Breaking

शेखरको लिखित प्रस्तावले कांग्रेसमा तरंग, देउवासँग सवालजवाफ


केही मौन बसेका डा.शेखर कोइराला तातिएसँगै नेपाली कांग्रेसमा गुटको राजनीति गर्माएको छ । पहिलेबाटै उत्तराधिकारी बन्ने लडाईंमा रहेका शेखरले केन्द्रीय समिति बैठकमालिखित राय नै राखेरमहाधिवेशनको सुनिश्चिता खोजेका छन् । जसले पार्टीमा हलचल ल्याएको छ ।

सत्तारोहणसँगै चुप बसेको गुटले प्रहार थालेपछि नेपाली कांग्रेसभित्र हलचल मच्चिएको छ । आफ्नो पक्षपोषण गर्ने विगतको जस्तो अवस्था नरहँदा तथा इतरगुटले उठाएका विषय आफूलाई पेल्ने भएपछि सभापति शेरबहादुर देउवा रक्षात्मक नै देखिएका छन् । त्यस्तै गठबन्धनको औचित्य पुष्टि गर्ने गरी काम गर्नुपर्नेमा विषयदेखि सत्तामा एमाले हाबी हुन थालेसम्मको विषय उठेपछि गुटगत दृश्य अझ पेचिलो बनेको हो ।

जुन अवसरलाई प्रयोग गरेका डा.शेखर कोइरालाले त आफू नै अबको कांग्रेसको सभापति भएको संकेत नै दिन भ्याए । यहि कारण विगत केहि समयबाटै महाधिवेनको विषय उठाँउदै आएका उनले समयमै १५ औं महाधिवेशन हुनुपर्ने कुरा दोहोराएका छन् ।

२०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले विधानअनुसार चार वर्षको अन्तरालमा २०८२ मंसिरमा १५ औं महाधिवेशन सुनिश्चित हुनुपर्ने भनाई राखेका उनले कुनै बहानामा महाधिवेशन सार्ने काम भए त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने चेतावनी नै दिए । त्यस्तै एमालेसँगको गठबन्धनबारे यो समूहले प्रश्न उठाउँदा लिखित राय नै प्रस्तुत गरेका कोइरालाले संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काइरहेको उल्लेख गरे ।

जसले देउवालाई घोच्दा अरुको सुझाव सुनेर मात्र बसेका उनले शेखरलाई भने तुरुन्त जवाफ दिए । अर्थात महाधिवेशन तपाईंको चिन्ताको विषय हैन भन्ने ओठे जवाफ फर्काएका देउवाले गुटको नेता भएका शेखरलाई केन्द्रीय सदस्यको उनको हैसियत नै सांकेतिक रुपमा सम्झाए ।

सबैभन्दा रोचक त एमालेप्रतिको उनीहरुको विश्वासको विषय नै बन्यो । अर्थात ओलीले नेतृत्व हस्तान्तरण गर्छन् कि गर्दैनन् भन्ने विषयको आशंकामा कांग्रेस नेताहरु देखिँदा संस्थापनइतर पक्ष पालो आएपनि देउवा रोक्नुपर्ने पक्षमा देखियो । यसैका लागि महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा देउवालाई प्रधानमन्त्री हुनबाट रोक्नेगरी प्रतिवेदन अघि सारे । महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ ।त्यसको प्रतिवादमा आरजु राणा उत्रिइन ।

यो देउवामाथिको प्रहारकै रुपमा व्याख्या गरेकी उनले यस्ता विषय क्षमताको भरमा हुने भन्दै शर्माको प्रतिवेदनको प्रतिवाद गरिन् । अर्कातर्फ साना दल च्याप्ने, सभापतिको पक्षमा पनि नउभिने अनि चुनावी गठबन्धन पनि हुन नहुने दोहोरो बाटोमा महामन्त्री गगन थापा उत्रिए । बरु केहि नेताहरुले एमालेले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निश्चित गर्नुपर्ने भन्ने विषय उठाउँदा सत्तामा जाँदा भाग खोज्ने अनि रणनीतिक रुपमा त्यसैको विरोधमा उत्रिने गरेर इतर पक्ष खरो कांग्रेसी बन्ने पक्षमा देखियो । अर्थात लड्डु बाढेर शुरु भएको कांग्रेस केन्द्रीय समितिको वैठक तित्ततातर्फ मात्रै उन्मुख बनेन किअर्को पक्षलाई दोष लगाएर आफू पानीमाथिको ओभानो हुने विगतकै प्रवृत्ति दोहोर्याउनमै सीमित बन्यो ।

हुन त हामी प्रतिस्पर्धीसँगै गठबन्धन गरेर माथि पुगिन्छ भन्ने प्रश्न गरेका इतर पक्षीय नेताहरुले कोशीमा एमालेकै लागि विद्रोह गरेको बिर्सिए । यो समीकरण बन्दा समानुपातिकलाई मन्त्री नबाउने मापदण्डकाबीच विवादीत आरजु राणास्वीकारेका उनीहरुले भागसमेत मिलाएर खाए । त्यस्तै आफ्नै गुटका जीवन परियारलाई पछि हटाएर दलित मन्त्री हुनेसक्ने अवसर समेत खाईदिएको यो गुट अहिले नियममा चल्ने देखिने अनेक बहाना खोजिरहेको प्रष्ट छ । हुन त‘वादेवादे जायते, तत्वबोध’ हुने भन्दा हात्ती आयो हात्ती आयो फुस्सा हुने सम्भावना नै बढी छ ।