Breaking

मध्यराति बागमती उर्लदा भागभाग, ओली र बालेनमाथि जनताको आक्रोश,सुकुम्बासी ओछ्यान सुकाउँदै (भिडियोसहित)


काठमाडौँ— मंगलबाररात भर परेको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ। भारी वर्षाले संघीय राजधानी काठमाडौंका खोला नदीमा बाढी आउँदा नदी किनार क्षेत्रका बस्ती अस्तव्यस्त बन्यो । उपत्यकाको बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदीमा आएको बाढी बस्तीमा पस्दा त्यस क्षेत्रको जनजीवन प्रभावित बन्यो । बाढीका कारण बल्खुमा एक व्यक्तिको ज्यानसमेत गएको छ ।ललितपुरको च्यासलस्थितमनोहरा खोला किनारमा रहेको एमाले केन्द्रीय कार्यालय पनि जलमग्न बन्यो ।


घर घरमा ग्यासको पाइपलाइन र नेपाली ध्वजावाहक पानीजहाजको चर्चा हुँदा तपाईंको दिमागमा झट्ट कसको अनुहार याद आउछ? अवश्य पनि मुसुक्क मुकुराउनेएमाले अध्यक्ष केपी शर्मा ओलीकै आउँछ । आफू सत्तामा हुँदा पानीजहाज चलाउने सपना देखाएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टीको केन्द्रीय कार्यालय जलमग्न हुँदा धेरैले व्यंग्य गर्न भ्याए । एमाले पार्टी कार्यालय रहेको जलमग्न च्यासलमा पानीजहाज चलाउन भन्दै ट्रोल बनाइयो । च्यासल जलमग्न भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो दृश्यले सरकारको बागडोर सम्हालेका ओली र उनको पार्टी नेकपा एमालेलाईगिज्जाइरहेको मात्र छैन मनोहरा खोलाको किनारामा सार्वजनिक जग्गा हडपेर कम्युनिस्ट पार्टीको कार्यालय बनाइएको भन्दै आलोचना र विरोधका आवाज गुन्जिन थालेको छ।

मंगलबार राति परेको ठूलो वर्षासँगै काठमाडौं उपत्यकाकाबागमती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खुर बल्खु खोलालगायतमा जलसतहले खतराको तह पार गरेको थियो। बाढी खोलाकिनारको सडक हुँदै कतिपय बस्तीमा पस्दा डुबान भएको थियो ।बागमतीमा आएको बाढी बस्तीमा पस्दा थापाथली, टेकु र बल्खुमा रहेका सुकुम्बासी बस्ती जलमग्न भए । बाढीले बगाउँदा बल्खुमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको बताएको हो । खोला किनारका बस्तीमा बाढी पस्दा त्यस क्षेत्रका घरहरु डुबानमा परे भने लत्ताकपडा, खाद्यन्नलगायत पानीले भिजेको स्थानीयले बताए । बिहान दुई बजेतिर घरमा बाढी पसेको र आफुहरु टुलुटुलु बाध्य भएको काठमाडौंको बुद्धनगर क्षेत्रका स्थानीयले गुनासो गरे ।

काठमाडौं उपत्यकाका तीन जिल्ला(काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडकमाबाढीसँगै लेदो थुप्रिदा यात्रा गर्न समेत कठिने भएको छ । नदी क्षेत्रलाई पार गर्दै लेदोसहितको बाढी सडकमा पस्दा उपत्यकाको करिडोर क्षेत्रमा हिँड्डुल गर्न समस्या भएको छ । बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा प¥यो । तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परे। व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पु¥याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधनमा पनि क्षतिपुगेको छ । बाढी र लेदोघर भित्रै छिरेपछि समस्यामा परेको पीडितले बताए । रातिको समय भएकाले सामान हटाउन नपाएको उनीहरुले बताए ।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार गरिएको थियो । त्यस्तै नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको जानकारी दिए । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको उनले जानकारी दिए ।सरकारको तथ्यांकअनुसार बुधबार दिउँसोसम्ममा गत जेठ २८ गतेयता देशभरमा बाढी, पहिरोलगायतका विपदमा परी १ सय ४५ जनाको मृत्यु भएको छ ।

विपदमा परी सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ । गण्डकीमा मात्रै ४२ जनाले ज्यान गुमाएका छन् । यस्तै ४७ जना बेपत्ता हुँदा एक सय ७४ जना घाइते भएका छन् । मंगलबार रातिको वर्षाले बाढी पहिरो जाँदा देशका विभिन्न सडक खण्डसमेत अवरुद्ध भएका छन् । बर्षायाममा नदीमा पानीको सतह बढ्दा र आफ्नो पुरानो स्वरुपमा फर्किदा पनि खोला किनारका बस्ती जोखिममा पर्दै आएका छन् । नदी तथा खोला किनारमा रहेका अधिकांश सुकम्बासी बस्ती बाढीको चपेटामा पर्दै आएका छन् । सुकुम्बासीको नाममा नदी किनार क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरुले हरेक वर्ष बर्खायाममा डुबानको समस्या व्यहोर्दै आएका छन् । उनीहरुले भोग्नु परेको समस्यालाई आफैले निम्त्याएको विपद भन्दै आलोचनासमेत हुने गरेको छ । तर, यो समस्या समाधानका लागि सुकुम्बासीको व्यवस्थापनमा सरकारले गम्भीर चासो नदिएकै कारण बहसमै सीमित हुँदै आएको छ । यो वर्ष औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान थियो । विभागले सतर्कता अपनाउन आग्रह गर्दै आए पनि कतिपय अवस्थामा त्यसको ख्याल नगर्दा अकल्पनीय क्षति व्यहार्नु परेको देखिन्छ ।