Breaking

विश्वकप खेलेका खेलाडी बोकेर नेपालसँग भिड्न आयो भुटान, घरेलु मैदानमा हार चखाउने नेपालको दाउ


काठमाडौँ – नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भोलि एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीसँग प्रतिष्पर्धा गर्दैछ । विश्वकपको अनुभव बटुलेका पारोका खेलाडीलाई हराउने चुनौतीमा रहेको चर्च ब्वाइजको तयारी कस्तो छ त ?

चर्च ब्वाइज युनाइटेडले मंगलबार एएफसी च्यालेन्ज लिग प्लेअफमा भूटानको पारो एफसीसँग प्रतिष्पर्धा गर्दैछ ।यी दुईबीचसाँझ ६ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा प्रतिष्पर्धा हुनेछ । तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो एफसी चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ । विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्र्याएको छ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् ।

त्यसैले मंगलबार चर्च ब्वाइजले भुटानी प्रतिद्वन्दीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।करिब एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेकालेयस खेलमा प्रभावशाली प्रदर्शन गर्ने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ । तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उनी बताउँछन् । खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भुटानमा लिग खेलिरहेको छ । लिगमा पारो शीर्ष स्थानमा छ । उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्र्याउँदै थप बलियो बनाएको छ । एएफसीले विदेशी खेलाडी अनुबन्धनमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी समेटिएका हुन् ।चर्च ब्वाइजले अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउन सकेको छैन ।

पाहुना टोली पारोले प्रशिक्षण गर्दै आएको आर्मीको फुटबल मैदान खेल्न अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रंगशालामा प्रशिक्षण गर्ने अवसर दिइएको थियो । यता, चर्च ब्वाइजका कप्तान अनन्त तामाङले आफूहरू दशरथ रंगशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने बताए । आफ्नो योजना र रणनीतिअनुरूप खेल्न सके जुनसुकै मैदानको तयारीले पनि नतिजामा कुनै असर नपार्ने उनको भनाइ छ । साथै कप्तान अनन्तले विपक्षी टोलीमा जस्तोसुकै नाम भएका खेलाडी आए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको उल्लेख गरे ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आएपनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए । उनले खराब मौसमका कारण प्रशिक्षण गर्ने मैदानको अवस्थानराम्रो रहेको उल्लेख गर्दै समयमा नै प्रशिक्षण गर्न नपाएकोप्रति दुखेसो व्यक्त गरे । पछिल्लो सिजन मच्छिन्द्रसँग नतिजा सुखद् नभए पनि यसपटक आफ्नो टोली बलियो रहेको र मंगलबार चर्च ब्वाइजलाई कडा चुनौती दिने उनको विश्वास छ ।

पारोका कप्तान किन्ले वाङचुकले पछिल्लो पटक नेपाल भ्रमण सुखद् नरहे पनि यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यसका लागि आफ्नो टोलीले राम्रो तयारी गरेको उल्लेख गरे । चर्च ब्वाइज बलियो रहेको र त्यहीअनुरूप उत्कृष्ट प्रदर्शन गर्ने कप्तान वाङचुकको विश्वास छ ।

पारो प्लेअफ खेल्न गत शनिवार नेपाल आइपुगेको हो । यसबीच पाहुना टोलीले नेपालको मौसमअनुरूप प्रशिक्षण गर्न पाएको छ । पछिल्लो सिजनको तुलनामा यसपटक बलियो टोली रहेको पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ । अघिल्लो सिजन नेपालको मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ ।च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा कीर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानको लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।।