अन्तर्राष्ट्रिय

बढ्यो इरान–इजरायल तनाव, हिज्बुल्लाह र हमास तंग्रिदै


काठमाडौँ – हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएपछि दशकौं पुराना दुश्मन इरान र इजराइलबीच फेरि तनाव बढेको छ । यो युद्धले अब मध्यपूर्व फेरि अशान्त बन्ने संकेत गरेको विश्लेषण हुन थालेको छ ।

हमासका नयाँ नेता इस्माइल हानिया इरानमा मारिएपछि मध्यपूर्वमा झनै युद्ध चर्किने सम्भावना बढ्दै जाँदा त्यसलाई रोक्नेदेखि थप उक्साउनेसम्मको होडबाजी चलिरहेको छ ।


यसबीचमा हानियाको मृत्युपछि हमासले नयाँ नेतृत्व छानिसकेको छ । मध्यपूर्वमा बढ्दो तनावका बिच यो घोषणा भएको हो । हानियाको हत्याको इजरालसँग बदला लिने इरानले चेतावनी दिइसकेको छ । यता इरानको समर्थन पाएको लेबननस्थित हिज्बुल्लाह समूहले पनि बदलामा इजरालविरुद्ध व्यापक आक्रमण गर्ने बताएको छ ।

मध्यपूर्वमा अहिले दुई धार देखिएको छ । लेबनान र इरानले इजरायलविरुद्ध संघर्ष गर्ने बताइरहँदा कतार, साउदी अरब र इजिप्टले भने युद्ध रोक्नु पर्नेमा जोड दिँदै आएका छन् । अमेरिका, इजिप्ट र कतारले इजरालय र हमासलाई वार्तामा बस्न आग्रह गरिरहेका छन् । तर आफ्नो प्रमुख नेता गुमाउनु पर्दा हमासले त्यसलाई सहन सकेको छैन । साथै इजरायलले आफ्ना नागरिकलाई पटक पटक निसाना बनाउँदा इरान र लेबनानले सजिलै छाड्न सक्ने अवस्था छैन ।
सिमाना नजोडिए पनि इजराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्ने सम्भावना छ ।

लेबननमा हिज्बुल्लाह, गाजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इजरायलमाथि आक्रमण गर्ने इरानको रणनीति देखिन्छ । तर इजरायललाई एकैपटक आइ पर्न सक्ने आपत आकलन गरेर उसलाई सहयोग गर्न अमेरिकाले थप युद्धपोत र लडाकु विमानहरू पठाइसकेको छ । अमेरिकाले दिएका हतियार आक्रमण गर्ने र रोक्ने दुवै काममा उपयोगी हुने छन् । यसकारण इरानले हमला गरे पनि इजरायलमा धेरै क्षति नहुन सक्छ ।


इरान र इजरायलबीच युद्धको खतरा बढेको गत अप्रिल १ देखि हो । इजराइलले सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा हवाइ आक्रमण गरेको थियो । सो आक्रमणमा जनरल मोहम्मद रेजा जाहेदीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए । करिब दुई सातापछि यसको जवाफ दिँदै इरानले थुप्रै मिसाइल र ड्रोनहरूबाट इजराइलमाथि आक्रमण गरेको थियो । इजरायलले भने खास नोक्सान नहुने गरी इरानमा आक्रमण गरेर सांकेतिक जवाफ मात्रै दियो ।

त्यो बेला इजरायलले इरानमाथि ठूलो हमला गर्ने योजना बनाएको थियो । तर अमेरिका लगायत देशको दबाबपछि सांकेतिक आक्रमण मात्रै ग¥यो । यसपटक इजरायलले राजधानीमै आक्रमण गरेर ‘पाहुना’ मारेकाले कडा जबाफ दिन इरानमाथि दबाब छ । अघिल्लो पटक आफ्ना जनरल मार्दा कडा जबाफ नदिएकैले इजरायलको हौसला बढेको र आफ्नो राजधानीमै पसेर हमला गरेको इरानको ठम्याइ छ । इरानलाई लागेको छ — अब पनि कडा जबाफ नदिए, जे गरे पनि केही गर्दैन÷गर्न सक्दैन भन्ठानेर इजरायल झन् आक्रामक बन्नेछ । निरन्तर आफूलाई हेपिरहने छ ।

त्यसैले अब हिज्बुल्लाह, हुथीसहितका विभिन्न समूहबाट इजरायलमा एकैपटक हमला गराएर कडा जबाफ दिने योजना इरानले बनाएको देखिन्छ । यो युद्धमा अर्कोतर्फ रुस, चीन जस्तो शक्ति राष्ट्रसमेत सामेल हुन्छन् कि भन्ने डर पनि पैदा भएको छ । किन कि इरानले यी शक्ति राष्ट्रहरुसंग अहिले सहयोगको अपेक्षा गरिरहेका छन् । यदि यी शक्ति राष्ट्रहरु सामेल भए युद्ध भयानक हुने सम्भावना छ । हुन त कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले इजरायललाई गाजा पट्टीमा युद्धविराममा पुग्न वार्ता पुनः सुरु गर्न आह्वान गरिसकेका छन् । तर युद्धविरामका लागि दुवै पक्ष तयार नहुनु र प्रतिशोधको भावनाले अगाडि बढ्दा मध्यपूर्व अशान्त बन्ने र भीषण युद्धको संघारमा पुगेको देखिन्छ ।