Breaking

एमाले र रास्वपामा राष्ट्रियताको भिडन्त, ‘रअ’देखि जयशंकरसम्मको चर्चा


काठमाडौँ – पछिल्लो केही दिनयता सदनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको वाकयुद्ध बढ्दै गएको छ । राष्ट्रियताको मुद्दादेखि सत्तामा च्याँखे थाप्ने भन्दै एकअर्काविरुद्ध कटाक्षमा उत्रिएका उनीहरूले आरोपप्रत्यारोपमा रोकिने नाम लिएका छैनन् ।

सदनमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको भिडन्त नेपाली राजनीतिमा सामान्य नै भइसक्यो । कांग्रेसले गरेको प्रधानमन्त्री अफरलाई रास्वपा सभापति रवि लामिछानेले टुक्राएपछि सुरु भएको यी दुईबीचको टसल सहकारी र नक्कली भुटानी शरणार्थीले थप उचाईमा पुग्दा संसद्मा यिनीहरूको टकराव अक्सर चलिनै रहन्छ । तर, खास्सै नदेखिएको एमाले र रास्वपाको भिडन्त अहिले सदनमा देखिन थालेको छ । सदनमा एमाले र रास्वपाका सांसदहरूको टकराव बढ्दै जाँदा देखिरहने दृष्यभन्दा फरक परिदृष्यले संसद् तताइरहेको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले केही समयअघि सार्वजनिक मञ्चमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालको परराष्ट्र नीति, स्वतन्त्रता र सर्वभौम सत्ता तथा असंग्लन परराष्ट्र नीतिविपरीत भएको जनाउँदै खण्डन गरे । सांसद पन्तको सो अभिव्यक्तिलाई लक्षित गर्दै रास्वपा सभापति लामिछानेले पनि मध्यराति भएको सम्झौतादेखि ‘होलीवाइन डक्ट्रिन’को दृष्टान्त दिन भ्याए । रास्वपा सभापति लामिछाने र एमाले सांसद पन्तबीच टेबल ठोकाठोक नै चल्यो ।

एमाले र रास्वपाको सोमबार देखिएको भिडन्त सेलाउन नपाउँदै फेरि मङ्गलबार पनि त्यसैले निरन्तरता पाएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले र रास्वपाका सांसदहरूबीच भनाभन चल्यो । स्वर्णिम वाग्लेले आफू लक्षित रघुजी पन्तको अभिव्यक्तिको जवाफ दिए भने गोकुल बास्कोटाले पनि रास्वपाप्रति कटाक्ष गर्न भ्याए । थोरै सिटको च्याँखे दाउको राजनीति सकिने भो भन्ने डरले पीडा गर्नुभन्दा आफ्नो सामथ्र्यले राजनीति गर्न भन्दै उनले व्यंग्य गरे ।

दुई–दुई पटक एमालेकै बलमा उपप्रधानसहित गृहमन्त्रालयको जिम्मा पाएको रास्वपा र एमालेको सम्बन्धमा यत्तिको तिक्तता देखिएको थिएन । उनीहरू यसअघि सत्ता र प्रतिपक्षी हुँदा एकै कित्तामा हुने गरेका थिए । त्यसैले यी दुई पार्टीबीच भिडन्तको दृश्य देखिँदैन थियो ।

तर, अहिले सत्ता समीकरण फेरिएपछि ओलीबाट धोका पाएको रास्वपा प्रत्तिपक्षी कित्तामा पुग्दा एमालेसँगै भिड्न थालेको छ । नीति निर्माणको मुख्य थलो सदनमा विषयगत बहस कम हुने र नेताहरूबीच एकलेअर्कालाई खुल्याउने क्रम झनै झांगिँदै गएको छ । एकअर्कालाई खुल्याउने र सत्तापक्षलाई होच्याउने होडबाजीले सदन नीति निर्माणको थलो भन्दा पनि झगडियाको अड्डा बनेको भान हुन्छ । दिनहुँको कचकच र आरोपप्रत्यारोप चल्दा संसदीय मर्यादामाथि नै गम्भीर प्रश्न उठिरहेको छ ।