अन्तर्राष्ट्रिय

कमलाले जिते अमेरिका सक्ने ट्रम्पको आरोप, बाइडेन भन्छन्–ट्रम्पलाई रोज्ने गल्ती अमेरिकनले गर्दैनन्


काठमाडौँ – अमेरिकामा आगामी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिस शासनका लागि योग्य नभएको रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले टिप्पणी गरेका छन् । रिपब्लिकन र डेमोक्रेट पार्टीका उम्मेदवारले एक अर्कालाई आरोप–प्रत्यारोप लगाइरहँदा ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । यसक्रममा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिकको तर्फबाट कमला ह्यारिस चुनावी मैदानमा उत्रिएका छन् । यी दुई जनामध्ये एकले आगामी चुनाव पछि अमेरिकाको शक्ति सम्हाल्ने छन् । चुनाव आउन केही महिना बाँकी रहँदा ह्यारिस र ट्रम्पबीच चुनावी सभामा आरोप र प्रत्यारोप चल्न थालेको छ । एकदिन अघि मात्रै उपराष्ट्रपति ह्यारिसले पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी थिइन् ।

विस्कन्सिन राज्यमा करिब तीन हजारको भिडलाई सम्बोधन गर्दै ह्यारिसले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी हुन् । उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पको सामना गर्न आफू तयार रहेको दोहो¥याएकी थिइन् । उपराष्ट्रपति ह्यारिसले डेमोक्रेटिक पार्टीलाई एकताबद्ध गर्ने बाचासमेत गरिन् । ह्यारिस दलको औपचारिक उम्मेदवार घोषणा हुन बाँकी नै रहे पनि सम्भावित उम्मेदवार भएकाले चुनावी दौडमा उत्रिसकेकी छिन् । तर दुवै प्रतिद्वन्द्वीले एकअर्कालाई कडा टक्कर दिने सम्भावना बलियो बन्दै गएको छ ।

यता ट्रम्पले पनि ह्यारिसको जवाफ फर्काएका छन् । ह्यारिस शासनका लागि योग्य नभएको ट्रम्पको टिप्पणी छ । रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवारले एक अर्कालाई आरोप–प्रत्यारोप लगाइरहँदा ट्रम्पको यो अभिव्यक्ति आएको हो । ट्रम्पले बुधवार उपराष्ट्रपति ह्यारिसलाई शासन गर्न अयोग्य बताउँदै ह्यारिसलाई समर्थन गर्ने वामपन्थीलाई पागल समेत भनेका छन् ।

बाइडेनले ह्यारिसलाई समर्थन गरेपछि पहिलो पटक चुनावी ¥यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले ह्यारिसमाथि प्रहार गरेका हुन् । राष्ट्रपतिको कुर्सीमा बस्ने मौका मिल्यो भने उनले देशलाई ध्वस्त पार्ने ट्रम्पको भनाइ छ । उनले अगाडि भनेका छन्, ‘हामी यस्तो हुन दिने छैनौँ ।’ ह्यारिसले जे कुरा छोयो त्यो पूरै बर्बाद हुने आरोपसमेत ट्रम्पले लगाएका छन् । ‘कमला ह्यारिस अमेरिकी इतिहासमा सबैभन्दा उदार निर्वाचित राजनीतिज्ञ हुन् । उनी अति–उदारवादी राजनीतिज्ञ हुन् । उनी भयानक छिन ।’ ट्रम्पले भनेका छन्, ‘उनी सत्तामा आइन् भने यो देशलाई छिट्टै ध्वस्त पार्नेछिन् ।

उनले सीमाको रक्षा गर्नु पर्ने थियो, तर उनी कहिल्यै सीमामा गइनन् ।’ आफ्नो भाषणमा ट्रम्पले ४५ पटक ह्यारिसको नाम लिएका थिए । बाइडेनले ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अगाडि सारेपछि केही दिन चुप बसेका ट्रम्प पछिल्लो समय ह्यारिसमाथि खनिन थालेका छन् । ट्रम्पको प्रतिवाद गरिरहेका ट्रम्पका लागि ह्यारिस चुनावी प्रतिस्पर्धी बन्ने पक्का जस्तै भएको अवस्थामा अब उनले ह्यारिसविरुद्धको रणनीतिलाई बलियो रुपमा अगाडि सार्ने संकेत गरेका छन् ।

यसले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपति चुनाव निक्कै प्रतिस्पर्धात्मक र रोचक हुने संकेत गरेको छ । यद्यपि, पछिल्लो मत सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिसलाई अगाडि देखाएको छ । जसले गर्दा ट्रम्प थप दबाबमा परेको देखिन्छ । उनले ह्यारिसभन्दा आफूलाई अब्बल देखाउन र चुनाव जित्न आगामी रणनीति कस्तो बनाउँने छन् ? त्यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ । तर ट्रम्पको पछिल्लो प्रतिक्रिया र ह्यारिसलाई फर्काएको जवाफले भने चुनावी प्रतिस्पर्धामा ट्रम्प खरो उत्रिने संकेत स्पष्ट भएको छ ।