देश

विद्याको इसाराले घेराबन्दीमा ओली,आफ्नालाई च्यापेपछि विकल्प खोजिदै, को–को सल्बलाए ? (भिडियोसहित)


काठमाडौँ— नेकपा एमालेमा दश वर्षदेखि निरन्तर शक्तिशाली भएर बसिरहेका अध्यक्ष केपी शर्मा ओली नै पार्टीका सर्वेसर्वा हुन् । तर, आफ्ना विरोधीलाई भित्तामै पु¥याउने ओली पछिल्लो समय घेराबन्दीमा पर्न थालेका छन् ।
नेपाली राजनीतिक दलहरूमध्ये सबैभन्दा जबरजस्त र मजबुत सङ्गठनको गिन्ती गर्दा निःसन्देह नेकपा एमाले कै नाम पहिले आउँछ । एमालेको नेतृत्वमा १० वर्षदेखि खड्गप्रसाद (केपी) शर्मा ओलीले एकछत्र राज गरिरहेका छन् । ओलीले एमालेको जबरजस्त नेतृत्व आफ्नो हातमा लिँदा अहिले उनैले देशको बागडोर पनि सम्हालिरहेका छन् ।

एमालेलाई नेपाली राजनीतिबाट पत्तासाफ गराउन कांग्रेससहित अरु दल एक ठाउँमा मिले पनि समानुपातिकमा जनताको सर्वाधिक मत पाउँदा एमाले नेतृत्वले नै देशको नेतृत्व गर्न सफल छ । तर, २०७१ सालदेखि निरन्तर सर्वशक्तिमान् रहेका ओली अब भने बिस्तारै पार्टीभित्रैबाट घेराबन्दीमा पर्दै गएका छन् । ओलीकै कारण एमालेबाट पन्छिएका र जबरजस्ती पन्छ्याइएकाहरूबाटै ओली घेरबन्दीको सिकार बन्ने सम्भावना बढ्दै गएको छ । एकलौटी ढङ्गको कार्यशैली र आफ्ना नजिकका नेतालाई मात्रै काखी च्याप्ने प्रवृत्तिले एमालेभित्र उनीप्रतिको असन्तुष्टि मौलाउँदो छ । बाहिर स्पष्टरुपमा नदेखिए पनि त्यही असन्तुष्टिहरू अहिले पोखिन थाल्दा पार्टीभित्रका नेताहरू ओलीको विकल्प खोजिरहेका छन् । परिणामतः ओलीको ठाउँमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई गुहार्न बाध्य छन् । पार्टीको सदस्यतासमेत नवीकरण गरेकी भण्डारी पनि एमालेका असन्तुष्ट पक्षको आग्रहलाई सम्बोधन गर्ने उचित समयको प्रतीक्षामा देखिन्छिन् ।

एमालेको ३४ औं सचिवालयको बैठकले कार्यविभाजनमा ठूलो हेरफेर गर्दा अध्यक्ष ओलीले आफू निकटलाई जिम्मेवारीको खात लगाउँदा अन्यलाई भने खाली हात नै पारिदिए । नेकपाको फुटपछि दश भाइको ट्याग लागेका योगेश भट्टराईको दोहो¥याएर मन्त्री बत्रे सपना पनि ओलीकै कारण तुहिँदा मधेश प्रदेशको इञ्चार्जबाट पनि हात धुनु प¥यो । पार्टी अध्यक्षसँग जुहारी खोज्दा भीम रावल, घनश्याम भुसालकै हालत हुने डरले नेताहरू ओलीको खिलाफ बाहिर खुलेर बोल्न सक्दैनन् । आफ्नो राजनीतिक भविष्य नै दाउँमा पर्ने भयले नेताहरू मौन बस्न बाध्य छन् । तर, एमालेबाट ओलीले भाग दिएर वा बल मिच्याइँबाट नै किन नहोस् त्यसरी पन्छाएकाहरू ओलीलाई बदनाम गर्न वा अफ्ठ्यारो पार्न तम्सिएका छन् ।

एमाले अध्यक्ष ओलीलाई अहिलेको अवस्थामा पार्टीभित्र कुनै पनि निर्णय गर्न त्यस्तो केही दबाव छैन । एमालेभित्र सर्वशक्तिमान् नेता ओलीले जे भन्यो पार्टीमा त्यही नै सर्वसम्मत हुने गर्छ । ओलीको बोली नै पार्टीको विधान सरह हुने गर्छ, जसलाई ओली प्रवृत्तिको रुपमा टिप्पणी गर्ने गरिन्छ । तर, अहिले ओलीलाई पहिलेको जस्तो सहज पनि छैन । जुन कुरा उनैले बताउने गरेका छन् । पार्टीको आन्तरिक लोकतन्त्र भन्दै पार्टीभित्र गुट उपगुट निर्माण गरेर उक्साउनेहरु बढेको भन्दै उनको असन्तुष्टि पोखिन थालेको छ । पार्टीभित्र गलत प्रवृत्ति र विसङ्गतिहरू देखिएको र यसले पक्ष र विपक्षमा पार्टीलाई डोहो¥याउन मद्दत गरेको ओलीको टिप्पणी छ । जालझेलको दायर सानो हुने भएकाले गुट उपगुटको राजनीतिले कोही सफल हुन नसक्ने तर्क गर्दै ओली आफूविरुद्धको रणनीतिलाई परास्त गर्ने कोसिस गरिरहेका छन् ।

नेताहरूलाई गुट र उपगुटमा नलाग्न सन्देश दिने ओली आफैँ आफ्नालाई काखा र अरुलाई पाखा गर्ने प्रवृत्तिलाई छाड्न सकेका छैनन् । जसले गर्दा उनी आफैँ आफ्नो साख गुमाउँदै छन् । हिजो ओलीसँग नजिक भएकाहरू अझ भनौं धर्म पुत्रकै संज्ञा पाएका गोकुल बास्कोटा, महेश बस्नेत जस्ता नेताले पनि अहिले ओलीको गुनगान गाउन छाडेका छन् । आफ्ना प्रतिष्पर्धी र आलोचकलाई बाइकट गर्ने कार्यशैली र दम्भले सर्वशक्तिमान् ओली पार्टीमा विस्तारै कमजोर बन्दै गएका छन् । यसले उनीविरुद्धको विरोधी आवाज बलियो बन्ने सम्भावना बढ्न थालेको छ भने संगठनात्मक रुपले बलियो एमाले आन्तरिक विवादमा फस्ने जोखिम बढ्दै गएको छ ।