Breaking

विश्वभर कम्प्युटर नेटवर्क डाउन भइरहँदा नेपालमा समेत समस्या देखियो


काठमाडौँ— विश्वभर कम्प्युटर नेटवर्क डाउन भइरहँदा नेपालमा समेत समस्या देखिएको छ । माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लू स्क्रिन अफ डेथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

पेमेन्ट र सेटलमेन्ट क्लियर गर्ने सरकारी वित्तीय संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का कम्प्युटहरूमा समस्या देखिएको हो ।

एनसीएचएलका सीईओ निलेसमानसिंह प्रधानले केही कम्प्युटरमा समस्या देखिएको बताए । साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकको फाल्कोन क्राउडस्ट्राइक नामक एन्टिभाइरस सफ्टवेयर प्रयोग भएका कम्प्युटर डाउन भएको उनले बताए । अन्य कारोबारसम्बन्धी काममा कुनै समस्या नभए पनि प्रयोगकर्ताले काम गर्न नपाएको उनको भनाइ छ ।

“विश्वभर झैँ हाम्रो पनि केही कम्प्युटरमा समस्या देखिएको छ । फाल्कोन क्राउडस्ट्राइक एन्टिभाइरस सफ्टवेयरमा अपडेट आएपछि यो समस्या आएको देखिन्छ,” एनसीचएलका सीईओ प्रधानले भने ।

एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि त्यसको प्रयोग गरिएका कम्प्युटरमा समस्या आइरहेको बताइएको छ । यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौँ देशमा विमानस्थल, बैंक, अस्पताल, यातायात, लगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।