सरकारबाट बाहिरिएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरो संकटमा परेका छन् । एकातिर जनतामा जाने चुनौती छ भने अर्कोतर्फ पार्टीमै पनि विशेष महाधिवेशन गरेर प्रचण्डको नेतृत्व फेर्नुपर्ने आवाज चर्को बन्न थालेको छ । यस्तो अवस्थामा देखिन सक्ने सम्भावित परिदृश्य के हुन् त ?
सरकारबाट बाहिरिएलगत्तै जनतामा जाने निर्णय गरेको माओवादीमाथि विशेष महाधिवेशनको पनि दबाब बढेको छ । साउन ११ देखि १५ गतेसम्म चलेको पदाधिकारी बैठकमा नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि नै खनिएका थिए । उनकै कारण पार्टीमा समस्याहरु बढ्दै गएको र शाख गिर्दै गएकोसम्मका आवाज नेताहरुले उठाउँदा प्रचण्ड थप आलोचनाको सिकार बन्न पुगेका छन् । ]
उपमहासचिव जनार्दन शर्माले त प्रचण्डको कार्यक्षमतामै प्रश्न उठाउँदै नेतृत्वको हस्तान्तरण र ‘रि ब्रान्डिङ’सम्मैमा जोड दिए । तर, रोचक त के छ भने प्रचण्ड प्रधानमन्त्री हुँदा उनको कार्यशैलीमा प्रश्न उठाएर राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिवोल गजुरेल नै अहिले प्रचण्डको रक्षाकवच बनेका छन् ।
जहाँ उनले प्रचण्ड बाहेक सबैले जस–अपजसको भागिदार बन्दै राजीनामा दिनुपर्ने र आफू त्यसका लागि तयार भएको भन्दै जनार्दनमाथि अर्को प्रहार गरेका छन् । त्यसका लागि उनले विकल्पसमेत प्रस्तुत गर्दैै अध्यक्षबाहेक सबैले सामूहिक राजीनामा दिने, त्यसपछि १५ सदस्यीय पदाधिकारी पुनः नियुक्त गरिनु पर्ने विकल्प सुझाएका छन् ।
विधानमा भएको १५ सदस्यीय पदाधिकारी २१ सदस्यीय बनाइएकोमा प्रश्न उठाउँदै हरिवोलले आफैँले विधान मिचेर ठूला कुरा नगर्न चेतावनी दिएका छन् । हुन त माओवादीले महाधिवेशन गरेको तीन वर्ष पनि बितेको छैन । २०७८ पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै चयन गरेको थियो । पछि प्रचण्डले २०७९ माघमा पदाधिकारीको टुंगो लगाएका थिए । तर, त्यसको १९ महिनामै विशेष महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्नेसम्मका दबाब बढ्दा स्थायी समिति र पदाधिकारी नै भंग गर्ने मनिस्थितिसम्ममा माओवादी पुगेको छ ।
आगामी साउन २५ गते बोलाइएको स्थायी समिति बैठकबाट सो निर्णय अनुमोदनको तयारी भएको र केन्द्रीय समितिले थप निर्णय गर्नेछ । गत फागुनमा चलेको विधान अधिवेशनले पनि असारदेखि भदौसम्म विशेष महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर, त्यो समयमा महाधिवेशन हुने अवस्था छैन । अब, फेरि संगठन सुदृढीकरणका लागि अभियान चलाएर यही वर्षको अन्त्यतिर विशेष महाधिवेशन हुनसक्ने नेताहरु बताउँछन् ।
अध्यक्ष प्रचण्डले पनि एकपटक जनताका समस्या बुझ्न घरघर जाने बताइसकेका छन् । तर, पार्टीको एक तह भने कार्यकर्ता र जनताले माओवादीलाई पत्याउने हो भने नेतृत्वले नै मार्गप्रसस्त गर्नुपर्ने बताइरहेको छ । उपमहासचिव जनार्दन शर्माले सैद्दान्तिक रुपमा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डको विरासत थाम्ने भन्दै नेतृत्वमा दाबी गर्न खोजिरहेका छन् । तर, प्रचण्ड यसै छाडिहाल्ने अवस्थामा छैनन् । किनभने विगतमा पनि बाबुराम भट्टराईलाई पाखा लगाउन नारायणकाजीलाई भित्र्याएर आफ्नो पक्षमा बहुमत पुु¥याएका थिए । त्यही रणनीतिमा अहिले पनि देखिएका छन् ।
समाजवादी मोर्चा मार्फत नेत्रविक्रम चन्द र महेन्द्र राय लगायतलाई पार्टीमा समाहित गराएर आफ्नो पक्षमा बहुमत देखाउने उनको पहिलो अश्त्र हो । यति गर्दा पनि बल नपुगे माधव सापकोटा र लेखनाथ दाहालजस्ता युवा नेताहरु प्रचण्डकै कित्तामा छन् । हिमाल शर्मा र रेनु दाहाल लगायतलाई समेत महत्वपूर्ण स्थानमा अघि सार्ने रणनीतिमा देखिएका छन् । अर्थात कांग्रेसमा सभापति शेरबहादुर देउवाले पत्नी आरजुलाई स्थापित गर्न खोजे जस्तै रेनु दाहाललाई बिस्तारै शक्तिमा ल्याउने र उत्तराधिकारी नै बनाउनु परे उनैलाई दिने गरीको मनस्थितमा प्रचण्ड छन् ।
पार्टीमा गुटबन्दी मोलाउन नदिन र पार्टी फुटको संकट टार्नकै लागि प्रचण्डले जनार्दन र वर्षमानलाई पन्छाउँदै देव गुरुङलाई महासचिव बनाइदिएका थिए । पदाधिकारी छनौट टीके प्रथामा आधारित हुँदा प्रचण्डलाई ती दुईमध्यै कसैलाई छान्न सकस प¥यो । वर्षमान पुन महासचिव बने जनार्दनले विद्रोह गर्ने सम्भावना हुन सक्थ्यो ।
त्यो संकट टरे पनि प्रचण्ड प्रधानमन्त्री बन्दा पार्टी चलायमन बनाउन नसकेको आरोप गुरुङमाथि पनि छ । अहिले विशेष महाधिवेशन भइहाले पनि वर्षमान पक्ष प्रचण्डको साथमा उभिने देखिन्छ । र यथार्थ के हो भने पुस्तान्तरणका लागि प्रचण्डको विपक्षमा वर्षमान र जनार्दनले शक्ति एकीकृत गरे मात्रै माओवादीको फरक रुप देख्न सकिएला । नत्र पार्टी रुपान्तरणको खासै आश गर्न सकिँदैन ।
प्रतिक्रिया