Breaking

शक्तिशाली बन्दै ओली, रविसँग खोजे विश्वासको मत, प्रचण्ड–माधव भने प्रतिपक्षमै


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । संसदको सबै भन्दाठूलो दल नेपाली कांग्रेस र अन्य दुई साना दलको समर्थनमा प्रधानमन्त्री बनेका ओली बहुमतको विश्वास बटुल्ने कसरतमा लागेका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका साथै एमाले र अन्य दुई साना दल सहभागी सरकारको नेतृत्व ओलीले गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएको साता दिनभित्रै विश्वासको मत लिने हतारोमा देखिएका छन् । ओलीको प्रधानमन्त्री नियुक्ति पद बदरको माग गर्दै सर्वोच्चमा रिटसमेत परेको छ ।

उक्त रिटको पेसी ६ गते नै छ । अर्कोतर्फ प्रतिपक्षीहरु सल्बलाउन थालेका कारण पनि ओलीले रिस्क लिन नचाहेको र हतारमा विश्वासको मत लिने दाउमा देखिन्छन् । ओली दुई तिहाईको विश्वास बटुल्ने रणनीतिसहित अघि बढेका छन् ।

२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ भने ओलीले चाहेको दुई तिहाई कम्तिमा १ सय ८४ सांसदको समर्थन चाहिन्छ । संसदको अंकगणित हेर्दा कांग्रेसको ८८ एमालेको ७८, सरकारमा सामेल भइसकेका अशोक राई नेतृत्वको जसपाको ७, महन्त ठाकुर नेतृत्वको लोसपाको चार गरी ओलीसँग १ सय ७७ मत सुरक्षित छ । दुई तिहाईका लागि ७ मत आवश्यक पर्छ । आवश्यक सात सांसद जुटाउन सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमाथि ओलीको आशा छ ।

संसदमा जनमतको ६ सांसद र नाउपाको ४ सांसद छ । ओली क्याबिनेटमा राज्यमन्त्री पद मात्र बाँकी रहेकाले उनीहरु सरकारमा सहभागी हुने वा नहुने द्विविधामा छन् । मधेशमा सरकार जगाई दिएको गुण तिर्नका लागि भए पनि सीके राउतको जनमतले आफूलाई केन्द्रमा समर्थन गर्ने विश्वास ओलीको छ । ५ सांसद रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारमा सहभागी नहुने तर ओलीलाई विश्वासको मत दिने तयारीमा छ । प्रतिपक्षीको समूह समाजवादी मोर्चाको बैठकमा सहभागी नभई चुपचाप बसेका उपेन्द्रले ओलीलाई समर्थन गर्ने संकेत गरेका छन् । जसले गर्दा ओलीलाई दुई तिहाई कटाउन त्यति कठिन देखिँदैन ।

कांग्रेस एमालेको सहकार्यमा सकारात्मक राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि ओलीलाई विश्वासको मत दिने अपेक्षा गरिएको छ । राप्रपाले पनि ओलीलाई समर्थन गरे दुई सय मत कट्ने निश्चित छ । यसबाहेक सदनमा सत्तापक्षमा हुँदा होस् या प्रतिपक्षमा हुँदा यसअघिको सरकारलाई सघाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ओलीलाई समर्थन गर्छ वा गर्दैन अहिलेसम्म निश्चित छैन ।

यद्यपि, रास्वपामाथि पनि ओलीले आशा राखेको बुझिन्छ । तर, प्रचण्ड नेतृत्वको सरकारलाई अन्तिमसम्म साथ दिएको रास्वपाले सरकार छाड्दै गर्दा नयाँ सरकारमा सहभागी नहुने निर्णय भने गरेको थियो । प्रधानमन्त्री ओलीलाई गुण लगाउन भए पनि २१ सिट रहेको रास्वपाले ओलीलाई समर्थन गर्दैन भन्न सकिँदैन । प्रधानमन्त्री ओलीलाई ३२ सिट रहेको माओवादी, १० सिट रहेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी, एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले भने ओलीको विपक्षमा मतदान गर्ने पक्का छ ।

पहिलो र दोस्रो दल मिल्दा स्वत शक्तिशाली प्रधानमन्त्रीको रुपमा कमब्याक गरेका ओलीले सदनमा सहजै बहुमत पाउने भने निश्चित छ । संसदबाट उनले पाउने समर्थनले तत्कालका लागि उनी शक्तिशाली प्रधानमन्त्री बने पनि त्यसको प्रभाव र उनले दिने आगामी नतिजा कस्तो हुन्छ ? त्यो भने पर्ख र हेरकै अवस्थामा छ ।।