काठमाडौं । घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको तेस्रो खेलमा इरानसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपाल पाहुना टोली इरानसँग २–३ को सेटमा पराजित भएको हो ।
युवा खेलाडीले भरिएको इरानसँग नेपालले पहिलो सेटमा उत्कृष्ट खेल पस्किन सकेन । जसका कारण, नेपाल १६–२५ ले पराजित हुन पुग्यो । दोस्रो सेटमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१६ ले उक्त सेट आफ्नो पक्षमा पार्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट इरानले २३–२५ ले जित्यो भने चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पा¥यो । पाँचौं तथा अन्तिम सेट नेपालले १३–१५ ले गुमाउँदै प्रतियोगितामा पहिलो हार ब्यहोर्न बाध्य भयो ।
हिजो मात्रै उपाधिको दाबेदार भारतलाई ३–२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित निकालेको नेपाली टोली आजको खेलमा भने निक्कै थकित देखिएको थियो । यसअघि नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले तीन खेलमा ६ अंक जोडेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।
लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अंक जोडेको छ । पहिलो खेलमा भारतसँग इरान ३–१ को सेटमा पराजित भएको थियो । तर, दोस्रो खेलमा इरानले पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा हरायो । तेस्रो खेलमा इरानले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हासिल गरेको थियो ।
आजै भएको पहिलो खेलमा श्रीलंकाले पहिलो जित हात पार्दा माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया