अन्तर्राष्ट्रिय

हसिना लखेटिएपछि नयाँ प्रधानमन्त्रीको खोजी, सेनालाई प्रस्ताव


काठमाडौँ – बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएपछि त्यहाँ राजनीति उथलपुथल देखिएको छ । विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि राजीनामा दिन उनीमाथि दबाब बढेको थियो । जसका कारण उनले राजीनामा दिएपछि बंगलादेशमा सेनाले सरकार चलाउने चर्चाका बीच आन्दोलनमा उत्रिएका विद्यार्थीले आफूहरुले चाहेको व्यक्ति नै प्रधानमन्त्री हुनु पर्ने माग अघि सारेका छन् ।

बंगलादेशमा करिब तीन दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि त्यहाँको राजनीतिले नयाँ मोड लिएको छ । ७६ वर्षकी हसिनाले राजीनामा दिएर देश छाडेर भारत पुगेसँगै बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए । पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ । युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई “शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण” गर्न आग्रह गरेको छ । यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन । हुन त बंगलादेशमा कैयौँ पटक सैन्य ‘कू’ भएको थियो ।

पछिल्लो पटक सन् २००७ मा बंगलादेशमा सैन्य कू भएको थियो । सैन्य कू बाट गुज्रिसकेका बंगलादेशका जनताले अहिले फेरि त्यति सजिलै सेनाको हातमा सत्ता जाओस् भन्ने चाहेका छैनन् । विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गरेका छन् । उनीहरुले तत्काल संसद् विघटन गर्न माग गरेकोमा राष्ट्रपति मोहम्मद शाहुद्दिनले संसद भंगको घोषणा गरेका छन् । राष्ट्रपतिका प्रेस संयोजकले एक विज्ञप्ति जारी गर्दै संसद भंग गरिएको जानकारी दिएका हुन् ।

योसँगै आन्दोलनकारीको पछिल्लो मुख्य माग सम्बोधन भएको छ । साथै आन्दोलनकारी विद्यार्थी नेताहरुले सेनाका प्रमुखसँग भेट गरेका छन् । विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गर्नुपर्ने प्रस्ताव गरेका छन् । विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामल युनुस उक्त जिम्मेवारी लिन सहमत भएकोसमेत जनाएका छन् ।

यता आन्दोलनकारी विद्यार्थीहरूले गरेको प्रस्तावमा नोबल पुरस्कार विजेता युनुसले समेत अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको प्रतिक्रिया दिएका छन् । उनी हाल ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिसमा छन् । पेरिसमा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने तयारीमा रहेको उनका प्रवक्ताले बताएका छन् । विद्यार्थीहरुले मुहम्मद युनुससँग पनि कुराकानी गरेको बताएका छन् । ८४ वर्षीय युनुस र उनको ग्रामीण बैंकले सन् २००६ मा नोबल पुरस्कार जितेको थियो ।

लाखौं जनतालाई १०० डलरभन्दा कम रकमको ऋण (लघुवित्त) उपलब्ध गराएर गरिबी रेखाबाट निकालेकोमा उनलाई पुरस्कृत गरिएको थियो । गत जुनमा उनीविरूद्ध रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

तर उनले उक्त आरोप अस्वीकार गरेका थिए । सरकारी जागिरमा आरक्षण कोटा खारेजीको माग गर्दै विद्यार्थीहरूले थालेको आन्दोलनले राजनीतिक रुप लिएसँगै करिब १५ वर्षदेखि बंगलादेशको सत्ता नेतृत्वमा निरन्तर रहेकी शेख हसिनाको शासन सत्ता ढलेको छ । पदबाट राजीनामा दिएर उनले देश छाडेसँगै बंगलादेशको राजनीतिमा उथलपुथल देखिएको हो ।
हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ ।

यसअघि हसिनाको अवामी लिग र विपक्षी बंगलादेश नेशनलिस्ट पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहँदै आएको थियो । हसिनाको बर्हिगमनसँगै उनको पार्टी र बंगलादेशको राजनीतिक भविष्यलाई लिएर विभिन्न किसिमको टिकाटिप्पणी तथा विश्लेषण भइरहेका छन् । विद्यार्थी आन्दोलनले हसिना युगको अन्त्य गरेसँगै उनी फेरि बंगलादेशको राजनीतिमा फर्किन सक्ने सम्भावना लगभग शून्य छ ।

हसिनाको शासन सत्तामा लामो समय दमनमा परेको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी फेरि सत्तामा फर्किन सक्ने गरी राजनीतिमा सक्रिय हुने सम्भावना बढाएको छ भने सो पार्टीकी नेतृ तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया जेलबाट रिहा भइसकेकी छन् । उनको रिहाइ पछि अब बंगलादेशको राजनीतिले नयाँ मोड लिने आकलन छ ।

बंगलादेश नेसनलिस्ट पार्टीले चाँडोभन्दा चाँडो अन्तरिम सरकार गठनको माग गर्दै यदि त्यो नभएको अवस्थामा देशमा राजनीतिक शून्य पैदा हुने बताएको छ । यद्यपि तत्कालको संकट टार्न राजनीतिक दल बाहिरका स्वतन्त्र व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्वमा अघि सारिएको छ । अब बन्ने सरकारलाई बंगलादेशको राजनीति र सत्तालाई सही ट्र्याक दिँदै स्थायित्वको जग बलियो बनाउनु पर्ने र जनभावनालाई सम्बोधन गर्न आवश्यक पहल कदमी बढाउनु पर्ने चुनौती देखिन्छ ।