अन्तर्राष्ट्रिय

बाढी पहिरोको हैरानीमा किम जोङ उन, नागरिक जोगाउन मैदानमै खटिए


उत्तर कोरियाको उत्तर–पश्चिम क्षेत्रमा आएको बाढीले पाँच हजार मानिस प्रभावित भएका छन् । उनीहरूलाई त्यहाँबाट एयरलिफ्ट गरेर अन्यत्र सारिएको छ । उद्धार कार्यको निरीक्षण गर्न नेता किम जोङ उन नै सो क्षेत्रमा गएका छन् ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जति कठोर छन्, उती नै मनकारी पनि । पछिल्लो पटकको व्यवहारले जनताप्रति उत्तरदायी र मनकारी नेताका रुपमा उनी देखिएका हुन् ।

उत्तर कोरियाको उत्तर–पश्चिम क्षेत्रमा आएको बाढीले पाँच हजार मानिस प्रभावित भएपछि उद्धार कार्यको निरीक्षण गर्न नेता किम जोङ आफैँ सो क्षेत्रमा गए । विपदमा परेका जनताको उद्धारमा उनले देखाएको सक्रियताले जनताको मन जितेका छन् । शनिबार आएको भीषण बाढीका कारण चीनको सीमामा रहेको नदीले खतराको तह पार गरेको थियो ।

उद्धारका लागि करिब १० वटा सैनिक हेलिकोप्टर, नेभी र सरकारी डुंगा प्रयोग गरिएको छ । बाढी प्रभावित क्षेत्रमा फसेका हजारौं मानिसलाई सुरक्षित स्थानमा ल्याउन सैन्य हेलिकप्टर तैनाथ गरिएको छ । सो बाढीबाट मुख्य रूपमा सिनुइजु र उइजु सहर प्रभावित भएका छन् ।

उत्तर कोरियाली सञ्चारमाध्यमले मृत्यु र क्षतिबारेमा भने केही जानकारी दिएका छैनन् । किमले आइतबार उद्धार कार्यको अनुगमन गरेका हुन् । उनले प्रभावित परिवारलाई खाद्यान्न र अन्य अत्यावश्यक सामग्री प्रदान गर्न निर्देशन दिएका छन् । दक्षिण कोरियाको मौसम प्रशासनले यो २९ वर्षमा उत्तर कोरियामा रेकर्ड गरिएको सबैभन्दा धेरै वर्षा भएको बताएको छ । रिपोर्टअनुसार ४ हजार २ सय जनालाई उद्धार गरिएको छ ।

साथै किमले बाढीबाट प्रभावित ३ वटा प्रान्तका क्षेत्रहरुलाई विशेष प्रकोप आपतकालीन क्षेत्र घोषणा गरेका छन् । बाढी पहिरोको प्रकोप उत्तर कोरियाका लागि नौलो होइन । त्यहाँका पहाडहरुमा भइरहेको व्यापक वन फडानीका कारण बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको घटनाहरुलाई वृद्धि भइरहेको छ । यस्ता प्रकोपले सीमित मात्रामा रहेको कृषियोग्य जमिन प्रभावित हुने र भोकमरीको संकट निम्तिन सक्ने आकलन गरिएको छ ।

सन २०१५ को आँकडाअनुसार उ्त्तर कोरियाको प्रतिव्यक्ति आय १७ सय थियो । यसलाई जनताको ख्याल गर्ने नेताको रूपमा आफ्नो छवि बदल्ने प्रयासमा किम लागि परेको रुपमा समेत टिप्पणी भइरहेको छ । जबकि उत्तर कोरिया आर्थिक कठिनाइ र अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको देश हो । यसरी आफ्नो जनतालाइ उद्धार गर्न मैदानमै निस्किएका किम जोङ उनलाई यतिबेला विश्वले सकारात्मक रुपमा हेरिरहेको छ ।