Breaking

१० प्रश्नको घेरामा हवाई आकाश, जताततै त्रुटि, नागरिकको ज्यान जाँदा मन्त्री र क्यान सबै निर्दोष ?


काठमाडौँ – बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको सौर्य एअरलाइनसको जहाज दुर्घटनामा पाइलटबाहेक सबैको मृत्यु भएको छ । मौसम र सबै प्राविधिक पक्ष ठिकठाक हुँदा पनि विमान दुर्घटनामा पर्नुले विभिन्न प्रश्नहरु उब्जिएका छन् ।

देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि नेपालको हवाई सुरक्षामा फेरि प्रश्न उठेको छ । सफा मौसम र अरु कुनै बाहिरी समस्या नभएकै समयमा भएको विमान दुर्घटनालाई धेरैले अस्वभाविक मात्रै मानेका छैनन् । पाइलट र विमानको प्राविधिक पक्षलाई दोष थोपरेर भाग्ने गरेको राज्यमाथिसमेत थुप्रै प्रश्न उठेका छन् ।
दुर्घटनापछि उठेका १० प्रश्न र जवाफ ः
प्रश्न १. कसरी भयो विमान दुर्घटना ?
मर्मतका लागि भन्दै पोखरा जान लागेको ९ एन–एएमई सीआरजे–७ जहाजले धावनमार्ग छाड्ने बित्तिकै दाहिनेतिर कोल्टिएर जमिनमा बझारिएको देखिन्छ । एटीसीसँगको सम्पर्क जमिनबाट १०० फिटमाथि उडेलगत्तै टुटेको थियो । दुर्घटनापछि जहाज काँडाघारी तर्फको बस्ती नजिकैको खाली जमिनमा पुगेर खोँचमा झरेको थियो । यो जहाज सी चेक अर्थात पूर्ण परीक्षणका लागि पोखरा लगिँदै थियो ।
प्रश्न २. पाइलट मात्रै कसरी बाँचे ?
जहाजमा सवार १९ जनामध्ये पाइलट मनीषरत्न शाक्य मात्रै बाँच्न सफल भएका छन् । अधिकांश हवाई दुर्घटनामा यात्रु बाँच्ने सम्भावना न्यून हुन्छ । अझ चालकदलका सदस्य झनै जोखिममा हुन्छन् । तर दुर्घटनामा परेको जहाजको ककपिट कन्टेनरभित्र पर्दा पाइलट शाक्य बाच्न सफल भएका थिए । उनलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको थियो ।
प्रश्न ३. समयमा उद्धार हुन सकेको भए अरु बाच्ने सम्भावना थियो ?
सार्वजनिक भएका सीसीटीभि फुटेजहरुमा दुई मिनेटमै दमकल पुगेर पानी फाल्ने प्रयास गरेको देखिन्छ । तर पानीको बेग आगो बलिरहेको स्थानसम्म पुुग्न नसक्दा समयमै आगो निभ्न पाएन । पाइलट शाक्यले पनि ककपिटमा थप दुईजना रहेको सुरक्षाकर्मीलाई बताएका थिए । तर, उनीहरु बाँच्न सकेनन् । समयमै उद्धार हुन सकेको भए केहीको ज्यान जोगिन सक्ने सम्भावना हुन्थ्यो ।
प्रश्न ४. ‘सी चेक’ गर्न लैजाँदै गरेको जहाजमा परिवारका सदस्य किन लगियो ?
कम्पनीका प्राविधिकहरुले अन्तर्राष्ट्रिय हवाई नियमअनुसार नै कम्पनीले फ्लाइट गरेको दाबी गरेका छन् । हुन त सौर्यले आफ्ना होनहार कर्मचारी गुमाएर आफैँ शोकमा छ । तर, प्राविधिक बाहेक परिवारका सदस्यसमेत राख्नुपर्ने अवस्थामा किन सौर्य पुग्यो भन्ने पाटो पनि अनुसन्धानकै बिषय बनेको छ ।
प्रश्न ५. के जहाज थोत्रो हुन्छ ?
नेपालमा हुने गरेका हरेक जहाज दुर्घटनामा जहाजको आयुमा प्रश्न उठ्ने गरेको छ । गतवर्ष पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पनि यही प्रश्न उठेको थियो । अहिले पनि सौर्य एयरलाइन्सकै २० वर्ष पुरानो अन्य जहाजहरु उडिरहेकै छन् । २६ देखि ३० वर्ष पुगिसकेका बुद्ध एअरका दुई जहाजले नेपाली आकाशमा अहिले पनि यात्रु ओसारिरहेकै छन् । गुण, सीता र नेपाल एअरलाइन्सका ३५ देखि ४० वर्ष अघि किनेका जहाजहरु पनि नेपाली आकाशमा उडिरहेकै छन् ।

प्रश्न ६. हरेक दुर्घटनामा क्यान कति दोषी ?
के अहिलेसम्म नेपालमा भएका सबै दुर्घटनामा पाइलट र जहाज मात्रै दोषी हुन् त ? अथवा नियामक निकाय नागरिक उड्ययन प्राधिकरण जिम्मेवार हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जिएको छ । सात वर्ष प्राधिकरणको जिम्मा लिएर दोषजति अरुलाई थोपर्ने काम गरेका महानिर्देशक प्रदीप अधिकारी अहिले पनि जवाफदेहिताबाट पन्छिरहेका छन् । यूरोपियन युनियनले नेपालका वायु सेवा कम्पनीलाई कालासूचीमा राख्नुको मुख्य कारण नै उड्ययन क्षेत्रमा सुधार हुन नसक्नु हो । यो क्षेत्र सुधार्ने काम प्राधिकरणकै हो । सधैँ अरुलाई मात्रै दोष लगाएर उम्किने गरेका अधिकारीलाई सांसदहरुले ¥याख¥याख्ती बनाएपछि नैतिक जिम्मेवारी लिने बताएका छन् ।

प्रश्न ७. परिवारलाई शव दिनै तीन दिन किन ?
दुई हप्ताअघि मात्रै चितवनको सिमलतालबाट त्रिशूली नदीमा बससँगै बेपत्ता भएका धेरै यात्रुहरुको शव अझै परिवारले पाएका छैनन् । कतिपयले शवसमेत पाउन आश मार्दा कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिरहेका छन् । तर विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टममै तीन दिन समय लाग्ने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आवश्यक जनशक्ति नै छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी गराउँदा पनि तीन दिनअघि सम्बन्धित परिवारले शव पाउने अवस्था छैन । यसले राज्यको क्षमतामा प्रश्न उब्जाएको छ ।
प्रश्न ८. डमी अभ्यासमा पास, वास्तविकतामा फेल किन ?
केही दिनअघि मात्रै बुधबार भएको विमान दुर्घटना भएकै स्थानमा दुर्घटना र उद्धारसम्बन्धि नमुना अभ्यास गरिएको थियो । जहाँ स्ट्याण्डबाइ राखिएका सबै संयन्त्रले काम गर्दा समयमै आगो नियन्त्रणमा लिएको देखाइए पनि संकटकालीन अवस्थाका लागि विमानस्थलको संरचना तथा जनशक्तिको तयारी नै प्रश्नको घेरामा परेको छ । यो प्रश्न पटक–पटक उठ्ने गरेको छ ।
प्रश्न ९.अन्तर्राष्ट्रिय छवि के हुन्छ ?
विश्वभर हवाई यात्रालाई सुरक्षित मानिए पनि नेपालको आकाश असुुरक्षित बन्दै गएको छ । त्यसमाथि पटक–पटक भइरहने दुर्घटनाले हवाइ यात्राको विश्वसनियतामै प्रश्न उठाइदिएको छ । नेपालका वायुसेवा कम्पनीहरु अहिले पनि ईयूको कालोसूचीमा छन् । नागरिक उड्डयनको क्षेत्रमा सुधार हुन नसकेको अवस्था र वर्षौं भइरहने दुर्घटनाले यसमा झनै प्रभाव पारेको छ । नेपाली उड्ययन क्षेत्रलाई कालोसूचीबाट निकाल्न यस्ता दुर्घटनाले पनि बाधा पु¥याइरहेको छ ।
प्रश्न १०. पटक–पटकका प्रतिवेदनबाट किन सच्चिँदैन राज्य ?

पटक–पटक हुने गरेका जहाज दुर्घटनामा छानबिन गर्न आयोगहरु गठन हुने गरेका छन् । यसपटक पनि त्यो कदम दोहोरिएको छ । ती आयोगहरुले जहाजसहित समग्र उड्डयन क्षेत्रकै समस्या केलाउने गरेका छन् । यसअघि पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा समेत छानबिन आयोग बनेको थियो । तर सुझाव कार्यान्वयनका सवालमा प्राधिकरणले गैरजिम्मेवारी हर्कत देखाउँदा समस्या दोहोरी रहेको छ ।

यसरी पटक पटक दोहोरिने घटनाले नेपाल घुम्न जानैपर्ने ठाउँ त हो तर, हवाई यात्रा चाहिँ नगर्नु भन्ने भाष्य निर्माण भइरहेको छ । त्यसमाथि राज्यको ध्यान विमानस्थल थप्नमा मात्रै छ । वायु सेवा प्रदायक कम्पनीहरु पनि विमान थप्ने होडबाजीमा हुन्छन् । विमान थप्ने तर प्रविधि नथप्ने प्रवृत्ति झनै घातक बन्ने निश्चित छ । काठमाडौंमा एकभन्दा बढी ह्याङगर सुविधा छैन । यसैकारण सौर्य पोखरा उडेको थियो । त्यसमाथि लज्जास्पद् त के छ भने उड्डयन क्षेत्रको नियमन र नियन्त्रण प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक फिर्ता लिएर सरकार र सांसदहरु समितिमार्फत फिक्का बहस चलाएर समय कटाइरहेका छन् । पहिलो प्राथमिकता प्रभावकारी कानुन बनाउने र कार्यान्वयन गर्ने हुनु पथ्र्यो । विडम्बना नै मान्नु पर्छ, दुर्घटना हेर्ने र व्यहोर्नेबाहेक समाधानको बाटोमा सरोकारवाला निकाय असफल भइरहेको छ ।