Breaking

ट्रम्पको आक्रामक चुनाव प्रचार, बाइडेन पछि हट्ने संकेत


काठमाडौँ – आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं राष्ट्रपति जो बाइडेनमाथि उम्मेदवार नबन्न दबाब बढ्न थालेको छ । बाइडेनले चुनाव नजित्ने भन्दै आफ्नै पार्टीभित्र आवाज बलियो बन्दै गएको छ । यो अवस्थामा बाइडेन चुनावी मैदानबाट बाहिर आउलान् ?

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चुनाव आगामी नोभेम्बरमा हुँदैछ । अघिल्लो चुनावमा भिडेका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पबीच नै यसपटक पनि मुख्य प्रतिस्पर्धा हुँदैछ । बाइडेन र रिपब्लिकन पार्टीका नेता ट्रम्पले आ–आफ्नो तवरले दु्रत गतिमा प्रचारप्रसार गरिरहेका छन् । चुनावी मैदानमा होमिएका यी दुई नेतामध्ये एकले आगामी चार महिनापछि शक्ति राष्ट्र अमेरिकाको नेतृत्व गर्नेछन् ।

त्यसो त चुनावी सर्गमीकाबीच बाइडेनलाई चुनावमा भाग नलिन आफ्नै पार्टीभित्र दबाब छ । डेमोक्रेट नेताहरूले खुलेरै ८१ वर्षे बाइडेनलाई नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति पदको उम्मेदवार नबन्न आह्वान गरेका छन् । गत जुनमा ट्रम्पसँगको सार्वजनिक बहसमा बाइडेन फितलो रूपमा प्रस्तुत भएपछि उनीहरूको त्यस्तो धारणा आएको थियो । तर बाइडेनले चुनाव लड्ने र जित पनि आफ्नै पक्षमा रहने दाबी गर्दै आएका छन् ।

बाइडेको जिद्धीमा कसैको केहि लागेन । तर बाइडेनलाई यतिबेला अर्को झट्का लागेको छ । अमेरिकाका पूर्व राष्ट्रपति एवं डेमोक्रेट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा बाइडेनले जित्न गाह्रो हुने प्रतिक्रिया दिएका छन् । ओबामाले आफ्ना सहकर्मीहरुसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन् । ट्रम्पविरुद्धको बहस पछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउने माग बढ्दै गएको छ । अब यो सूचीमा सबैभन्दा शक्तिशाली डेमोक्रेट नेता ओबामाको नाम पनि थपिएको छ ।

प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले अब चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छन् । एपी, एनओआरसी सर्वेक्षणका अनुसार ६५ प्रतिशत डेमोक्रेटिक मतदाता पनि बाइडेनको विपक्षमा छन् । ६७ प्रतिशत गोरा मतदाताले बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकाको कुल ३३ करोड जनसंख्यामध्ये ६० प्रतिशत गोरा मतदाता छन् । पार्टी नेता र सहयोगीहरूको बढ्दो दबाबका कारण राष्ट्रपति बाइडेनले यस हप्ताको अन्त्यसम्ममा आफ्नो उम्मेदवारीबारे पुनर्विचार गर्ने सम्भावना अमेरिकी समाचार वेबसाइट एक्सियोसले उल्लेख गरेको छ । हुन पनि गत शनिबार साँझ पेन्सिलभेनियामा चुनावी ¥यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहार पछि ट्रम्पको झनै लोकप्रियता बढ्दै गएको छ । यता बाइडेन भने चुनाव नजिकिएसंगै झनै समस्यामा फस्दै गएका छन् । एकातर्फ पार्टीभित्र दबाब, अर्कोतर्फ उमेरको चिन्ता । यस्तो अवस्थामा बाइडेनले चुनाव लड्छन् वा चुनावी मैदानबाट पछि हट्छन् ? यसै भन्न सक्ने अवस्था नभएपछि पार्टी भित्रै बढ्दो दबाबले उनलाई पक्कै पनि अफ्ठ्यारो भने पारेको छ ।