Breaking

देवी प्रतिभा र राधिका दासीमाथि प्रश्न गर्ने जमात, शीर्ष नेताको हवन गर्ने पुष्कर धर्म गुरु ?


अहिले पशुपतिनाथमा कोटिहोम महायज्ञ चलिरहेको छ । श्रावणको पवित्र महिनामा चलेको यो महायज्ञ धार्मिक उद्देश्य पवित्र भए पनि कथावाचकहरुका कारण विवादमा परेको छ । यही बिचमा जिउँदै नेताहरुको तर्पण गरेपछि धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् ।

वरिपरि पूजा सामाग्री राखेर ठूलै अनुष्ठान गरिएजस्तो यो दृश्य धार्मिक अभियन्ता पुष्कर खतिवडा निवासको हो । जहाँ ठूला नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गरिएको थियो । केही दिनअघि मात्रै खतिवडाले ठूला भनिएका नेताहरुको मृत्यु बोलाउन यमराजको पूजा गर्ने र पूजामा सहभागी भएकाहरुलाई तीलाञ्जली र तर्पण दिन आग्रह गरेका थिए ।

यसो भन्दा हौसिने जमाद् ठूलै भएकाले उनीहरुको समर्थन पाएर हौसिएका खतिवडाले बिच्चमा हालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु र वरिपरि पूजा सामाग्री राखेर खतिवडा आफैँ मन्त्रोच्चारण गरिरहेको देखिन्छ ।

हिन्दु परम्पराअनुसार देवता वा पितृ कार्यमा मात्रै तर्पण गरिन्छ । तर, जिउँदै व्यक्तिको तस्विर राखेर खतिवडाले गरेका यस्ता गतिविधि कानुनको नजरमा मात्र होइन, धर्मशास्त्रको समेत विरुद्धमा हुन्छ । हो, नेतामा कुबुद्धि बढ्दो छ, उनीहरुमा सत्बुद्धिको कामना गर्नु स्वभाविक मान्न सकिन्छ । अझ राज्यसत्ताबाटै उनीहरुको हैकम थुत्नु पर्नेछ, यसमा पनि दुईमत छैन ।

तर खतिवडाले जुन शैली अपनाएका छन् यो आफैँमा सनातन धर्मको मान्यता विपरीतको कार्य हो । तर, यसो गर्दा प्रहरीले पक्राउ गर्ने सुईंको पाएपछि नेताको नकारात्मक शक्ति हरण र सत्बुद्धिका लागि आफूले पूजा लगाएको बताएका छन् । अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

यसबाहेक अहिले पशुपतिनाथमा जारी कोटिहोम महायज्ञ पनि चर्चा र विवादमा उत्तिकै परेको छ । सबैभन्दा पहिले त नेपाल पञ्चांग निर्णायक समितिले नै असार २८ गतेको समयमा यज्ञको पूर्वाङ्ग गर्न भनेको थियो । तर समितिकै केही पूर्व पदाधिकारीहरु नै यो समय यज्ञका लागि ठिक नभएको तथा ठग्ने र ठगिनेहरुको मेला चलिरहेको टिप्पणी गरिरहेका छन् । त्यसमाथि काभ्रेमा जन्मिएकी देवि प्रतिभा पराजुली र राधिका दासी चर्चाको केन्द्रमा रहँदा उत्तिकै विवादित पनि हुनुु परेको छ ।

यी दुबैका कथामा मात्रै ध्यान दिने हो भने कुनै समस्या छैन तर व्यक्तित्वमा विश्लेषण हुन थालेपछि विवादको भुमरीमा परेका छन् । देवि प्रतिभा आफ्ना अघिपछि हिँड्ने बाउन्सरहरुका कारण विवादित छिन् । कथा प्रवचन गर्नेहरुलाई त्यति धेरै सुरक्षा किन चाहियो ?

काठमाडौंमा प्रहरी थिएनन् ? लगायतका प्रश्न जन्मिदा भारत सरकारले नै सुरक्षा गार्ड उपलब्ध गराएको कुरा उनी स्वयंले प्रष्ट पार्न सकिरहेकी छैनन् । नेपाललाई माया गर्ने चेली यत्तिका वर्ष कहाँ थिइन् लगायतका प्रश्नहरु विरोधका लागि विरोध गर्न उठाइँदा कतिपयले भने यसलाई नारी अघि बढेको देख्न नसक्ने समाजको टिप्प्णीका रुपमा अथ्र्याएका छन् ।

क्रिश्चियन डायरका गम्छा लगाएर हिन्दु कथा प्रवचन गरेको लगायत कारण पनि उनी विवादित छिन् । त्यसमाथि उनले लिने पारिश्रमिकबारे चर्चा भइरहँदा आफूले लाखौं पारिश्रमिक लियो भन्नेहरुलाई उनले सार्वजनिक मञ्चमै बिधर्मी भनेकी छन् ।

यसबाहेक कथावाचनमै पनि उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा चलेको रुपमा कतिपयले बुझेका छन् । यतिबेला देवी प्रतिभाको डिभोर्सबारेको प्रवचन चर्चामा छ । उनले स्त्री पतिव्रता हुनुपर्ने र सम्बन्ध विच्छेद पाप हुने भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ । केही वर्षअघि मात्रै राधिका दासी आफैँले मानसिक समस्या भएका पुरुषसँग आफ्नो विवाह गराइदिएपछि डिभोर्स गरेको र मुक्ति पाएको बताएकी थिइन् । आफूमाथि अत्याचार सहन नहुने दासीको भनाइ छ ।

अब गम्भीर प्रश्न उठ्छ । एउटै कथा वाचन गराउने राधिकाको नजरमा एउटै विषयमा कुरा किन बाझियो ? के देवी प्रतिभासँगै बसिरहेकी कथावाचिका पापी हुन् ? लगायतका प्रश्न उब्जिएका छन् । यता, देशबाहिर बसेर राष्ट्रप्रेम नहुने भन्दै राधिकाले देवीलाई प्रहार गरेको रुपमा समेत कतिपयले प्रचार गरिरहेका छन् । कथावाचनमा पुरुषहरुको अधिपत्यलाई तोड्दै महिलाहरुले ठूलो स्थान पाउनु समाजका लागि सकारात्मक हो । तर, सेलेब्रिटी भइने नाउँमा चलेको अस्वस्थ प्रतिस्पर्धाले प्रश्न उठेको छ ।

कथावाचनको कुशलताकै कारण वाचन शिरोमणिको उपाधि पाएका नारायण पोखरेलको माओवादीहरुले हत्या गरेका थिए । उनको वाचन कुशलताले समाजलाई जोड्ने काम गथ्र्यो । अहिले साउनको महिनामै पशुपतिमा चलिरहेको कोटिहोम सनातम धर्मावलम्बीहरुका लागि कुम्भमेला नै हो ।

धर्मको नाममा लुट मच्चाउने बाल गोपालेश्वर उर्फ विजय भण्डारीजस्ता विवादित छविका व्यक्तिहरु पनि यही कोटिहोममा छन् । मानव सेवा फाउण्डेसनले अनाथलय र ज्येष्ठ नागरिक आश्रम स्थल निर्माणको पवित्र उद्देश्य रोखेर काटिहोम आयोजना गरेको छ । तर महंगा सेलिब्रेटीहरुकै खर्च उठाउँने ध्याउन्नमा आयोजक टिम लाग्दा मुख्य उद्देश्य भने पूरा नहुने चिन्ता पनि छ । त्योभन्दा पनि बढी विवादित अभिव्यक्तिका कारण धर्मशास्त्रकै अपव्याख्या हुनु दुःखद् पक्ष हो ।