अन्तर्राष्ट्रिय

बाइडेनको बलमा जेलेन्स्कीको हमला, रुसको पूर्वी भागमा युक्रेनी सेना


रुसले युक्रेनमाथि आक्रमण जारी राखेको बेला युक्रेनबाटै रुसमाथि ब्याक फायर हुन थालेको छ । केही महिनादेखि मत्थर जस्तै देखिएको रुस–युक्रेन युद्धका क्रममा युक्रेनले रुसी भूमिमै प्रवेश गरेर एक्कासी आक्रमण गरेपछि फेरि दुई मुलुक आमनेसामने हुने देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरिरहेको पुष्टि गरेका छन् । पहिलो पटक युक्रेनले रुसमाथि आक्रमण गरेको स्वीकारेका जेलेन्स्कीले युक्रेनी सेना क्रमशः आक्रामक रुपमा रुसी क्षेत्रतर्फ अघि बढेकोसमेत बताएका छन् । गत मङ्गलबार युक्रेनले रुसमाथि आक्रमण गरेको पाँच दिनपछि शनिबार राति मात्र जेलेन्स्कीको बयान बाहिर आएको हो । मङ्गलबार बिहान ट्याङ्क र सशस्त्र सवारी साधनसहित युक्रेनका एक हजार सैनिकले अचानक रुसको कुस्र्क क्षेत्रमा आक्रमण गरेका थिए ।

युक्रेनी सेना रुसी सीमा पार गर्दै १० किलोमिटर भित्र पसेको युक्रेनले दाबी गरेको छ भने, रुसले उक्त क्षेत्रका ७६ हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताइएको छ । सन् २०२२ फेब्रुअरी ९ मा मस्कोले युक्रेनमाथि पूर्ण रुपमा आक्रमण गरेपछि आफ्नो पक्षबाट यो नै सबैभन्दा ठूलो प्रगति भएको युक्रेनले जनाएको छ ।

युक्रेनी सेनाले धेरै गाउँहरू कब्जा गरिसकेको र क्षेत्रीय सहर सुड्झालाई पनि कब्जा गर्ने धम्की दिइरहेको छ । साथै, प्रमुख रुसी ग्यास कम्पनीको स्वामित्वमा रहेको युक्रेनको सिमानाबाट करिब सात किलोमिटर टाढा सुड्झाको उत्तर–पश्चिमी भाग ग्याजप्रोम आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनले न्याय सुनिश्चित गर्न सक्छ अनि आक्रमण गर्नेहरूमाथि दबाब बनाउन पनि सक्छ भन्ने प्रमाणित गरिदिएको बताएका छन् ।

युक्रेनी सेनाले गरेको आक्रमणलाई रोक्नका लागि युक्रेनको सिमानामा रहेको कुस्र्क, बेल्गोरोड र ब्रायनस्क तीन क्षेत्रमा रुसले शुक्रबारदेखि काउन्टर–टेररिज्म कमिटी (नाक) स्थापना गरेको छ । जसले त्यस क्षेत्रमा रहेका मानिसहरू र सवारी साधनको आवतजावतमा प्रतिबन्ध लगाउनेदेखि फोनको ट्यापिङ गर्नेसम्मको अधिकार दिएको छ ।

आक्रमणपछि कुस्र्क क्षेत्रमा ट्याङ्क र रकेट प्रक्षेपण प्रणाली पठाएको मस्कोले शनिबार बिहानको प्रतिवेदन निकाल्दै आफ्नो सेनाले युक्रेनी सेनाको ‘आक्रमणको प्रयासलाई पन्छाउने प्रयास जारी राखेको’ उल्लेख गरेको छ । यता, रुसले पनि युक्रेनको राजनधानी कीभ र अन्य धेरै क्षेत्रहरूमा रातभर ड्रोन र मिसाइलबाट आक्रमण गर्दा दुई जनाको ज्यान गएको छ ।

शुक्रबार, संयुक्त राष्ट्र आणविक एजेन्सीले रूस र युक्रेन दुबैलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । किन भने आक्रमण भएको कुस्र्क क्षेत्रमा रसियाको सबैभन्दा ठूलो मध्येको एक आणविक उर्जा केन्द्र रहेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले गम्भीर रेडियोलोजिकल परिणामहरूको सम्भाव्यताको साथ आणविक दुर्घटनाबाट बच्नसमेत आग्रह गरेका छन् ।


पावर प्लान्ट भएको उक्त क्षेत्र युक्रेनले कब्जा गर्ने धम्की दिएको सुड्झाबाट ६० किलोमिटर उत्तर पूर्वमा अवस्थित छ । रुस र युक्रेनबीच सुरु भएको युद्धले पुनः भयावह स्थिति सिर्जना हुने सङ्केत गरेको छ । युक्रेनमाथि भीषण आक्रमण गर्दै युक्रेनी सीमा क्षेत्र तथा सहरहरुमाथि कब्जा जमाएको रुसले आफ्नो भूमिभित्र युक्रेनी सेनाको प्रवेशलाई पक्कै पनि सहेर बस्न नसक्ने देखिन्छ । त्यसको बदला स्वरुप रुसले चाल्ने आगामी कदम कस्तो हुन्छ ?

रुसले आफ्नो संयमता गुमाएको खण्डमा युक्रेनले त्यसको प्रतिकार कसरी गर्छ ? हालसम्म अमेरिका र युरोपेली राष्ट्रहरुको महत्वपूर्ण साथ सहयोग पाइरहेको युक्रेनका लागि रुसले निकट भविष्यमा गर्ने कारबाही कति हिंसात्मक र भयावह हुन्छ ? त्यो भने अहिले नै आकलन गर्न नसकिए पनि रुस युक्रेन युद्ध थप चर्किने अवस्थाले भने अन्य राष्ट्रलाई पनि युद्धमा होमिने दबाब बढ्न सक्ने हुँदा विश्वकै लागि दुर्भाग्य बन्न सक्ने चिन्ता बढिरहेको छ ।