देश

देशभर १० जनामा हैजा संक्रमण पुष्टि, विशेष ध्यान दिन विज्ञको सुझाव


काठमाडौँ— स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीनजनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।

उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो, ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ, त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।”

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अतिसंक्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।”

हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षण देखापर्छ । हैजा संक्रमण भए र उपचार नपाए केही घण्टामै संक्रमितको मृत्यु पनि हुन सक्ने विज्ञ बताउँछन् ।

डा. पुनका अनुसार, यसका मुख्य लक्षणमा पातलो तथा चौलानीपानीजस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा, रक्तचाप कम, पिसाब पहेँलो र पिसाबको मात्रा कम हुने हुन्छ ।

डा. पुन मुख्यतः तीन विषयमा ध्यान दिन सके हैजा नियन्त्रणमा राख्न सकिने बताउँछन् । पहिलो, सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अनुगमन । सबैभन्दा महत्त्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने उनी बताउँछन् ।