Breaking

रास्वपामा ठगहरुको गिरोह !, रविपछि इन्दिरा संकटमा, पैसाको नाममा नेताको बद्नामी


जन्मदै विवादित भएर राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी आजसम्म पनि विवादबाट मुक्त हुन सकेको छैन । चुनाव चिह्न र नामसमेत आयातित भन्दै विवाद खेप्नु परेको रास्वपाका आधा दर्जनभन्दा बढी नेताहरू विवादित बन्दा पार्टीको भविष्य नै सङ्कटमा परेको छ ।

जसरी छोटो समयमा नै राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा उदाएर कीर्तिमान राखेको थियो । त्यसैगरि छोटो समयमै धेरै बद्नामको अर्काे कीर्तिमानी दर्ज गराउन पार्टी सफल भएको छ । स्थापना भएको दुई वर्ष बित्दै गर्दा रास्वपामा विवादको पहाड नै बनेको छ ।

पार्टी पदाधिकारीदेखि सांसद् र मन्त्रीहरू पटक पटक बद्नाम बनेका छन् । पार्टीको ‘फस्र्टम्यान’ सभापतिदेखि सुरु भएको बद्नामको श्रृङ्खला अझै रोकिएको छैन । रास्वपाकै भागबाट उपसभामुखको कुर्सीमा पुगेकी इन्दिरा रानामगरले केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको सिफारिस पत्रले उनी अहिले विवादमा तानिएकी छन् ।

आफ्नो ओहोदाको दुरुपयोग गरेको भन्दै उपसभामुख रानामगर अहिले गम्भीर विवादमा परेकी हुन् । संवैधानिक परिषद्को सदस्य नै बद्नाम बन्दा यसले राष्ट्रिय राजनीतिमा तरङ्ग त ल्याएको छ नै पार्टीभित्र पनि हलचल मच्चिएको छ । उनी विवादित बनेको यो नै पहिलो पटक भने होइन । यसअघि पनि उपसभामुखले पाउने सेवा सुविधा कम भएको भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिएपछि उनी विवादित बनेकी थिइन् । पार्टीका सांसदहरू विवादित हुँदै गर्दा सभापति रवि लामिछानेलाई झन् विवादकै पर्यायभन्दा फरक पर्दैन ।

पहिलोपटक नागरिकता र राहादानीको विषयले विवादमा परेका उनी उक्त मुद्दामा अदालतबाट क्लिन चिट पाइसक्दा पनि विवादले उनलाई पछ्याउन छोडेको छैन । उपनिर्वाचन ताका आफ्नै चालक शम्भु भनिने डिलबहादुर थापाको छतबाट खसेर मृत्यु भएको वर्षदिन बितिसक्दा पनि अझै सत्यतथ्य पत्ता लगाउ नसकेको भन्दै उनी विवादको घेरामा परिनै रहेका छन् । विवाद मुक्त हुनै नसकेका सभापति लामिछाने अहिले सहकारी ठगी प्रकरणले बद्नाम बन्दा झनै बेचैनी बढेको छ ।

रवि पछि बद्नाम बत्रे श्रृङ्खलालाई जारी राख्ने अर्का पात्र हुन् रास्वपाबाट समानुपातिक सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठ । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीकै अनुसन्धान समितिले दोषी ठह¥याएपछि श्रेष्ठले साधारण सदस्यसमेत नहुने गरि सांसद पदबाटै हात धुनु परेको थियो ।

निलम्बनमा परेका ढाकाले रास्वपाको कोर टिमले नै मन्त्री बन्नका लागि तीन करोड मागेको खुलासा गरेपछि पार्टीभित्र खैलाबैला मच्चिएको थियो । त्यस्तै सभापतिको लेगेसीलाई पच्छ्याउँदै उपसभापतिद्वय पनि अग्रपंतिमा नै छन् । उपसभापति डोलप्रसाद (डीपी) अर्याल पनि सहकारी विवादमा मुछिदा अर्का उपसभापति स्वर्णिम वाग्ले आर्थिक भार कम गर्न नेपाली सेना हटाउनु पर्ने अभिव्यक्तिले विवादित बनेका थिए । अहिले फेरि अनुशासनको कारबाहीमा परेर निलम्बित भएका महासचिव मुकुल ढकाल पनि विवादित बनेका छन् ।

आईसीयूभित्र क्यामेरा तेस्र्याएर आत्मदाह गरेका बिरामीको शैय्याबाटै भिडियो सार्वजनिक गरेर तोसिमा कार्की विवादित हुँदा अर्की सांसद सोविता गौतम आफ्नो वैैवाहिक कारणले आलोचनाको सिकार बनिन् । थाल माझेको र सिलाएको सर्ट लगाएको भिडियो, फोटोले चर्चाको पात्र बनेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पनि दोहोरो नागरिकतको विवादमा तानिँदा स्पष्टीकरण दिन बाध्य भइन्् ।

जनताको विश्वसनीयता र पारदर्शिता कायम गर्नु पर्ने रास्वपाका नेताहरू यसरी विवादै विवादमा फस्दै जानु पक्कै पनि सकारात्मक पक्ष होइन भने पार्टीको भविष्य नै समाप्त हुने विश्लेषण हुन थालेको छ ।

पार्टी जीवन्त भएपछि विवाद आउनु वा हुनु कुनै नौलो कुरो होइन । तर पार्टी स्थापनाको छोटो सयममा नै आधा दर्जनभन्दा बढी नेता विवादमा तानिनुले जनताको विश्वसनीयता गुम्ने खतरा बढ्दै गएको छ । वैकल्पिक शक्ति भनेर उदाएको रास्वपाका चर्चित अनुहार नै श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्काे विवादमा मुछिनुले हिजो पुराना राजनीतिक शक्तिले चुनौती ठानेका उनीहरु अहिले मजाकका पात्र बनेका छन् ।