Breaking

जनार्दनको माओवादीमा कलह, प्रचण्डले नेतृत्व छाड्छन् कि जनार्दनले पाटीे ?


काठमाडौँ – सत्ता बाहिर पुगेपछि जनतामा जाने सुरसारमा रहेको माओवादीमा सुधारका लागि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा प्रस्ताव पेश गरेका छन् । जसमा पार्टीको संगठन निर्माणदेखि प्रचण्डको नेतृत्वका विकल्पसम्म उल्लेख गरिएका छन् । यसले फेरि एकपटक जनार्दन र अध्यक्ष प्रचण्ड आमनेसामने भएको देखाएको छ ।

पार्टी फुट्ने आशंकाका बिच माओवादीमा उपमहासचिव जनार्दन शर्माको प्रस्तावले फेरि एकपटक तरंग ल्याएको छ । पार्टीले जनतामा जाने तयारी गरेका बेला जारी स्थायी कमिटी बैठकमा शर्माले निर्मम समीक्षा सुझाएको प्रतिवेदन प्रस्तुत गरेका छन् । जसमा उनले समस्याका ९ कारण, पार्टी निर्माणका लागि १६ कार्य नीति र सुझाव तथा नेतृत्व हस्तान्तरणका लागि तीन विकल्प नै प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि समेत उनले दर्जनौँ आरोप र गुनासो गरेका छन् । यसअघि घुमाउरो शैलीमा पार्टी बिग्रिनुको दोष प्रचण्डलाई नै दिँदै नेतृत्व छाड्न दबाब दिएका जनार्दनले यसपटक भने सरकार र पार्टी संगठनमा भएको उथलपुथलबारे समेत प्रचण्डको जवाफ खोजेका छन् । यस्तै आफूविरुद्ध पार्टी र राज्यशक्ति समेत परिचालित गरिएको दाबी जनार्दनले गरेका छन् ।

यसपटक जनार्दन नेतृत्व हस्तान्तरण र पुस्तान्तरण तथा संगठनका सवालमा आक्रामक देखिएका छन् । आफूले पार्टी फुटाउन लागेको हल्ला पनि नेतृत्व तहबाटै नियोजित रुपमा गरिएको र मुद्दामा आधारित छलफल निस्तेज पार्न राज्य संयन्त्रको समेत प्रयोग गरेको र आफू र वर्षमान पुनविरुद्ध किस्ताबन्दीमा दुष्प्रचार गरिएको आरोप जनार्दनले लगाएका छन् ।

खुमलटार छँदा आफू एमालेमा जान लागेको हल्ला चलाउने प्रचण्डले नै आफूमाथि पार्टी फुटान लागेको हल्ला चलाएको आरोप लगाएका छन् । यसबाहेक पार्टी सञ्चालनका मूल्य मान्यताको धज्जी उडाइनु, नेताहरु निजी स्वार्थ केन्द्रित हुनु, एकथरी नेताहरु पद र सुविधाका पछि भौतारिनु तथा माओवादी आफैँ कर्तव्यबिमुख हुँदा समस्या आएको बताएका छन् ।
यसको समाधानका लागि शर्माले १६ बुँदामा सुझाव दिएका छन् ।

संविधानमा उल्लेखित समाजवादको परिभाषा, नव उदारवादी अर्थव्यवस्थाबारे स्पष्ट धारणा, प्रदेश र स्थानीय सरकारको सबलीकरण, निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी लगायत बिषयमा जनमत निर्माण र भ्रष्टाचार विरोधी आन्दोलन थाल्नुपर्ने सुझाव दिएका छन् । यस्तै सबै नेताको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने तथा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यसपटक जनार्दनले प्रचण्डको नेतृत्व अब पार्टीलाई पुगेको निश्कर्ष निकाल्दै २०४६ सालदेखि पार्टीको नेतृत्वमा रहेका प्रचण्डलाई मार्ग प्रसस्त गर्न तीन सुझाव दिएका छन् । सम्भवतः प्रचण्डलाई नेतृत्व छाड्न भएको यो नै पहिलो प्रस्ताव हो ।

विकल्प एक ः सत्ताको नेतृत्व प्रचण्डलाई नै तर, पार्टी नेतृत्व प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण
विकल्प दुई ः प्रचण्डलाई संरक्षकको भूमिकामा राख्दै सत्ताको नेतृत्व दिने कार्यकारी सांगठनिक नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने
विकल्प तीन ः अहिलेको केन्द्रीय समिति भंग गरी प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशन घोषणा र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व
अर्थात प्रचण्डकै नेतृत्वमा अब पार्टी चल्न नसक्ने औपचारिक निश्कर्षमा जनार्दन पुगिसकेका छन् ।

यसअघि पनि भिड्न खोजेका थिए जनार्दन ६ महिनाअघि मात्रै पनि जनार्दनले पार्टी रुपान्तरणका लागि अप्रत्यक्ष रुपमा प्रचण्डको नेतृत्व फेर्नु पर्ने गरीको पूरक प्रस्ताव ल्याएका थिए । गतवर्ष माघमा बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको उनको प्रस्तावमा सबै पदाधिकारीहरुको प्रत्यक्ष निर्वाचन, पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्नेदेखि पार्टीको नाम फेर्नु पर्ने उल्लेख थियो । यसमध्ये प्रत्यक्ष निर्वाचित पदाधिकारीको व्यवस्था विधान अधिवेशनमार्फत भइसकेको छ ।

फागुुन १५ गते जनार्दनले प्रदेश इन्चार्जको कार्यविभानजमा असहमति जनाउँदै अर्को पत्र लेखेका थिए । जहाँ सिनियर नेताहरुलाई पन्छाउँदै प्रचण्डका भाइ नारायणप्रसाद दाहाल र बुहारी बिना मगरलाई जिम्मेवारी दिएको भन्दै असहमति जनाएका थिए । त्यसपछि सत्ता उथलपुथलका समय कर्णालीमा प्रचण्डले जनार्दन निकटका मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा दिन दबाब बढाउँदा उनले विद्रोहकै चेतावनी दिएको चर्चा चल्ने गरेको छ ।

जनार्दनले सत्ता उथलपुथलबारे प्रश्न गर्दा प्रचण्डले भने सत्ता छाड्नुको दोष अमेरिकालाई लगाएर पन्छिरहेका छन् । तीस वर्षदेखि प्रचण्ड नेतृत्वमा रहँदा उनको आलोचना गर्ने बाबुराम लगायत नेताहरु आफैँ अलगिएर जान बाध्य पारेका थिए । अहिले पनि आफूमाथि दबाब बढ्न थालेपछि प्रचण्डले आफ्नो प्रभाव विस्तार गर्न नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा ल्याउन लागेको चर्चा चल्ने गरेको छ । त्यसमाथि कम्युनिस्ट घटकहरु मिल्ने रटान पनि लगाइरहेकै छन् ।

९ वर्षसम्म सत्ताको परिपरि मात्रै घुमिरहेको माओवादीले जनता र कार्यकर्ता बिर्सिएको उसकै समीक्षाले देखाउँदा जनार्दनको प्रतिवेदन उपयोगी देखिन्छ । तर, यो प्रस्तावपछि प्रचण्डले नेतृत्व छाड्ने वा जनार्दनले पार्टी ? यो प्रश्न अहम् बनेको छ । प्रचण्ड नेतृत्वको विकल्प मागेकै भरमा जनार्दन माओवादीको मुकुल ढकाल बन्ने सम्भावना पनि माओवादीको विगतले देखाउँछ ।