Breaking

आरजुको सफलता, बंगलादेशबाट फर्किनेले गरे तारिफ, अनलाइनबाटै यसरी हुँदैछ उद्धार


बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि त्यहाँ अध्ययनरत करिब ८ सय नेपाली विद्यार्थी आज स्वदेश फर्किएका छन् । बंगलादेशमा जारी आन्दोलनमा एक सयभन्दा बढीको मृत्यु भइसकेको अवस्थामा समस्यामा परेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आरक्षण कोटाको बिरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी आइतबार स्वदेश फर्किएका छन् । आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सयभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । तत्काल करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्रले जनाएको छ । इन्टरनेट लगाएतका सेवा बन्द हुँदा नेपालमा रहेका आफन्तले बंगलादेशमा रहेका विद्यार्थीलाई उद्धार गर्न सरकारसँग माग गरेका थिए ।

ढाकास्थित इनाम मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी फर्किएका छन् । ती विद्यार्थी मध्येकी सदीक्षा बस्नेतले अवस्था निकै गम्भीर रहेको बताइन् । बंगलादेशको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको र त्रासमा बस्नुभन्दा स्वदेश फर्किनु राम्रो भनेर फर्किएको उनको भनाइ छ । आफूहरूको कलेजले केही हुँदैन घर नफर्किनु भनेको पनि उनले बताइन् । तर दिनप्रतिदिन अवस्था झन् गम्भीर बन्दै गएपछि स्वेदश फर्किनुपरेको उनले बताइन् ।

नेपाल फर्किएकी बस्नेत एमबीबीएस पढ्न ३ महिनाअघि मात्रै बंगलोदश गएकी थिइन् । त्यस्तै अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरु मरिरहेको जानकारी पाएपछि आफूहरु त्रसित बनेको बताए । आफूहरुलाई दूतावासको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए ।

अर्की विद्यार्थी आदना सुवेदीले भने दूतावासले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले फोन गर्दासमेत बंगलादेशस्थित नेपाली दूतावासले नउठाएको ग्ुनासो गरिन् । परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको थियो । मन्त्रालयले भारत सरकारलाई समेत सडकमार्फत आउने विद्यार्थीहरूलाई सहजीकरण गरिदिन अनुरोध गरेको थियो । बंगलादेशमा जेठबाट जारी भएको आरक्षण (कोटा) विरोधी आन्दोलनमा सयभन्दा बढीको मृत्यु भइसकेको छ । आइतबार नै बंगलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेजीको आदेश दिएको छ ।

सरकारी जागिरमा ९३ प्रतिशत भर्ना योग्यता र प्रतिस्पर्धाको आधारमा हुने आदेश भएको उल्लेख गरिएको छ । यस अगाडि त्यहाँ ५६ प्रतिशत कोटा प्रणालीबाट जागिरमा भर्ना हुने व्यवस्था थियो । त्यसैको विरोधमा आन्दोलन सुरु भएको थियो । बंगलादेशको उच्च अदालतले जुन ५ मा सरकारले गरेको कोटा खारेजीलाई गैरकानुनी भनेसँगै आन्दोलन चर्किएदै हिंसात्मक रुप लिएको हो । बंगलादेशभर अहिले कर्फ्यु जारी छ । जसका कारण नागरिक घर बाहिर निस्किन पाएका छैनन् भने टेलिफोन, इन्टरनेट लगायतका सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ ।