Breaking

हर्कविरुद्ध खनियो धरान, तोडफोडमै उत्रिए दल


काठकाडौँ-धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईविरुद्ध राजनीतिक दलदेखि विद्यार्थी हुँदै धरानकै मतदाता पनि लागेका छन् । खानेपानीको मुद्दा उठाएर चर्चा कमाएका नगर प्रमुख साम्पाङ खानेपानी कै कारण बदनाम बनिरहेका छन् ।

बङ्गलादेशमा कोटा प्रणाली हटाउन तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध भएको आन्दोलन जस्तै नेपालमा पनि त्यसैको झल्को दिलाउने गरी आन्दोलन चर्किएको छ । नेपालको पूर्वी जिल्ला सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई विरुद्ध बिहीबार धरानवासी सडकमा उत्रिँदा सुन्दर धरान सहर रणभूमिको मैदान जस्तै देखिएको थियो । त्यसैले फेरि पनि भन्दै छौं नझक्किनु होला झट् हेर्दा बङ्गलादेशकै आन्दोलनजस्तो देखिने यो दृष्य धरान उपमहानगरपालिकाकै हो ।

धरानवासीलाई पानी खुवाउँने मुद्दा बोकेरै उपमहानगरपालिकाको प्रमुखमा उदाएका हर्क अहिले खानेपानीकै कारण बद्नाम बनिरहेका छन् । एसियाली विकास बैंक (एबीडी) को ५७ करोड ऋण तिर्न ३३ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानी महसुलमा वृद्धि गरेपछि हर्कको गुनगान गाएर नथाक्ने धरानबासी अहिले उनैविरुद्ध जाई लाग्न थालेका छन् । धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख हर्क भने एडीबीलाई बुझाउनुपर्ने कुल ५७ करोड १९ लाख १० हजार ९९० रुपैयाँ भएको हुँदा समयसापेक्ष मूल्यवृद्धि गर्नु परेको दाबी गर्छन् । त्यसैले मूल्य बढाउनु रहरभन्दा पनि बाध्यता भएको बताएका हर्कले आइतबार ११ बजेका लागि १० राजनीतिक दलका नेतालाई वार्तामा बस्न आह्वान गरेका छन् ।

साउन ११ गते खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षसमेत रहेका उपमहानगरपालिका प्रमुख हर्कलाई वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका थिए । खानेपानीमा बढाएको मूल्यवृद्धि घटाउन ७२ घण्टे अल्टिमेट दिँदा पनि मेयर साम्पाङ पछि नहटेपछि वडाध्यक्षहरूले खानेपानी व्यवस्थापन बोर्डमा ताला लगाएका थिए ।

पुरानै महसुल कायम गर्नु पर्ने माग राख्दै तालाबन्दी गरेका १० राजनीतिक दलका अगुवाविरुद्ध मुद्दा दायर गर्न हर्क उच्च अदालत विराटनगर पुगेका थिए । उच्च अदालतले २० गते लगाइएको ताला खोल्न भन्दै हर्ककै पक्षमा अन्तरिम आदेश सुनाएपछि वडाध्यक्षहरूले बुधबार ताला खोलेर आन्दोलनको स्वरुप परिवर्तन गर्दै सडकमा उत्रिएका हुन् ।

अभियन्ता हुँदा मूल्यवृद्धिको विरोध गरेका उपमहानगर प्रमुख साम्पाङ अहिले आफँै त्यो बाटोमा लाग्दा स्थानीय आक्रोशित बनेका छन् । हर्कविरुद्ध मुर्दावादकै नारा लगाएका प्रदर्शकारीहरू आन्दोलनबाट नै हर्कलाई घुँडा टेकाउने बताइरहेका छन् । खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले पनि बढाइएको मूल्यलाई कार्यान्वयन नगर्न पत्राचार गरेको छ । वडाध्यक्ष र महसुलको विरुद्धमा रहेका धराने जनताले आयोगको निर्देशनको कार्यान्वयन गर्न माग गरिरहेका छन् ।

आन्दोलनले उग्ररुप लिँदै गएपछि स्थिति तनावपूर्ण बन्दा विद्यार्थी र प्रहरीहरूबीच मुठभेडकै अवस्था सिर्जना भएको थियो । विद्यार्थीहरूले हर्कलाई लिखित रुपमै माफी माग्नु पर्ने माग राखेर धर्नामा बसेका थिए । प्रहरीले भौतिक आक्रमण गरेको भन्दै विद्यार्थीहरू हर्कविरुद्ध नाराबाजीमा उत्रिएका छन् । विद्यार्थीहरू पनि मेयरविरुद्धको आन्दोलनमा सामेल हुँदा धरानको अवस्था थप बिग्रने देखिन्छ ।

मेयरमा निर्वाचित हुनु पूर्व साम्पाङले धरानमा खानेपानी समस्या समाधान गर्नुपर्ने माग जोडदार रूपमा उठाउँदै आएका थिए । तर, अहिले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष बनेको आरोप लागिरहेका साम्पाङले आफैँ एकलौटी ढङ्गले खानेपानीमा मूल्यवृद्धि गर्दा आलोचित बनेका छन् । धरानबासीले नै उनीविरुद्ध ‘मुर्दावाद’ र ‘हर्क चोर देश छोड’ जस्ता नारा लगाइरहेका छन् । खानेपानीको मुद्दाबाट धरानका मतदाताको मन जितेका हर्क अहिले खानेपानी कै कारण राजनीतिक दल, विद्यार्थीदेखि धरानकै मतदाताबीच अलोकप्रिय बनेका छन् । यसले धरानमा उनको लोकप्रियता गुम्दै गएको र स्वतन्त्रबाट चुनाव जितेका उनी निरंकुश बन्न खोजेको देखिन्छ । आफ्नो साख आफ्नै कारण गुमाउन पुगेका उनलाई जनभावनाअनुसार काम गर्नु पर्ने दबाब बढेको छ । राजनीतिक दलका जनप्रतिधि र नेतालाई बाइकट गर्दै आएका मेयर साम्पाङ आफ्नै दम्भले कमजोर बन्दै गएका छन् । जुन कुराको सुधारमा लाग्न उनले ढिलाइ गर्न नहुने देखिन्छ ।