका बीच आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू चाँडै स्वदेश फर्किने बताएकी छन् । उनले भनेकी छन्, ‘म चाँडै फर्किनेछु । हार मेरो भए पनि जित बंगलादेशी जनताको हो ।’ यसअघि हसिनाका छोरा सजिव वाजेद जोयले देशमा चुनाव घोषणा भएपछि स्वदेश फर्कने बताएका थिए ।

अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेपछि पूर्वप्रधानमन्त्री हसिना स्वदेश फर्किने उनको भनाइ छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको सेना समर्थित अन्तरिम सरकारका १६ जना सल्लाहकारले गत बिहीबार शपथ ग्रहण गरेका थिए । विद्यार्थी आन्दोलनका दुई नेता पनि अन्तरिम सरकारको सदस्य बनेका छन् ।

शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य ‘कू’का बेला हत्या भएको थियो । त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा रहेकाले बाँच्न सफल भएका थिए । त्यसपछि उनीहरू भारत निर्वासनमा गए । सन् १९८१ मा उनीहरू स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि हसिना राजनीतिमा सक्रिय हुँदै अवामी लिग र देशकै नेतृत्व गर्न सफल भएकी थिइन् ।

अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बलियो बनेको थियो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन् । सन् २००९ यता उनले निरन्तर बंगलादेशको सत्तामा रहँदै आएकी थिइन् । उनी बाङ्ग्लादेशमा लामो समय शासन गर्ने नेतामा पर्छिन् । हसिना झन्डै २० वर्ष बंगलादेशको प्रधानमन्त्री बनेकी छन् ।

लामो राजनीतिक संघर्ष र सत्ता नेतृत्व सम्हालेको अनुभव उनीसँग रहेकाले अहिलेकै अवस्थामा उनले राजनीतिबाट टाढा हुने संकेत देखिँदैन । ८० को दशकमा भारत निर्वासनमा रहेकी हसिना अहिले पनि भारतकै शरणमा छिन् । यसपटक पनि उनी भारतबाट स्वदेश फर्किने तयारीमा छिन् । जसले गर्दा बंगलादेशमा आम निर्वाचन भए र सो निर्वाचनमा उनले चुनाव लड्ने वातावरण प्राप्त गरिन् भने फेरि पनि उनी सत्तामा फर्किन सक्ने सम्भावना भने जीवित देखिन्छ । जुन परिदृश्यले हसिनाका लागि सन् १९९६ कै घटना दोहिरिन सक्ने आकलन गरिएको छ । तर, उनीविरुद्ध विपक्षीहरु एक ढिक्का भएर घेराबन्दीमा उत्रिन सक्ने ठूलो सम्भावना रहेकाले हसिनाको राजनीतिक भविष्य यस्तै हुन्छ भनेर किटान गर्न सक्ने अवस्था भने छैन । स्वदेश फर्किएलगत्तै उनमाथि थुप्रै किसिमका मुद्दाहरु लाग्न सक्ने र जेल जानु पर्नेसम्मको अवस्था आउन सक्ने विश्लेषण पनि हुँदै आएका छन् ।।