Breaking

मन्त्री र राजदूतको अस्वभाविक भेटघाट, गृहमै विदेशीको चासो


काठमाडौँ – नयाँ सरकार गठन हुनासाथ काठमाडौंस्थित विभिन्न देशका कुटनीतिक नियोगहरुको सक्रियता ह्वात्तै बढेको छ । सत्ता समीकरण परिवर्तन भएपछि नवगठित सरकार र सरकारका मन्त्रीहरुलाई बधाई दिन राजदूतहरूको दौडधूप तीव्र छ । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मै भएको भेटमा परराष्ट्र मन्त्रालय अनुउपस्थित हुनु ? र मन्त्रीहरुसँग राजदूतहरुको भेट बाक्लिनु अहिले बहसको विषय बनेको छ ।

गत असार ३० गते मुलुकको ४५ र्औ प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते (सोमबार) राष्ट्रपति निवास शीतलनिवास पुगेर २१ मन्त्रीसहित एकसाथ शपथ ग्रहण गरे । शपथ ग्रहण लगत्तै प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीहरुले सोमबार नै पदभार ग्रहण गरे । एकाध बाहेक आ–आफ्नो जिम्मेवारी सम्हालेका मन्त्रिपरिषदका सबै सदस्यहरु कम्तिमा सातादिन खादा, फूलमालासहितको बधाई थाप्नमै व्यस्त हुनु सामान्य बनिसकेको छ ।

तर नयाँ सरकार गठनसँगै काठमाडौंस्थित छिमेकी मुलुकका राजदूतहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुको कोठा–कोठा पुगेर दिएको बधाई तथा भेटघाट भने अस्वभाविक देखिन्छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चेन सोङ शिष्टाचार भेटको रिले दौडमा छन् ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तव र चिनियाँ राजदूत सोङले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहणलगत्तै शीतलनिवासमै बधाई दिएका थिए । यद्यपि राजदूत श्रीवास्तव सोही दिन साँझ सिंहदरबार पुगेर ओलीसँग शिष्टाचार भेट गरे । प्रधानमन्त्रीबाट नै शिष्टाचार भेट र बधाईको शृङखला सुरु गरेका राजदूतहरु आलोपालो गरेर प्रत्येक मन्त्रीको कोठा–कोठा पुगेर भेट गरिरहेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीसँग भेट गरेका भारतीय राजदूत श्रीवास्तवले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवा र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरे । बुधबार गृहमन्त्री रमेश लेखक र ऊर्जामन्त्री दीपक खड्कासँग पनि उनले भेटे । उनले मन्त्रीहरुको कार्यकक्षमै पुगेर भेट गरेका हुन् । शिष्टाचार भेटमा अरु मुलुकलाई उछिनेका राजदूत श्रीवास्तको प्राथमिकता कांग्रेसका मन्त्रीहरु परेका छन् ।

शिष्टाचार भेटमा श्रीवास्तवको पछि पछि देखिएका नेपालका लागि चिनियाँ राजदूत सोङले बुधबार मन्त्रालयमै पुगेर परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेटवार्ता गरे । बिहीवार उपप्रधान तथा सहरी विकासमन्त्री सिंहलाई कार्यकक्षमै पुगेर उनले भेट गरे । अमेरिकी राजदूत डिन आर थप्सनले परराष्ट्रमन्त्री राणा, गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । प्रधानमन्त्रीसँग नै भेट गरेपछि फुर्सदिला मन्त्रीहरुले राजदूतलाई भेट दिनै प¥यो । यो फुर्सदिला भेटघाट अझै केही दिन आलोपालो चल्ने पक्का छ ।

अझ राजदूतहरुसँगको भेटमा प्रधानमन्त्री ओलीदेखि मन्त्रीहरुले समेत परराष्ट्रमन्त्रालयलाई पूर्ण रुपमा बाइपास गरेको देखिन्छ । परराष्ट्रमन्त्री राणासँगको भेटमा बाहेक अन्य सबै शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु उपस्थित नै भएनन् ।

जब कि राजदूतहरुले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नै पर्ने आचारसंहिताको सरकारमा रहेका मन्त्रीहरु आफैँले धज्जी उडाएका छन् । नेपालका राजनीतिक दलका नेता वा उच्चपदस्थ व्यक्तिहरुसँग भेट्दा परराष्ट्र मन्त्रालयमार्फत भेट्नु पर्ने नियम नै बनाइएको छ । तर यसलाई कुटनीतिक क्षेत्रका जानकारहरु हेपाहा प्रवृत्तिको परकाष्ट भएको तर्क गर्छन् ।

नयाँ सरकार नयाँमन्त्री भएपछि भेटेर बधाईं लिनु र दिनु अन्यथा नहोला । यद्यपि सामान्य कुटनीतिक मर्यादासमेत पालना नगरी हतासमा हुने यस्ता भेटहरुले शंका पैदा गर्ने काम गरिरहेको छ । साथै, यस्ता भेटले देश विकासमा सहयोग पुग्ने र दौंत्य सम्बन्ध थप सुदृढ हुनेभन्दा पनि स्वार्थ समूहको चलखेल बढेको रुपमा बुझ्न सकिन्छ । तसर्थ, विदेशी कुटनीतिज्ञहरुलाई भेट दिने विषयलाई सरकारका मन्त्रीहरु स्वयम्ले आत्मसमीक्षा गर्नु जरुरी देखिन्छ ।