खेलकुद

काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल माल्दिभ्ससँग खेल्दै


काठमाडौँ— माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पौने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुव‌ै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘हाम्रो लागि आजको खेलभन्दा पनि सेमिफाइनल खेल महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल हाम्रो लागि सेमिफाइनलको तयारी जस्तै हुनेछ,’ घिमिरेले भने ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो । यस्तै माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो । च्याम्पियनसिपमा कीर्गिस्तान र श्रीलंकाको दुई जितबाट समान ४ अंक छ । नेपाल र माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन ।

आजै राति कीर्गिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ । आजको दुई खेलपछि लिग चरणमा शीर्ष स्थानमा रहने र अन्य स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
लिगमा जस्तो नतिजा आए पनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलङ्गा लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।