Uncategorized

पशुपतिमा राधिका र देवी प्रतिभाको प्रवचन, दर्शनार्थीको घुँइचो


काठमाडौ-आज साउनको पहिलो सोमबार, मुलुकभरका शिवालयहरुमा भगवान शिवको विशेष पूजा आराधना हुने गर्दछ । हिन्दु धर्मावलम्बीहरुले साउन महिनाको सोमबार विशेष महत्वका महादेवको पूजाआजा गर्ने गर्दछन् । साउने सोमबारको रौनकका बीच हिन्दुको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा साउन १ देखि कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ चलिरहेको छ ।

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने गरिन्छ । सात्विक खानपान र हरियो चुरापोतेलगायत सौभाग्यका साथमा मनाइने साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा श्रदालु भक्तजनहरुको घुइँचो लाग्यो ।

साउन महिनाको सोमबार गरिने शिवको व्रत, पूजा विशेष फलदायी हुने मान्यता छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ ।

हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । विधिपूर्वक आराधना गर्दा महादेव खुसी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने जनविश्वासका कारण महादेवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चल्दै आएको छ । धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले विशेष महिनाको रुपमा रहेको साउन महिनामा भगवान शिवको पूजा आरधना, अनुष्ठान, कोटिहोम, महायज्ञ पूजा लगायतका कार्यक्रमरु हुने गर्दछन् ।

यो वर्ष पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ चलिरहेको छ । अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क रुपमा गास, बास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको मानव सेवा फाउन्डेसनले यो महायज्ञको आयोजना गरेको हो । यस्तै, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको जानकारी दिइएको छ ।

महायज्ञमा सु–प्रसिद्ध कथा वाचिका राधिका दासी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा, पण्डित श्री दिनबन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका डा. कान्ता भट्टराई र देवी चन्द्रकला सखीबाट कथा वाचन चलिरहेको छ । निराहार व्रत बस्ने, भगवान शिवको उपासना गर्दै शिवको पूजाआरधना गर्ने पवित्र अवसरमा आयोजित कार्यक्रममा भक्तजनहरुकोसमेत उल्लेख्य सहभागिता छ ।

साउन महिना र पशुपतिनाथमा आयोजित कोटिहोम तथा महायज्ञले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । मानव सेवा र कल्याण भावले आयोजित यो धार्मिक कार्यक्रमले अशायहरुका लागि महत्वपूर्ण सहयोगी भूमिका खेल्ने अपेक्षा छ ।