Breaking

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीले दिए औपचारिक बधाई-पत्र


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक बधाई-पत्र पठाएका छन्। मंगलबार भारतीय प्रधानमन्त्री मोदीले दुई पृष्ठ लामो पत्र लेखेर प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले बधाई पत्रमा पछिल्ला वर्षहरूमा द्विपक्षीय सहयोगमा प्रगति भएको उल्लेख गरेका छन्। बधाई पत्रमा दुई देशबीच केही वर्षयता कनेक्टिभिटी, ऊर्जा, विकास सम्बन्धी साझेदारी र मानिसहरूबीच आदानप्रदानका क्षेत्रमा सुधार देखिएको उल्लेख गरेका हुन्।

‘पछिल्ला वर्षहरूमा कनेक्टिभिटी, उर्जा, विकास साझेदारी र आम-मानिसबीचको आदानप्रदानको क्षेत्रसहित द्विपक्षीय सहयोगमा प्रगति भएको छ। हामीले यस यात्रामा महामहिमको योगदानको सधैँ कदर गरेका छौं,’ बधाई पत्रमा मोदीले लेखेका छन्। परराष्ट्र नीति अन्तर्गत मोदी प्रधानमन्त्री भएपछि सन् २०१४ मा ‘नेबरहुड फर्स्ट’ अर्थात छिमेकी पहिलोको नीति सुरू भएको थियो। त्यही नीति अनुसार नेपाल विशेष र प्राथमिकताका साझेदार रहेको पनि मोदीले उल्लेख गरेका छन्।

‘भारतको छिमेकी पहिलो नीति अनुसार नेपाल विशेष र प्राथमिकताका साझेदार रहन्छ, र मेरो नेतृत्वको सरकार हाम्रो पारस्परिक लाभकारी साझेदारीलाई सुढृद गर्दै र सहकार्यका नयाँ बाटो खोज्दै आर्थिक समृद्धि र विकासका प्राथमिकताहरू हासिल गर्न नेपालको स्थिर साझेदार हुन प्रतिबद्ध छ,’ मोदीले भनेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको सरकार र अनुभवले दुई मित्र राष्ट्रबीचको सहकार्यले दुबै देशका जनताको हितका लागि सकारात्मक दिशामा लैजान सक्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन्। आफू प्रधानमन्त्री ओलीसँग नजिकै रहेर काम गर्न चाहेको पनि मोदीले बताएका छन्। यसरी नेपाल-भारतको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरे।

अन्त्यमा मोदीले शुभकामना दिँदै सु-स्वास्थ्य र नेपाली जनताको प्रगति र समृद्धिको कामना गरेका छन्। यसो त मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत पनि ओलीलाई बधाई दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। सोमबार ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए।