Breaking

काम देखाउँदै ओली,देउवाको मौन समर्थनले सजिलो, उद्योगी र ठेकेदार हात लिएर अर्थतन्त्र सुधार ?


दुई तिहाइको शक्तिशाली सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम विकल्पको नेतृत्व भएको प्रमाणित गर्न लागि परेका छन् । ठूला दल मिल्दा नागरिकमा ठूलो आशा भएको विश्लेषणकाबीच उनी त्यतैतर्फ उन्मुख भएका छन् । फलतः निजी क्षेत्रविरुद्ध नरम हुनेदेखि पुँजीबजारसम्म लचक देखिएका ओलीले गरेका सांकेतिक काम कस्ता छन् त ?

यो पल्ट केही गर्नैपर्ने बाध्यताकाबीच दुईतिहाइको शक्तिशाली सरकार हाकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको संकेत दिन थालेका छन् । आमनागरिकमा सरकारको उपस्थिती देखाउने गरि प्रस्तुत भएका उनी संविधान संशोधनको विषयभन्दा जनजीविका कै प्रश्नतथा अर्थतन्त्र सुधारको काममा सक्रिय छन् ।

विश्वासको मत माग्दा उल्लेख गरेका सरकारका चार प्राथमिकतामा केन्द्रीत भएर अघि बढेका उनी निजी क्षेत्रीमैत्री देखिएका छन् । फलतः उनले उद्योगमा काटिएको विद्युत जोड्न तदारुकता देखाए । सरकारको उद्देश्य कसैलाई मार पार्ने नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका उनकै तदारुकतामा मगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो।

विद्युत जोड्ने विषयमा प्रधानमन्त्री ओली र प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङबीच भनाभन नै भएको खबर सार्वजनिक भएका थिए । त्यसलाई प्रधानमन्त्री ओलीले खण्डन गर्दै प्राधिकरण र आफूबीच कुनै विवाद नरहेको भन्दै माहोल शान्त पारे। अर्कातर्फ पुँजीबजारलाई प्राथमिकता दिएका उनले आफूलाई लगानीकर्ताले विश्वास गरेकै रुपमा विज्ञापन गरिरहेका छन् । त्यसलाई सहयोग पुग्ने गरि मौद्रिक नीति बनाउन दवाव दिएका उनले यसका लागि आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडालाई नियुक्ति नै दिए । जसले विगतमा एम अधिकारी भर्सेस अर्थमन्त्री देखिएको अवस्था यो चोटि नदेखिँदा लचिलो मौद्रीक नीति राष्ट्र बैंकले प्रस्तुत गरेको छ ।

जसमा सरकारको प्राथमिकता मध्ये एक निर्माण व्यवसायीको भुक्तानीको समस्या कम गर्दै जाने विषयलाईसमेत सम्बोधन गरिएको छ । अब निर्माण व्यवसायीहरूलाई प्रवाह भएको कर्जाको सावाँब्याज तिर्ने अवधि २०८१ मसान्तसम्म थप हुने भएको छ । त्यस्तै कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मका लागि चेक अनादर भएको आधारमा मात्र कालो सूचीमा समावेश नगर्ने व्यवस्था गरिएको छ भने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलातबाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाको सीमासम्बन्धमा छुट्टै व्यवस्था गरिने भएको छ ।

यतिमात्र नभएर गर्भनर अधिकारीले नेपालको अर्थतन्त्र कोराना अघिकै अवस्थामा पुगेको दाबी गरे । जुन ओलीकै कारण मात्र नभएर उनको पालामा भएको बहाना मिलेको छ । त्यस्तै ओलीकै पालामा निजामती क्षेत्रको सर्वोच्च पद मुख्यसचिव लिलादेवी गड्तौला बनेकी छन् । जुन प्रक्रियागत कुरा भएपनि आफ्नै पालामा पहिलो महिला मुख्यसचिव भएको जस उनले खाने छन् । त्यसअघि विमान दुर्घटनामा मृतकका आफन्तलाई भेट्नेदेखि पाइलटको उपचारबारे जानकारी लिन अस्पताल पुग्ने खालका सांकेतिक काम उनले गरे ।

यसले नागरिकका दुःखमा सरकार रहेको महसुस गराउने आशामा रहेका उनी आफू नेतृत्वमा पुगेपछि बढेको रफ्तारलाई समेत संकेत गर्न चाहन्छन् । यतिमात्र नभएर उनले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयमा पनि चासो राखेका छन् । जसअनुसार उनले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन्। यसले विगतमा दुईतिहाइको भार थेक्न नसकेका उनी यो पल्ट आफूलाई प्रमाणित गर्र्दैछन् त भन्ने प्रश्नको केही जवाफ मिलेको छ ।

हुन त यो सरकारले पनि काम नगरे देश दुर्घटनाकै अवस्थामा पुग्ने स्वयम् गठबन्धनकै नेताहरु बताउँछन् । दुई ठूला दल मिलेको यो नै आशा र भरोसाको अन्तिम विकल्प भएको उनीहरुको दाबीका बीच चुप बस्ने शेरबहादुर देउवाको साथ ओलीलाई मिलेको छ । जसले आफ्नो बलियो धरातललाई अवसरका रुपमा प्रयोग गर्ने छुट उनले पाएका छन् । जसलाईटिआरसी विधेयकमा सहमति जुटाउन बढेको सक्रियतालेसमेत पुष्टि गर्दा उनी बर्षौ अल्झिएका विषयलाई समेत टुङगो लगाउँदै आफ्नो जबरजस्त उपस्थिती जताउने बाटोमा रहेको आशा गर्न सकिन्छ । यसलाई उनले कामय राखे सप्रिने छवि र बन्ने भाग्य पनि उनको हो भने पुराना दलमाथिको प्रश्न गर्नसमेत यो उपयोगी सिद्ध हुनेछ ।