Breaking

सांसद गौतमले भनिन्– सार्वजनिकस्थलमा ममाथि दुर्व्यवहार गरियो


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सार्वजनिकस्थलमा आफूमाथि दुर्व्यवहार गरिएको बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले आइतबार (हिजो) निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको बताइन् ।

मूलपानी क्रिकेट रंगशालानजिकै पहिरोको अवलोकन गरेर फर्कंदा युवाको समूहले दुर्व्यवहार गरेको उनले जानकारी गराइन् । “फर्केर आउँदा म र स्वकीयसचिव थियौँ । १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो । कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक घेर्न थाल्नुभयो । तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने रु भनेर प्रश्न गर्न थाल्नुभयो,” उनले सुनाइन् । उनले युवाले आफूलाई घेरेर फोहोरी शब्द बोलेको बताइन् । नम्रशैलीमा आफ्ना कुरा राख्न आग्रह गर्दा पार्टीगत आक्षेप लगाइएको उनले बताइन् ।

सुरक्षा चुनौती भएपछि आफू चिया पसलमा पुगेको उनले जानकारी गराइन् । “मलाई दुर्व्यवहार नै गर्ने शैलीले उहाँहरू त्यहाँ जम्मा हुनुभएको थियो,” उनले बैठकमा भनिन् ।

आफूमाथि अभद्र व्यवहारको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने कुनै राष्ट्रिय दलको संगठनको व्यक्ति भएको उनको भनाइ छ । “बाटो ढुकेर चौतारामा कुरेर, छोरीमान्छेलाई तर्साउने अभ्यास के यो अमर्यादित भएन ? यो जंगली प्रकारको भएन रु,” उनले प्रश्न गरिन् ।

उनले आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँ खाली स्थान छ भन्दै डराउँदै हिँड्नुपर्ने हो ? भनि थप प्रश्न गरिन् ।