Breaking

संकटलाई टार्न नयाँ शक्तिको खोजीमा रास्वपा, ओलीसँग एक्लै भिड्ने, प्रचण्डको गठबन्धन बहिस्कार (भिडियोसहित)


काठमाडौँ— कांग्रेस–एमालेको सत्ता समीकरणले एक्कासीविपक्षी कित्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा दरिलो प्रतिपक्षी बन्ने रणनीति लिएको छ । सत्तामा हँुदा मुखमा टेप लगाएको रास्वपा अहिले भने चर्को स्वरका साथ सदनमा प्रस्तुत हुन थालेको छ । मिसन ८४ नारा घन्काउँदै दुई पटक सत्ता यात्रा गरेको रास्वपा विवाद र काण्डबाट भने अछुतो हुनसकेन । जसले गर्दा रास्वपाको अबको यात्रा कुन रुपमा अघि बढ्छ त? जनचासो बढिरहेको छ ।

दुई पटक सत्ताको रसपान गरेर किनारा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अहिलेप्रतिपक्षी कित्तामा पुगेको छ । उत्साह र जोसका साथ २१ सांसदको साथमा सदन छिरेको रास्वापा कहिले ओलीको पुच्छार त कहिले प्रचण्डको बुईं चढेर सत्तामा पुग्यो । पुराना दलको विकल्पका रुपमा एउटा आशा बोकेर उदाएको रास्वपाले तीनै पुराना दलको पछि लागेर दुई पटक सत्तामा पुग्यो । तर न त नयाँ भएको आभास दिलायो न त पुरानामाथि हाबी हुन सक्यो । बरु विवाद र काण्डको भुमरीमा उल्टै फस्न पुग्यो । स्थापनाकालदेखि हालसम्मको अवस्था हेर्दा नयाँ आशा लिएर उदाएको रास्वपा जनअपेक्षा विपरीत उल्टै विवाद र काण्डको अखडा जस्तै बनेको छ । पार्टी नेतृत्व र नेताहरु नै विभिन्न विवादमा फस्न पुगे । यो श्रृंखला धारावाहिक रुपमा अझै पनि आइरहेको छ । जसले रास्वपाको छविमाथि नै गम्भीर प्रश्न उठाएको छ । युवा र शिक्षित नेताहरु रहे पनि रास्वपाले जनतामाझ प्रशंसा योग्य कार्य कम विवाद बढी झेल्नु परिरहेको छ ।
समानुपातिक सांसद छनोटदेखि सुरु भएको रास्वपाको विवाद सभापति रवि लामिछानेको दोहोरो नागरिता, सहकारी प्रकरण, चालकको मृत्यु प्रकरण, ढाकाकुमार काण्ड, महामन्त्री मुकुलढकाल काण्ड हुँदै अहिले उपसभामुख काण्डसम्म आइपुगेको छ । नयाँ आशा र भरोसासहित आएको यो पार्टी अहिले आएर पुराना दलहरुको विकल्पभन्दा पनि पुरानाहरुको नयाँ भेरियन्ट, (प्रो भर्जन) जस्तो देखिएको छ ।

रास्वपाले आफूलाई संसदमा बलियो प्रतिपक्षीको रुपमा उभ्याउने रणनीति लिएको छ । तर, नेकपा माओवादी, एकीकृत समाजवादीसहितको प्रतिपक्षी मोर्चामा रहेर विपक्षीको भूमिका निर्वाह गर्ने तयारी गरेको रास्वपाले अहिले आएर विपक्षीको छुट्टै कित्तामा उभिने रणनीति बनाएको छ । सरकार ढल्दा बद्नाम बनेको रास्वपाले फेरि तिनै दलहरुसँगको प्रतिपक्षी मोर्चामा बसेर थप बद्नामी हुनबाट जोगिन छुट्टै प्रतिपक्षीको रुपमा आफूलाई प्रस्तुत गर्न चाहेको देखिन्छ । संसदमा रास्वपा एक्लै प्रतिपक्षीको भूमिका निर्वाह गर्न काफी रहेको निष्कर्षसहित उसले अन्य विपक्षी दलको मोर्चाबाट आफूलाई अलग गर्ने रणनीति लिएको छ । साथै, सरकारमा आफू हुँदा खोलिएका काण्डका फाइलहरुको हिसाब खोज्ने रणनीति रास्वपाले लिएको छ ।

नयाँ जोश,जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई नेपाली नागरिकले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधि सभाको २१ सिटमा जिताएका थिए। नो नट अगेनको नारा बोकेर निर्वाचनमा राम्रो सिट प्राप्त गरेको रास्वपा यतिबेला त्यही नाराको भारीबाट थिचिँदै गएको छ ।रवि लामिछानेको महत्त्वाकांक्षा र हुटहुटीले जन्मिएको पार्टी रास्वपा रविले सञ्चारकर्म गर्दाका बखत उठाएका भुइँमान्छेका समस्यालाई सांसद भएर सत्तामा पुगेपछि सम्बोधन गर्ने वचन दिएकैले असाधारण लोकप्रिय मत प्राप्त गरेको थियो । सरकारमा गएर काम गरेर देखाउने भन्दै दुई पटक सत्तामा शक्तिशाली मन्त्रालयहरुको नेतृत्व गरे पनि जनअपेक्षाअनुसार डेलिभरी दिन नसकेको र नागरिकले वाह ! भन्ने खालका काम गर्न रास्वपा चुकेको कुरा घाम झै छर्लङ्ग छ । पुराना दलहरुसँग लेपासिँदै सत्ता यात्रा गरेको रास्वपा तिनै दलको धोकाले सरकारबाटै आउट हुन पुग्यो । आवश्यक पर्दा एमाले, माओवादीको सहयात्री बनेको रास्वपा सत्तामा पाएको धोकापछि प्रतिपक्षी कित्तामा भने कुनै पनि दलसँग सहकार्य नगर्ने बरु एक्लै लड्ने मनस्थितिमा देखिन्छ ।

सत्ताबाट उछिटिए पनि अहिले सरकारमा जानु ठिक थियो वा थिएन भन्ने बहस रास्वपाभित्र समीक्षाको विषय बने पनि सभापति लामिछानेले भने ‘नमरी स्वर्ग देखिँदैन’ भने झै सरकारको बेथितिबारे थाहा पाउन सरकारमा जानै पर्ने भाष्य निर्माण गरिरहेका छन् । जनताले रास्वपालाई दिएको मत सरकारमा जानका लागि थियो कि प्रतिपक्षमा रहेर जनताको आवज बुलंद गराउनलाई थियो? रास्वपाले निर्मम रुपमा आत्मसमीक्षा गर्नु आवश्यक रहेको विश्लेषण हुन थालेको छ । यद्यपि, केही गर्ने हुटहुटी बोकेर रास्वपा सरकारमा जानु अस्वभाविक र अन्यथा विषय होइन । तर, रास्वपाले मुलुकको जुन जिम्मेवारी र मन्त्रालय सम्हालेर सरकारमा गएको थियो । त्यहा पुगेर जनअपेक्षा अनुसार काम गर्न सक्यो कि सकेन भन्नेमा पुनः एकपटक सत्ता यात्राकोमुल्याङकन गर्नु पर्नेहुन्छ । पार्टी स्थापनाको छोटो समयमै महत्वपूर्ण मन्त्रालय पाउँदै सरकारमा गएको रास्वपाको सत्ता यात्रा कति सफल भयो? जनअपेक्षाकोसम्बोधन गर्ने काम कति भयो? पुराना राजनीतिक दलको दम्भ र पुरानो प्रणाली तोड्न कति सक्षम भयो?रास्वपामाथि दर्जनौं प्रश्न तेर्सिन थालेका छन् । यी सबै विषयका जवाफ दिन अब रास्वपाले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आफूले थालेका राम्रा कामलाई स्थापित गराउनेतर्फ ध्यान केन्द्रित गर्नु पर्नेछ । चौतर्फी निराशाकाबीच उदाएको यो पार्टी सक्किने कि सच्चिने भन्ने मोडमा रहेको अवस्थामा रास्वपाको वास्तविक परीक्षा पनि अब सुरु भएको छ ।