Breaking

२१ वर्षदेखि हवाई सेवामा थियो दुर्घटनाग्रस्त सौर्यको जहाज


काठमाडौँ— आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज २१ वर्ष ४ महिना उडिसकेको विमान भएको खुलेको छ । बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो ।

सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो । जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो । एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो ।

करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो ।

२१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल जाँदै गर्दा दुर्घटनामा परेको छ । जसमा १८ जनाले ज्यान गुमाएका छन् ।