Breaking

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, यी कार्यसूचीमा छलफल


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक शुक्रबारदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ः०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए।

त्यसअघि आजै बिहान ११ः०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ। उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्र संगठन सुदृढीकरणलगायत अभियानसहित जनतामाझ जाँदैछ।

माओवादीले संघीय र प्रदेश सरकारमा रहेका बेला गरेका कामबारे जनतालाई जानकारीसमेत गराउने तयारी गरेको छ।

यसअघि गत वर्ष माओवादीले जनतासँग माओवादी चार महिने विशेष रूपान्तरण अभियान चलाएको थियो। यही साउन ११ देखि १५ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले फेरि रूपान्तरण अभियान चलाउने विषयमा छलफल गरेको हो। पार्टीका उपमहासचिव वर्षमान पुनले स्थायी कमिटी बैठकले अभियानका एजेण्डा बनाउने बताए।