Breaking

रास्वपाको राष्ट्रियमाथि रघुजीको प्रश्न, रविले खोजे गगन–विश्वसँग हिसाब


पछिल्लो केही दिन यता सदनमा प्रश्न उत्तर चलिरहेको छ । विभागीय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन् । तर, प्रश्न उत्तर कम सवालजवाफ बढी चलिरहेको सदनमा सोमबार सांसदहरुको आरोपप्रत्यारोपले निरन्तरता पाएको छ । यसक्रममा हवाई दुर्घटनाबारे नियामक निकायमाथि सांसदहरुले प्रश्न उठाएका छन् । भ्रष्टाचार प्रकरणदेखि प्राधिकरणको विषयले सदन तात्तिने क्रम जारी छ ।

नीति निर्माणको मुख्य थलो सदनमा विषयगत बहस कम हुने र नेताहरुबीच एकले अर्कालाई खुल्याउने क्रम झनै बढ्दै गएको छ । एकले अर्कालाई खुल्याउने र सत्तापक्षलाई होच्याउने होडबाजीले सदनको माहोल गर्माउँदो अवस्थामा छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सभापति रवि लामिछाने र एमाले सांसद रघुजी पन्तबीच टेबल ठोकाकोठ नै चल्यो । एमालेका सांसद पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । केही समयअघि सार्वजनिक मञ्चमा वाग्लेले दिएको अभिव्यक्तिको विरोध गर्दै नेपालको परराष्ट्र नीति, स्वतन्त्रता र सर्वभौम सत्ता तथा असंग्लन परराष्ट्र नीतिविपरीत रहेको पन्तले जिकिर गरे ।

त्यसपछि सांसद पन्तको अभिव्यक्तिलाई लक्षित गर्दै रास्वपा सभापति लामिछानेले मध्यराति भएको सम्झौतादेखि होलीवाइन डक्ट्रिनको दृष्टान्त दिन भ्याए । उनले प्रहरी अधिकारीको सरुवादेखि गिरीबन्धु र नक्कली भुटानी शरणार्थीको विषय के हुन्छ ? भन्दै संसदमै प्रश्न उठाए । आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानमा पूर्वाग्रह साँधेको भन्ने अभिव्यक्तिप्रति लामिछानेले आपत्ति जनाउँदै विगतमा सत्ताले गाडेको फाइल आफूहरुले रिओपन गरेको स्मरण गराउँदै यो सरकार अरु फाइल बन्द गरेर सहकारी प्रकरणलाई अघि बढाउने बाटोमा रहेको संकेत मिल्न थालेको टिप्पणी गरेका छन् ।

साथै सदनमा बढ्दो हवाई दुर्घटनाबारे नियामक निकायको भूमिकामाथि समेत सांसदहरुले प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले पछिल्लो छ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए । हवाई दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन र कडाईका साथ कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिए । सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन् ।

सोमबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएका थिए । सदनमा दिनहुँ चलिरहेको आरोप्रत्यारोपले भने जनताको समस्या र आवाजलाई कम महत्व पाएको देखाएको छ भने सत्ता र प्रतिपक्षबीचको तुष पोख्ने थलोको रुपमा बढी महत्व पाएको देखिन्छ ।