Breaking

ओली–देउवा मिल्दा जिल्ला जिल्लाका उद्योगी उत्साहित, वातावरण बनाइँदिए उद्योगले फड्को मार्ने अपेक्षा


संसदका दुई ठूला राजनीतिक दलको नयाँ सरकार बनेसँगै आमनागरिकले देशको विकासले गति लिने अपेक्षा राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते राति सत्ता समीकरणको सहमति भएको थियो । सत्ता समीकरण बनेसँगै आमनागरिक, उद्योगी, व्यवसायी, राजनीतिकर्मी र विभिन्न पेशा व्यवसायीहरु सरकारमा स्थायित्व कामय हुने र त्यसको परिणाम फलदायी हुनेमा विश्वस्त छन् ।

देशका दुई ठूला राजनीतिक दलबीचको सत्ता समीकरणले राजनीतिक स्थायित्व दिने विश्वास आमनागरिकमा बढेको छ । हरेक ४ देखि ६ महिनामा सत्ता समीकरण परिवर्तन र राजनीतिक अस्थिरताले नेपाली नागरिक निराश बन्दै आएका थिए । तर संसदमा प्रतिनिधित्व गर्ने दुई ठूला दलहरु नै मिलेर सरकार बनाएसँगै मुलुकमा देखिएको आर्थिक संकट समाधान हुने र उद्योग व्यवसायमा सहजता आउने अपेक्षा व्यवसायीको छ ।

एमाले र काँग्रेसको सत्ता समीकरणबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन । ओली नेतृत्वको सरकारले अर्थतन्त्रमा देखिएको शिथिलता र उद्योगी व्यवसायी तथा आम सर्वसाधरणमा देखिएको निराशा कम गर्न बोल्ड निर्णय लिन आवश्यक रहेको उनीहरुको भनाइ छ । उद्योगी व्यवसायी तथा आम नागरिकले पार्टीका सांसदहरुलाई मन्त्री बनाउनका लागि मात्रै समीकरण बन्न नहुने बताएका छन् ।

वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईंले आर्थिक रुपमा सुधार हुने आशा रहेको बताए । उनले जनताले परीक्षण गरेका दल भएकाले विगतमा गरेका कामले धेरै आशा गर्ने अवस्था नभएको टिप्पणी गरे ।

वीरगञ्ज वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले मनोबल खस्किएको निजी क्षेत्रमा नयाँ सरकार बनेसँगै आशा जागेको बताए । उनले विगतमा सानो दलले सरकार चलाएकाले अस्थिरता भएको भन्दै अब दुई ठूला दल मिलेर बहुमतको सरकार बनेकाले राम्रो हुने अपेक्षा रहेको बताउँदै मौद्रिक नीतिबाट निजी क्षेत्रको मनोबल उकास्न आवश्यक रहेकोमा जोड दिए ।

चिकित्सक, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेशसिंह धामीले पनि पछिल्लो दुई वर्षमा अहिलेसम्मकै स्थायी सरकार बनेको बताए । सरकारमा स्थायित्व भएसँगै जनता, उद्योगी र व्यवसायीमा उच्च मनोबल बढेको र आर्थिक सबलीकरण हुने उनको अपेक्षा छ ।

आर्थिक संकटदेखि हरेक क्षेत्रमा बेथिति, हरेक क्षेत्रमा निराशा भएको अवस्थामा दुई ठूला दल मिलेर सरकार बनेकाले सरकारले स्थायीत्व दिनेमा जनता र व्यवसायी आशावादी छन् । तर सत्ता स्वार्थका लागि जुन कुनै समयमा कुनै पनि दलसँग मिल्न जाने परिपाटीका कारण यो समीकरण पनि कति दिन टिक्छ यसै भन्न सकिने अवस्था छैन । यद्यपि, नागरिकमा बढ्दै गएको निराशालाई आशामा बदल्न यो सरकारमाथि दबाब रहेकाले फेरि पनि पटक पटक अस्थिरता पैदा हुने कदम चाल्न उनीहरुका लागि कुनै पनि छुट छैन ।