Breaking

ओलीलाई बद्नाम मन्त्रीको हैरानी, आरजुका दाहिनेलाई काँध हाल्दा भद्रगोल


काठमाडौँ – नेपाली राजनीतिमा मुद्दा र काण्डमा जोडिएका विवादास्पद व्यक्तिहरु नै उच्च पदमा जाने र आफ्ना सबैै केशहरु सामसुम गराउने परिपाटी विकास हुँदै गएको छ । त्यसलाई पछिल्लोपटक बनेको सत्ता समीकरणले अझै जोड दिएको छ । जहाँ स्वयम् प्रधानमन्त्रीदेखि प्रदेशका मन्त्रीसम्म एकमाथि अर्काे विवाद र काण्ड छन् । हत्या हिंसा र विभिन्न काण्डहरुमा जोडिएकाहरु नै सत्ता सञ्चालनको बागडोरमा पुग्दा त्यसले जनतामा कस्तो प्रभाव पार्छ ?

हिजो राजनीतिमा सक्रियहरुले गुण्डागर्दीमा संलग्नहरुलाई संरक्षण गर्दै आएका थिए भने, अहिले गुण्डागर्दीमै संलग्नहरु राजनीतिमा सक्रिय छन् । उनीहरु कुनै दलमा आवद्धमात्रै भएका छैनन्, चुनाव नै जितेर सांसद र मन्त्रीसमेत बनेका छन् । यसको एक नम्बर सूचीमा आउँछन्, गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे । मनाङे अहिले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री छन् । सरकार गठनको प्रक्रियामा संख्या नपुगेपछिकाँग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले पछिल्लोपटक उनलाई मागेकै मालदार मन्त्रालय दिएको छ । तर मनाङे अहिले नाङगो अवतार सार्वजनिक भएपछि आलोचित बनेका छन् ।

शनिबार सामाजिक सञ्जालमा मन्त्री मनाङेले गन्जी लगाएर कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएपछि एकाएक ‘भाइरल’ बन्यो । सरकारको मन्त्री भएर पाखुरा देखाउँदै कुनै असुली अड्डाको मुखिया जस्तो हुलिया प्रदर्शन धेरैले उनको विगतलाईसम्झिएका छन् । अर्थात् मनाङेको गुण्डागर्दीको धङधङगी अझै नगएको अर्थमा टिकाटिप्पणी भइरहेका छन् । संसदमा मनाङेतर्फ लक्षित गर्दै रास्वपाका सांसद हरि ढकालले यसलाई गुण्डाहरु राजनीतिमा आउनुको परिणाम भनेका छन् ।

सरकारी तथा सार्वजनिक पदका उच्च पदस्थ व्यक्तिहरुले कार्यालयभित्र औपचारिक पोसाक लगाउनुपर्ने मान्यता छ । तर सार्वजनिक तस्बिरमा उनले रातो सर्ट फुकालेर छेउमा झुण्ड्याएको देखिन्छ । मन्त्रालयकै एक कर्मचारीका अनुसार उक्त तस्बिर साउन पहिलो साताको हो । कार्यालय समयपछि आफ्ना हितैषीसँग भेट भएका बेला उनले सर्ट खोलेका थिए । त्यो दिन राति ११ बजेसम्म मन्त्रालयमै बसेर मनाङेको समूहले मदिरा सेवन गरेको विषय समेत सार्वजनिक भएको छ ।

यसअघि पनि गण्डकी प्रदेशकै सांसद रहेका बेला उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । खेलकुद मन्त्री भएका बेला मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाएर लात्ती र थर्मशले हिर्काएका थिए । अर्थात् सांसद र मन्त्री भइसक्दासमेत मनाङेको आचरण सुध्रिएको छैन । उनमा अझै गुण्डागर्दीकै धङधङी छ ।उनीविरुद्ध अहिले पनि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन छ ।तथापी केन्द्रमा काँग्रेस–एमाले गठबन्धन बनेपछि उनको मन्त्री पद भने संकटमा परेको छ ।उनी अहिलेसहित पार्टी र गुट फेर्दै६ पटक मन्त्री बनेका छन्।

मनाङे शैलीकै अर्का व्यक्ति लुम्बिनी सरकारको मन्त्री छन् । गुण्डागर्दीमै सक्रिय भएर ओत खोज्न काँग्रेस छिरेका सरोज थापा उर्फ रोज राणा गतबर्ष नै लुम्बिनीको उद्योगमन्त्री बनेका थिए । अहिले फेरि काँग्रेस एमालेको गठबन्धनमा उनी मन्त्री बनेका छन् । आरजु राणा देउवाका प्रिय भएर अवसर पाएको चर्चा छ ।

उनीसँगै विवादास्पद र आपराधिक छबिका बादशाह कुर्मीसमेत लुम्बिनीको मन्त्री बनेका छन् ।नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपी बादशाह कुर्मीलाई एमाले–काँग्रेस गठबन्धनले मन्त्री बनाएको हो । बाँके क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित कुर्मीलाई पार्टीले उम्मेदवार बनाउँदा पनि चर्को विरोध भएको थियो । काँग्रेसभित्रै विवाद भएपछि उनीहरु दुवैलाई कुन मन्त्रालय दिने टुंगिएको छैन ।

लुम्बिनीमै एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकाल पनि विवादित पात्र हुन् । उनीमाथि दाङमा जग्गा किनेर राजधानी सार्न भूमिका खेलेकोदेखि बुटवलको सफल अटोबाट प्रदेश सरकार र संसदलाई बजार मूल्यभन्दा बढीमा गाडी किन्न लगाएर अनियमितता गरेको आरोप छ ।

केन्द्रदेखि प्रदेशसम्मै अहिले जो अपराधी र गुण्डागुर्दीमा सक्रिय थिए उसैलाई मन्त्री बनाएर पुरस्कृत गर्न सिलसिला चलिरहेको छ ।बाग्मती प्रदेश सरकारमा पनि गुन्डागर्दी र असुली धन्दाको दुनियाँमा कहलिएका मीनकृष्ण महर्जनलाई नेपाली काँग्रेसले युवा तथा खेलकूद मन्त्री बनाएको छ । उनी ललितपुर जिल्लाभित्रका ठेक्कापट्टा, ढुंगा, रोडा, बालुवाखानीको असुली धन्दामा सक्रिय थिए ।

हुनत् केन्द सरकारमा समेत विभिन्न काण्डमा नाम जोडिएका पात्रहरु नै मन्त्री बनेका छन् । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । स्काउटको जग्गा हिनामिनामा जोडिएका दीपक खड्का उर्जामन्त्री बनेका छन् । गिरीबन्धु जग्गा प्रकरणको नीतिगत भ्रष्टाचारमै जोडिएका केपी शर्मा ओली प्रधानमन्त्री छन् ।

संविधान संशोधन र स्थायी सरकारको नारा दिएर गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमालेबाट विवादित व्यक्तिहरु मन्त्री बन्दा सुशासनमा धक्का पुग्ने पक्का देखिन्छ । किनकि ज्यान मार्ने उद्योगका आरोपीदेखि मानव तस्करी र सहकारीको रकम अपचलन गरेका व्यक्तिहरु मन्त्री बनेका छन् । फलतः उनीहरुको कार्यकाल जनतालाई सुशासन र विकास दिनेभन्दा पनि एकअर्कालाई जोगाउँदैमा सकिने लगभग निश्चित छ ।