अन्तर्राष्ट्रिय

अमेरिकी चुनावमा नयाँ मोड, बाइडेनले अघि सारे कमला


काठमाडौँ – अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा जो बाइडेन फेरि राष्ट्रपति बन्ने दौडबाट बाहिरिएका छन् । बाइडेन बाहिरिएसँगै अब प्रतिस्पर्धी डोनाल्ड ट्रम्पसँग भिड्न को आउँछन् भन्ने विषय चर्चामा छ । गोली काण्डले तताएको अमेरिकी चुनाव उम्मेदवार फेरबदलले झनै तातिएको छ ।

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चुनावको उम्मेदवारबाट वर्तमान राष्ट्रपति जो बाइडेन पछि हटेसँगै चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ । चुनाव प्रचारको रस्साकस्सीकाबीच बाइडेन चुनावी मैदानबाट बाहिरिएका हुन् । गत जुनको अन्त्यमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँगको कमजोर बहसका कारण उनी आलोचनाको तारो बनेका थिए ।

डेमोक्र्याटहरूबाटै उनको कडा आलोचना भइरहेको थियो । आलोचनाकाबीच बाइडेनले उम्मेदवारी फिर्ता लिएका हुन् । बाइडेनले उम्मेदवारी फिर्ता लिएसँगै अब ट्रम्पलाई चुनौती थपिएको छ । ट्रम्पसामु ८५ मिनेटका लागि राष्ट्रपतिको शक्ति लिएकी कमला ह्यारिस प्रतिस्पर्धामा आउने सम्भावना प्रबल छ । ह्यारिसले सन् २०२१ मा बाइडेनलाई शल्यक्रियाको समयमा बेहोस पार्न औषधि प्रयोग गरिएको अवस्थामा ८५ मिनेटका लागि पहिलोपटक राष्ट्रपतिको शक्ति लिएकी थिइन् । ह्यारिससँगै अन्य शक्तिशाली नेताहरु पनि राष्ट्रपतिको दौडमा छन् ।

कमलासँगै मिसेल ओबामालाई पनि राष्ट्रपतिको आकाङक्षीको रुपमा हेरिएको छ । मिसेल ओबामा अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामाकी जीवनसंगिनी हुन् । मिसेलले व्यक्तिगत रुपमा उम्मेदवारी दिनेबारे सार्वजनिक अभिव्यक्ति दिएकी छैनन् तर अमेरिकी सर्वेक्षणहरुले मिसेलले डोनाल्ड ट्रम्पलाई हराउन सक्ने नतिजाहरु सार्वजानिक गरिरहेका छन् । डेमोक्र्याटिक पार्टी भित्र अहिले जसरी भए पनि ट्रम्पलाई पाखा लगाउनै पर्ने र ट्रम्पलाई पराजित गराउनलाई मिसेललाई नै उठाउनु पर्ने जबरजस्त तर्कहरु उठेका छन् ।

योसंगै पूर्व सभामुख न्यान्सी पेलोसीको नाम पनि अगाडि आएको छ । यसअघि बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न पेलोसीले बारम्बार सुझाएकी थिइन् । यता बाइडेनले भने कमला ह्यारिसलाई नै अगाडि सारेका छन् । तत्काललाई ह्यारिस नै उम्मेदवार बन्ने पक्कापक्की भए पनि बाइडेनलाई रोक्ने पार्टीभित्रैका अन्य नेताहरुले ह्यारिसलाई समेत अगाडि बढ्न नदिने आंशका गरिएको छ । यद्यपि ट्रम्पसँग भिड्न डेमोक्राटिक पार्टीले कसलाई अघि सार्छ ? त्यसका लागि केही समय कुर्नै पर्ने देखिन्छ ।

संसारकै विकसित देश अमेरिकामा लिङ्ग र रङका आधारमा हुने विभेद अहिले पनि जर्जर अवस्थामा छ । यो विभेदबारे समेत अहिले चर्चा भइरहेको छ । कमला ह्यारिसले आप्रवासीहरुको जबरजस्त मत पाउने भनेर एकातर्फ ह्यारिसको तारिफ भइरहँदा अर्को तर्फ ह्यारिस कालो वर्गकी भएको आवाज उठ्न थालेका छन् । अमेरिकाको चुनावमा रंङ्गभेदको कुरा पटक पटक आउने गरेका छन् ।