Breaking

एआइजी श्याम ज्ञवालीमाथि छानबिन गर्न समिति गठन


काठमार्डौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

उनीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेको थियो । निर्देशनालयमा प्रमुख एसएसपी छन्। यद्यपि एआइजीमाथि छानबिन गर्न एसएसपी तहको दर्जाले नमिल्ने भएकाले एआइजी राईको नेतृत्वमा समिति गठन भएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो। कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन्।

गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रिपरिषद बैठकले सरूवा गरेको थियो।

बज्राचार्यलाई कार्य विभागमा पठाएर सिआइबीमा एआइजी ज्ञवालीलाई ल्याइएको थियो। उनको नेतृत्वमा सुन प्रकरणको दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले मुद्दा बुझाइसकेको छ। ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।