Breaking

कुलमानको बचाउमा एक ढिक्का प्रतिपक्ष, ओलीमाथि खनिए


आज बसेको प्रतिनिधिसभा बैठकमा देशका समसामयिक विषयदेखि छिमेकी मुलुक बंगलादेशमा आएको राजनीतिक परिवर्तनले पनि स्थान पाएको छ । विशेष गरि सत्ता र प्रतिपक्षीबीचकै भिडन्त देखिएको सदनमा बङ्गलादेशमा भएका नेपालीको सुरक्षालाई लिएरसमेत चिन्ता व्यक्त भयो ।

६ दिनपछि सोमबार बसेको प्रतिनिधिसभाको बैठक सदा झै सत्ता र प्रतिपक्षीबीचको खिचातानीमा नै रुमल्लियो । सत्ता पक्षले प्रतिपक्षीलाई खुइल्याउन लागि पर्दा प्रतिपक्षी पनि भनाभनमा उत्रियो । प्रतिपक्षी बेञ्चमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले सडक र सार्वजनिक यातायातको समस्यालाई सदनमा उठाएको छ ।

अनावश्यक दूरी र लागतले समय र रकम खर्च त भएको छ नै प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको बताउँदै सांसद स्वर्णिम वाग्लेले पार्टीका नेताहरूले पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने दलिय अभियान थालनि गरेको बताए । साथै सत्ताको नेतृत्व गरिरहेका दल नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै एक–दुई दिन सार्वजनिक बस चढेरमात्रै यातायातमा सुधार आउन नसक्ने भन्दै कटाक्ष गरे ।

त्यस्तै विद्युत् प्राधिकरणको विषयमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र र रास्वपा एकै ठाउँमा देखिएका छन् । माआवादीका प्रमुख सचेतक हितराज पाण्डेले लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गर्दा माओवादीकै सांसद माधव सापकोटाले पनि सरकार निरंकुशतातिर अग्रसर भएको धारणा राखे ।

सदन सुरु भएसँगै आकस्मिक समयमा बोलेका सापकोटाले विद्युत् प्राधिकरणमाथि लेखा समितिको बदनियतप्रति एक जुट हुन आग्रह गरे । प्राधिकरणकै बक्यौताको विषयमा बोलेका रास्वपा सांसद मनिष झाले समेत सरकारले व्यवसायी पोस्न नमिल्ने भन्दै आपत्ति जनाए ।

यस्तै सदनमा रास्वपा सांसद सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमा दुव्र्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । यस्तै बङ्गलादेशमा आएको राजनीतिक परिवर्तनपछि त्यहाँ रहेका नेपालीको सुरक्षाको विषयले पनि सदनमा प्राथमिकता पायो ।

शुन्य समयका लागि ३२ मिनेटको समय खर्चिंदा सोमबार १९ सांसदले विशेष समयमा आफ्नो धाराणा राखे भने ११ सांसदले आकस्मिक समय लिएर जनजीविकाको मुद्दा उठाए । साथै, महिला तथा बालबालिका मन्त्री नवलकिशोर साहले विशेष समयमा उठेका प्रश्नको जवाफ दिए । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा तीन राज्यमन्त्री थपेकोबारे पनि सभामुख देवराज घिमिरेले जानकारी गराए ।