Breaking

ओलीलाई भारी पर्दै बालेन, कुलमान पनि थपिए, सुमनाले सत्ताको हिसाब खोजिन्


प्रधानमन्त्री केपी शर्मा ओली खरो बोली बोल्ने प्रभावशाली नेताका रुपमा परिचित छन् । घुमाउरो पारामा उखान टुक्का प्रयोग गरेर विरोधीमाथि कटाक्ष र तिखो प्रहार गर्नु उनको विशेषता नै हो । प्रधानमन्त्री बनेसँगै ओली पछिल्लो समयकाठमाडौंका मेयर बालेन शाह र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि निर्मम् बनेका छन । ओली जनतामाझ लोकप्रिय पात्रहरुमाथि आफ्नो पदीय मर्यादा नै भुलेर किन खनिदै छन् ?

नेपालमा न माक्र्सवाद चल्छ न त समाजवाद, नेपालमा चल्ने भनेकै स्टण्डवाद हो । हो यही स्टण्डवादलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले काँध हालेर हिँडिरहेका छन् । उनै ओली आफ्नै विभिन्न गतिविधिका कारण लोकप्रिय मात्र भएका छैनन्, बेला बेलामा आलोचित र विवादितसमेत बन्ने गरेका छन् । ओली कहिले धार्मिक प्रवचन दिन्छन् त कहिले मोटिभेस्नल स्पीज दिन्छन् । उखान टुक्काका त उनी शिरोमणि नै हुन् । बेलाबखत उनी हिन्दी र अंग्रेजी भाषामै अन्तर्वातादेखि भाषणसमेत दिन पछि पर्दैनन् । यद्यपि, उनी नेपाली राजनीतिको चतुर खेलाडीमा पनि पर्छन् । कसलाई कस्तो दाउ हान्ने उनीबाट सिके हुन्छ ।

ओली हरेक ठाउँ र परिवेश अनुसार आफूलाई ढाल्छन् । बालबालिका भेटे बच्चा जस्तो स्वभाव प्रस्तुत गर्छन् । युवा भेटे युवा जस्तै । ओलीको यो कलाले उनलाई अहिले देशले बा उपनामले चिन्छ ।यिनै बा अहिले नेपाली जनतामा लोकप्रिय व्यक्तिहरुसँग भिड्ने गरेका छन् । कहिले काठमाडौंका मेयर बालेन शाहसँग नोकझोकमा उत्रिन्छन् त कहिले रास्वपाका सांसद पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठमाथि तीतो अभिव्यक्ति ओकल्छन् । पछिल्लो समय विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग उनको वारापारको अवस्था छ । लाग्छ ओली नयाँ र चर्चा कमाउनेहरुलाई देखिसहन्नन् ।

ओलीसंग ग्रहदशा नमिल्ने पहिलो नम्बरमा आउने पात्र हुन् काठमाडौंका मेयर बालेन्द्र शाह, ओली सकेसम्म बालेनको योजनामा अड्चन थाप्न चाहन्छन् । त्यसका लागि उनले एमालेका वडा अध्यक्षहरुलाई परिचालन गरेको आरोप लाग्ने गरेको छ । तिनै वडाध्यक्षहरुले अड्को थाप्दा महानगरपालिकाले न्यूरोडमा फुटपाथ फराकिलो बनाउने कार्य अलपत्र परेको छ । महानगरको योजनाहरुमा ओलीले असहयोग गर्ने गरेकोसमेत आरोप लाग्ने गरेको छ ।

केही समय अघि ओलीले पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग बिहे गरेको तर नेपाल आउँदा मन्त्री बनेको भन्दै दिएको अभिव्यक्ति विवादित बनेको थियो । जुन विषयमा श्रेष्ठले कडा रुपमा प्रतिवाद गरेकी थिइन् । साथै उक्त विषयले संसदमा पनि स्थान पाएको थियो । महिलामािथ भद्दा टिप्पणी गरेको भनेर ओलीको चौतर्फी आलोचना भएको थियो ।

देशलाई नै लोडसेडिङमुक्त गरी उज्यालोका नायकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री ओली छन् । प्रधानमन्त्री ओलीले आफूले दिएको निर्देशन अटेर गरेको आरोप लगाउँदै कुलमानलाई निकट भविष्यमै बर्खास्त गर्ने गरी आवश्यक आन्तरिक तयारी थालेको देखिन्छ । जसका लागि उनले उर्जा मन्त्री दीपक खड्कालाई समेत निर्देशन दिइसकेका छन् ।

ओली प्रधानमन्त्री भएलगत्तै कुलमानले लाइन काटिदिएका उद्योगी तथा व्यवसायीहरुको पक्षमा वकालत गरेका थिए । ओलीले लाइन काटिएका उद्योगहरुमा तत्काल बिजुली जडान गर्न र कुनै उद्योगीले उपभोग गरेको बिजुलीको प्रमाण जुटाएर मात्र काम अगाडि बढाउन कुलमानलाई निर्देशन दिएका थिए । तर, कुलमानले भने विद्युतको बक्यौता नतिरी उद्योगहरुको लाइन नजोड्ने अडान लिएपछि प्रधानमन्त्री ओली फायर भएका हुन् ।

कुलमानलाई माओवादीनिकटको रुपमा बुझ्ने गरिन्छ । माओवादी सत्तामा रहुञ्जेल कुलमान सुरक्षित थिए । प्रचण्ड प्रधानमन्त्री भएको बेला उनले बक्यौता रकम उठाउन उद्योगीहरुलाई सकेसम्म दबाबमा राख्ने काम गरेका थिए ।तर, माओवादी सत्ताबाट हटेसँगै कुलमानमाथि संकट आइपरेको छ ।

साथै उनी कमजोर बनेका छन् । नयाँ दल र आफ्नो निर्देशनविरुद्ध उभिनेहरुमाथि प्रधानमन्त्री ओलीले निसाना साध्न थालेको आरोप लाग्न थालिसकेको छ । ओलीमा फेरि पुरानै दम्भ र निरंकुशता फर्किन सक्ने भन्दै विपक्षीहरुले आवाज उठाउन थालिसकेका छन् । यतिसम्मकी सत्तारुढ नेपाली कांग्रेसकै एउटा खेमाले ओली प्रवृत्तिमाथि शंका गर्नु प्रधानमन्त्री ओलीका लागि पक्कै पनि सुखद पक्ष होइन ।