Breaking

अस्पतालको कारुणिक क्षण, शव नबुझ्ने पीडितको धम्की, सौर्यका मालिक र मन्त्री नै अस्पतालमा


काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको शव हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ । अस्पतालको फरेन्सिक विभागमा हालसम्म १२ वटा शवको पोस्टमार्टम सकिएको जनाइएको छ । तर सबै १८ वटा शवको पोस्टमार्टम सक्न शुक्रबारसम्म लाग्ने अस्पताल प्रशासनले जनाएको छ । पोस्टमार्टममा लामो समय लाग्दा पीडित परिवारलाई थप पीडा दिएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा भएको करिब ३६ घण्टा पुग्न लाग्यो।जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको परिवारले हालसम्म पार्थिक शरीर देख्न र बुझ्न पाएका छैनन् । पीडित परिवारका सदस्यहरु महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरिन्सक विभाग बाहिरमलिन अनुहार, आँखा भरी आँसु, मनमा पीडा बोकेर भित्रबाट आउने चिकित्सकको बाटो कुरेर बसिरहेका छन् ।

दुर्घटनामा आफन्त गुमाएको पीडा एकातिर छ,अर्को तिर समयमै अन्तिम संस्कार गर्न नपाउनुको पीडा पनि छ । पीडितहरु पीडामाथि पीडाले आहात छन् ।शवको पोस्टमार्टम कछुवाको गतिमा भइरहेको छ । ज्यान गुमाउनेहरु त गए पनि यहाँ बाच्नेहरुको कारुणिक पीडामा छटपटाइरहेको दृश्य हेर्दा जो कोहीको पनि मन कटक्क काट्छ । भावविवहल बनाउँछ । शिक्षण अस्पतालको परिसर शोकमा डुब्दा सबैलाई मर्माहत बनाइरहेको छ ।

देशकै प्रमुख विमानस्थलमै भएको दुर्घटनामा ३६ घण्टा बित्न लाग्दा पनि मृतकका परिवारले आफ्नो आफन्तको शव नपाउँदा उनीहरुको पीडामा नुन चुक छर्कने काम सरकारले गरिरहेको छ ।शिक्षण अस्पताल परिसरमा पीडित परिवारले बिलौना गरिरहँदा राज्य मुकदर्शक बनिरहेको भान हुन्छ ।पीडाले भक्कानिएकाहरुलाई आफन्तहरुले नै सम्हाल्ने प्रयास गरिरहेका छन् । सान्त्वना दिने र समवेदना व्यक्त गर्नुबाहेक कोही कसैसँग विकल्प छैन ।

दुर्घटनामा ज्यान गुमाएकाका आफन्त लामो समय बितिसक्दा पनि सौर्य एयरलाइन्सले कुनै पनि साथ सहयोग र सम्वन्वय नगरेको भन्दै आक्रोषित देखिन्थे । परिवारको कमाउने मान्छेकै ज्यान गएको तर पनि कम्पनीले आजसम्म बेवास्ता गरेकाले दबाब दिनु पर्ने र प्रेस विज्ञप्ति नै निकाल्न विवस हुनु परेको आफन्तहरुको गुनासो छ ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले हालसम्म१२ वटा शवको पोस्टमार्टमभइसकेको जानकारी दिए । पाटन अस्पताल र पोखराबाट चिकित्सकहरु बोलाएर तीन भागमा विभाजन गरेर तीव्र गतिमा चरणबद्धरुपमा पोस्टमार्टमको काम भइरहेको उनी बताउँछन् । मृतकहरुको शव क्षतविक्षत अवस्थामा रहेको र अधिकांश शवहरु जलेर पुर्णरुपमा ड्यामेज भएका कारण पहिचानका लागि कठिन भएको चिकित्सकको भनाइछ ।

शुक्रबार साँझसम्ममा सबै शवको पोस्टमार्टम सकेर परिवारका आफन्तलाई बुझाउने अस्पतालले जनाएको छ । मृतकको नाम खुले पनि कुन व्यक्तिको शव कुन हो? भनेर पहिचान गर्न पोस्टमार्टका केही प्रक्रिया पूरा गर्नुुपर्ने डा. चौधरीले जानकारी दिए ।शव जलेकाले हेरेकै भरमा चिन्न गाह्रो हुने र डीएनए परीषणपछि मात्रै पहिचान हुने भएकाले समय लाग्ने डा. चौधरीको भनाइ छ ।

अस्पतालले तीव्र गतिमा शव पोस्टमार्टमको काम भइरहेको दाबी गरे पनि शिक्षण अस्पतालको जनशक्तिले मात्रै नभ्याउने भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल र पोखराबाट चिकित्सकहरुझिकाइएको छ ।डा. चौधरीका अनुसार एउटा शव पोस्टमार्टम गर्न कम्तिमा चार घण्टा समय लाग्छ । त्यसैले सबै १८ वटा शव पोस्टमार्टम गरिसक्न कम्तिमा ७२ घण्टा लाग्ने उनी बताउँछन् । त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनले बताए ।

तर १८ वटा शवको पोस्टमार्टमका लागि ७२ घण्टा लाग्नुले राज्य संयन्त्रमाथि नै प्रश्न उठेको छ । यसले सरकारको निरीहता र लाचारी पनि उदांगिएको विश्लेषण भइरहेको छ । यसैबीच, बिहीवार बिहान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शिक्षण अस्पताल पुगेर मृतकका आफन्तलाई भेटेका छन् । उनले पुगेर पोस्टमार्टममा संलग्न चिकित्सकसँग ब्रिफिङ लिएभने मृतकका आफन्तलाई छिटोभन्दा छिटो शव हस्तान्तरणको व्यवस्था मिलाउने आश्वासन दिए ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । दुर्घटनाको कारण छानबिन प्रतिवेदनले बाहिर ल्याउँला । तर पीडित परिवारको हकमा सम्बन्धित एयरलाइन्सले खेल्नु पर्ने भूमिकाप्रति तीव्र रुपमा असन्तुष्टि बढिरहेको छ । साथै सरकारले यसका लागि निर्वाह गर्नु पर्ने भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ । पीडित परिवारले भोगिरहेको पीडामा मलहम लगाउनु पर्ने बेला थपिएको पीडाप्रति राज्य गम्भीर बन्नुपर्छ ।