खेलकुद

काभा बिच भलिबल: नेपाली टोलीको लगातार दोस्रो जित


काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित हात हासील गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २–० सेटमा हराएको हो ।

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१–५, २१–४ ले हरायो ।

पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७, २१–१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।

पुरुषतर्फ नेपालले शुक्रबार पहिलो जित निकालेको छ । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले भुटान बी टिमलाई २१–१४, २१–१४ ले पराजित गरेको हो ।