अन्तर्राष्ट्रिय

हसिना लखेटिदा नेपाली रमाउनु बेकार, विद्युतदेखि विद्यार्थीसम्मैमा अन्योल


काठमाडौँ – विकास र समृद्धिको पथमा अग्रसर दक्षिण एसियाली मुलुक बंगलादेशमा भएको विद्रोहले शक्तिशाली शासक शेख हसिनाको सत्ता अप्रत्यासित रुपमा ढलेसँगै नेपाली नेतृत्वले त्यसबाट पाठ सिक्नु पर्ने विश्लेषण चौतर्फी रुपमा भइरहेको छ । यसो भनिरहँदा आपसी समझदारी र साझा मूल्यमान्यतामा आधारित नेपाल–बंगलादेशबीचको ऐतिहासिक कुटनीतिक सम्बन्धसमेत कम छैन ।

सरकारी जागिरमा आरक्षण कोटाविरुद्ध विद्यार्थीहरुको विद्रोहलाई समयमा नै सम्बोधन गर्न नसक्दा बंगलादेशमा शेख हसिनाको १५ वर्षे सत्ता राजनीतिको विरासत भत्किएको छ । डेढ दशकदेखि बंगलोदशको शासन सत्ता सम्हालेकी हसिना सत्ताच्युत मात्र भइनन् देश नै छाडेर भाग्न बाध्य भइन् । हाल भारतमा आश्रय लिइरहेकी उनलाई शक्ति राष्ट्रहरुले नै शरण दिन अस्वीकार गर्दा उनी घर न घाटको अवस्थामा पुगेकी छन् । मिल्दोजुल्दो शासन शैली, नागरिकमा चरम निराशा, शक्ति राष्ट्रहरुको हस्तक्षेपको प्रतिस्पर्धा लगायत लगभग मिल्दोजुल्दो राजनीतिक अवस्था झेलिरहेको नेपालमा पनि बंगलादेशको जस्तै अवस्था आउने हो कि भन्ने विश्लेषण भइरहेको छ ।

बंगलादेशको शासन सत्ताबाट हसिनाको बर्हिगमन र ढाकास्थित प्रधानमन्त्री निवासमा प्रर्दशनकारीले देखाएको अराजक व्यवहारको आलोचना हुनु पर्ने हो । तर त्यो दृश्य देखेका नेपालीहरु पनि देशको राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै हौसिन थालेको देखिन्छ । जुन सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुबाट प्रष्ट हुन्छ । जसलाई हेर्दा नेपाली नागरिकको धैर्यताको बाँध कतिबेला फुट्ने हो ? अहिले नै भन्न सक्ने अवस्था छैन ।

यद्यपि नेपाल र बंगलादेशबीचको सम्बन्धलाई यत्तिमा मात्र सीमित राख्नु पक्कै पनि न्यायोचित हुन सक्दैन । नेपाल–बंगलादेशबीचको दुई पक्षीय कुटनीतिक सम्बन्ध ऐतिहासिक र उदाहरणीय रहँदै आएको छ । बंगलादेशको स्वतन्त्रता ताका होस् वा पाँच दशक लामो कुटनीतिक सम्बन्ध सञ्चालनमा दुई मुलुकबीचको सौहार्दपूर्ण मित्रता, आपसी समझदारी र साझा मूल्य मान्यतामा आधारित रहँदै आएको छ ।

तीनतिर भारतले घेरिएको बंगलादेश सन् १९७१ मा भारतकै सहयोगमा पाकिस्तानबाट अलग हुँदै स्वतन्त्र राष्ट्र बनेको थियो । भारतको दवावमै भए पनि बंगलादेशलाई स्वतन्त्र बनाउन नेपालले गरेको सहयोगलाई भुल्न मिल्दैन । स्वतन्त्रताको संघर्षमा रहेको बंगलादेशलाई कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री वीपी कोइरालाले हतियार सहयोग गरेको जानकारहरु बताउँछन् ।

नेपालमा पञ्चायतविरुद्ध लड्न तयार पारिएको हतियार फिर्ता दिने सर्तमा बंगलादेशमा आन्दोलनरत पक्षलाई वीपीले सहयोग गरेका थिए । बंगलादेश स्वतन्त्र भएपछि दुई पक्षीय दौत्य सम्बन्ध कायम राख्ने पहिलो मुलुक नेपाल नै हो । साथै बंगलादेशलाई स्वतन्त्र राज्यको मान्यता दिने नेपाल सातौँ मुलुकमा पर्दछ ।

सन् १९७१ मा स्वतन्त्र भएको बंगलादेशसँग नेपालले १९७२ अप्रिल ८ मा दौत्य सम्बन्ध स्थापना गरेको थियो । त्यसयता नेपाल–बंगलादेश सार्क, बिमस्टेक र बीबीआईएनसहित विभिन्न क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा हरेक मुद्दामा एक साथ छन् । भूगोलका आधारमा नेपालको सीमा बाहिरको सबैभन्दा छोटो दूरीमा रहेको मुलुक बंगलादेश र नेपालबीच जम्मा २७ किलोमिटरको दूरी छ । दुई देशबीच स्थल परिवहनबाट सिधा सम्पर्क हुन सके बङ्गलादेश र नेपालबीचको जनस्तरीय सम्बन्धमा ठूलो परिवर्तन ल्याउने प्रयासहरु समेत हुँदै आएका छन् । द्विपक्षीय सम्बन्ध उतारचढावरहित छ । आर्थिक र शैक्षिक कुटनीतिदेखि कृषि र विद्युत दुवै मुलुकको प्राथमिकतामा पर्दै आएको छ । नेपाललाई मल उपलब्ध गराउँदै आएको बंगलादेश प्राविधिक तथा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको मुख्य गन्तव्य हो । नेपालमा उत्पादन हुने दाल, तेल, जडिबुटी, अलैंची, गहुँ, तरकारी, बीउ, अन्य कृषि उपज, हस्तशिल्प र केही मात्रामा पश्मिनाको बजार बंगलादेश बन्दै आएको छ ।

साथै औद्योगिक कच्चा पदार्थ, तरल पेय वस्तुहरू, रसायन पदार्थहरू, कपडाका लागि सामग्रीहरू, जुट उत्पादन, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामानहरु नेपालले बंगलादेशबाट आयत गर्दै आएको छ । पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१÷०८२ को ११ दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्य बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँको आयात भएको छ । अर्को विद्युतको बजार खोजिरहेको नेपालको विद्युत डलरमा खरिद गर्न बंगलादेश तयार भएको थियो । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता साउन १३ मा गर्ने तय भएको थियो । बंगलादेश विद्रोहले तत्काल यो विषय अलपत्र परेको छ । बंगलादेशमा उत्पन्न राजनीतिक परिस्थितिबारे नेपाल सरकारले वक्तव्य जारी गर्दै लोकतान्त्रिक प्रक्रियामा जोड दिएको छ भने संयमता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । यसबारे राजनीतिक दलहरुले भने कुनै औपचारिक धारण सार्वजनिक गरेका छैनन् । दलहरु उपयुक्त समयको प्रतिक्षामा छन् ।

नेपाल र बंगलादेशबीच परस्पर, हार्दिक र सहयोगात्मक सम्बन्ध छ । समय समयमा उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको छ । सेनाले नेतृत्व सम्हाली रहेको बंगलादेशमा बिहीवार अन्तरिम सरकार गठन गर्ने तयारी छ । नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्दैछन् । राजनीतिक अस्थिरतामा फसेको बंगलादेशले अबको दिनमा आफ्नो विदेश नीति कस्तो बनाउँछ ? नयाँ नेतृत्वको प्राथमिकताको आधारमा नेपाल–बंगलादेश सम्बन्ध कसरी अगाडि बढ्छ ? नेपालका राजनीतिक नेतृत्व र आम सर्वसाधारणले चासोका साथ हेरिरहेका छन् ।