काठमाडौँ— आगामी नोभेम्बर ५ मा हुने अमेरिकाको राष्ट्रपति निवार्चनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने निश्चित भएकी कमला ह्यारिसको पक्षमा जनमत बलियो बन्दै गएको छ । जसले रिपब्लिकन पार्टीका उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दबाबमा परेका छन् । राष्ट्रपति जो बाइडेन चुनावी दौडबाट पछि हटेसँगै ह्यारिसलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । यससँगै गरिएका सर्वेक्षणले राष्ट्रपतिको दौडमा ह्यारिसले ट्रम्पलाई उछिन्ने संकेत देखिएको छ ।
आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपति निवार्चनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने निश्चित भएकी कमला ह्यारिसको पक्षमा जनमत बलियो बन्दै गएको छ । उम्मेद्वार बन्ने पक्कापक्की भएसँगै उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो ह्वाइट हाउस अभियानको पहिलो ¥यालीमा डोनाल्ड ट्रम्पविरूद्ध आक्रामकता प्रस्तुत गरेकी छन् । उपराष्ट्रपति ह्यारिसले पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी छन् । विस्कन्सिन राज्यमा करिब तीन हजारको भिडलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति ह्यारिसले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी हुन् । उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पको सामना गर्न आफू तयार रहेको दोहो¥याइन् । उपराष्ट्रपति ह्यारिसले डेमोक्रेटिक पार्टीलाई एकताबद्ध गर्ने बाचासमेत गरिन् । हुन त ह्यारिस दलको औपचारिक उम्मेदवार बन्छिन् या बन्दिनन् अझै स्पष्ट भइसकेको छैन । तर दुवै प्रतिद्वन्द्वीले एकअर्कालाई कडा टक्कर दिइरहेका छन् । यसैबीच, मंगलबार एक सर्वेक्षणको नतिजा आएको छ । सर्वेक्षणको नतिजाले ह्यारिसलाई ट्रम्पभन्दा अगाडि देखाएको छ । रोयटर्स–इप्सोसले गरेको जनमत सर्वेक्षणमा ह्यारिसले ट्रम्पलाई दुई प्रतिशतले उछिनेकी छन् । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि सोमबार र मंगलबार यो सर्वेक्षण गरिएको थियो ।
यसअघि आइतबार बाइडेनले सबैलाई चकित पार्दै निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए । गत जुन २७ मा डोनाल्ड ट्रम्पसँगको पहिलो खुला राष्ट्रपतीय बहसमा खराब प्रदर्शनपछि बाइडेनमाथि पार्टीभित्रैबाट उम्मेदवारी त्याग्न दबाब बढेको थियो । ताजा सर्वेक्षणमा ह्यारिसलाई ४४ प्रतिशत समर्थन मिलेको छ भने रिपब्लिकन उम्मेदवार ट्रम्पले ४२ प्रतिशतको समर्थन पाएका छन् । यसअघि भएका सर्वेक्षणहरूमा ट्रम्पले बाइडेनलाई उछिन्दै आएका थिए । पार्टीको उम्मेदवार बन्न ह्यारिसले पर्याप्त समर्थन जुटाएको खबर आएकै समयमा यो सर्वेक्षणको नतिजा आएको हो । यसअघि जुलाई १५–१६ मा भएको सर्वेक्षणमा बाइडेन र ट्रम्प ४४ प्रतिशतको बराबरी थिए भने जुलाई १–२ मा भएको सर्वेक्षणमा ट्रम्प बाइडेनभन्दा एक प्रतिशतले अगाडि थिए । राष्ट्रिय सर्वेक्षणहरूले ह्यारिसको समर्थन बढ्दै गएको देखाएका छन् । तर ट्रम्पको चुनावी अभियान टोलीले ह्यारिसको नेतृत्वलाई महत्त्वपूर्ण मानेको छैन ।
डेमोक्रेट्सबाट ह्यारिस उम्मेदवार बन्ने पक्कापक्की भएपछि ट्रम्पको अभिव्यक्ति सार्वजनिक भएको छैन । उनी आन्तरिक रणनीतिमा जुटिरहे पनि एक वर्षअघिदेखि बाइडेनको प्रतिस्पर्धीको रुपमा आफ्नो प्रचार अभियान चलाएका ट्रम्प अहिले निराश बनेको विश्लेषण भइरहेको छ । अब फेरि उनले ह्यारिसभन्दा आफू अब्बल उम्मेदवार रहेको विश्वास दिलाउन जनमत बटुल्न प्रचार अभियान र रणनीतिमा पुनर्विचार गर्नु पर्ने अवस्था आएको छ । यता बाइडेन पछि हटेपछि ह्यारिसलाई अघि सार्ने चर्चासँगै डेमोक्राट्सहरुमा भने उत्साह छाएको छ । ट्रम्पलाई हराउन ह्यारिस सक्षम रहेको डेमोक्राट्सहरुको बुझाइ छ । यद्यपि, यसअघि ट्रम्पसँग भिडेकी हिलारी क्लिन्टनले चुनाव जित्ने मत सर्वेक्षणका बीच ट्रम्प राष्ट्रपति निर्वाचित भएको घटनालाई भने बिर्सन मिल्दैन । जसले गर्दा ट्रम्प र ह्यारिसबीच चुनावी प्रतिस्पर्धा भएको खण्डमा कसले बाजी मार्छन् ? यसको टुंगो चुनावको नतिजाले नै दिनेछ ।
प्रतिक्रिया