Breaking

ओली र आरजु नै मैदानमा, फिल्डबाटै हुकुम, चित्रबहादुरको यथार्थमा नांगियो रास्वपाको स्टन्ट


काठमाडौँ – के सत्तापक्ष के प्रतिपक्ष, नयाँ–पुराना सबै राजनीतिक दलका नेताहरुको राजनीतिक स्टन्टबाजीको प्रतिस्पर्धा नै चलिरहेको छ । सरकारका मन्त्रीहरु मात्र नभइ प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरुको स्टन्टले हद पार गरेको छ । जसले गर्दा सस्तो लोकप्रियतामा लिप्त नेताहरु चौतर्फी आलोचित भएका छन् । एक रिपोर्ट

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि ओली क्याबिनेटका मन्त्रीहरुलाई मैदानमा उत्रिन भ्याईनभ्याइ छ । प्रधानमन्त्री ओली आफैँ अनेक निर्णय र निर्देशनको चाङ लगाउन उदत्त हुँदा उनका मन्त्रीहरु झन् के कम ? स्थलगत निरीक्षण गर्ने र निर्देशन दिने प्रतिस्पर्धा नै चलाई रहेका छन् ।

विगतमा मन्त्रीहरु नागरिकको समस्या बुझ्न जाँदा होस् या कामको प्रगति विवरण बुझ्न मैदानमा उत्रिँदा स्टन्टबाजीको संज्ञा दिने अहिलेका सत्तारुढ दलका मन्त्रीहरु आफैँ त्यहि स्टन्टबाजीको बाटोमा दौडिरहेका छन् । मन्त्रीहरुको स्टन्ट राहदानी विभागदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग हुँदै नयाँ संसद् भवनसम्मै चलिरहेको छ । निर्देशनको चाङ लगाएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौं तराई मधेश जोड्ने द्रुतमार्ग निमार्ण कार्यको अवलोकन गरे ।

धरहराभन्दा अग्लो उचाइ रहेको पुल निर्माणस्थल पुगेर ओलीले द्रुतमार्ग निर्माणमा भइरहेको प्रगतिको अवलोकनका साथै आवश्यक निर्देशन दिए । नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको प्रधानमन्त्री ओलीले जिकिर गरे । तर प्रधानमन्त्रीको यो कार्य पनि स्टन्टबाजीभन्दा अरु हुन नसक्ने भन्दै टिप्पणी भइरहेको छ ।


प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म कसरी चर्चामा आउन सकिन्छ भन्ने रणनीतिमा केन्द्रित हुँदा नागरिकको समस्या भने ओझेलमा परिरहेको छ । परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह हुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसम्मै स्टन्टबाजीको प्रतिस्पर्धा चलिरहेको छ । विगतमा धादिङमा ठेकीमा मोही नै पारेर हुर्केका कृषिमन्त्रीले धादिङमै मोही पारेका भए सायद यो सामान्य हुँदा हो । तर दरबारमार्गको क्याफेमा मोही पारेको दृश्यले उनी आफैँलाई गिज्याइरहेको छ ।

अझ उदेक लाग्दो त के छ भने सर्वसाधरण हैजा संक्रमण र डेंगुको डरमा बाचिरहेका छन् । नागरिकको स्वास्थ्य जस्तो गम्भिर विषयमा सरकार के गर्दैछ ? यस्तो अवस्थामा स्वास्थ्यमन्त्रीको खोजी भइरहेको छ । तर काठमाडांैकै सांसद स्वास्थ्यमन्त्री प्रदिप पौडेल कुन दुलोमा छन् अत्तोपत्तो छैन । संघीय राजधानीमा दिनदहाडै सांसदमाथि सार्वजनिकस्थलमा दुव्र्यवहार हुन्छ । सांसदले नै सदनमा पुगेर सरकारसँग सुरक्षाको हारगुहार गर्नुपर्ने अवस्थाले गृह प्रशासनमाथी प्रश्न तेर्सिएको छ । मन्त्री हुनासाथ मैदानमा उत्रिएर राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको भन्दै असन्तुष्टि जनाउन भ्याएका गृहमन्त्री रमेश लेखकको सुरक्षा संयन्त्र किन सुस्त भन्ने प्रश्न पेचिलो बनेको छ ।

अहिले प्रधानमन्त्री र मन्त्रीहरुको स्टन्टले मात्रै चर्चा पाएको छैन । त्यसलाई पनि मात खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गाइजात्रे लीला देखाइरहेको छ । केही दिनअघि मात्रै क्लोज क्याम्प बसेर बाहिर आएको रास्वापका नेताहरु अहिले सार्वजनिक यातायातमा चढेर अर्को नाटक मञ्चन गरिरहेका छन् । सार्वजनिक यातायात चढ्दै फोटो खिचाउने र चर्चा बटुल्ने होडबाजी नै चलेको रास्वपा नेताहरुमा ।

स्टन्टका नाइके सभापति रवि लामिछानेदेखि उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले र नेताहरु तोसिमा कार्की, रमेश प्रसाईं लगायतका नेताहरु सार्वजनिक बसमा सवार गर्ने र फोटो खिचाउने जात्रा देखाइरहेका छन् । युटुबरहरुको हुल बोकेर, पोज पोजमा खिचाएको फोटो र भिडियोले सामाजिक सञ्जाल पोतिए पनि रास्वपाको चटके चरित्रको तीव्र आलोचना भइरहेको छ ।

सरकारमा भएका र सरकार बाहिर रहेका दलका नेताहरु स्टन्टबाजीमा लाग्दा जनजीविकाको सवाल भने ओझेलमा परिरहेको छ । चर्चा बटुल्ने ध्याउन्नले आफैँ आलोचना खेप्नु पर्ने अवस्थामा उनीहरु पुगेका छन् । क्षणिक लोकप्रियताका लागि गरिने निर्णय र दिइने निर्देशन देख्दादेख्दा सर्वसाधारण नागरिक थाकिसकेका छन् । सत्तापक्ष, प्रतिपक्ष नयाँ पुरानाको ‘स्टन्टबाजी चरित्रको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्री र मन्त्री भइसकेका तथा मुलुकको मुहार फेर्ने हुँकारसहित राजनीतिमा आएका नेताहरुको यो हर्कतले नागरिक हैरान छन् । तर नेतृत्वको ध्यान नीतिभन्दा फगत सस्तो लोकप्रियताको नाटक मञ्चनमै केन्द्रित हुनु नेपाली जनता र देशका लागि विडम्बना हो ।