Breaking

पहिलो महिला मुख्यसचिव बन्न सफल गड्तौला भन्छिन्–राम्रो कर्म गरे, राम्रै फल पाइन्छ


काडमाडौँ – नेपाल सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेसँगै नेपालको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव बन्न सफल भएकी छन् ।

वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन् ।

उनी विसं २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुँदै छिन् ।

ुजस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामती सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिइन् ।

उनले समस्त निजामती कर्मचारीमा इमान्दार भएर काम गरे मूल्यांकन र अवसर प्राप्त हुने रहेछ भन्ने सन्देश गएको बताइन् । उनले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदै गएको पनि बताइन् ।

निजामती कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्य छ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।”

गड्तौलाले राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहमा सहज र सरल तुल्याउन सबै राष्ट्रसेवक निजामती कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले संसद्‌मा अड्किरहेको निजामती विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गरिन् ।