Breaking

ओलीको जबरदस्त टिम, पाँच मन्त्री चम्किए चमत्कार


देशका दुई प्रमुख शक्ति मिलेर बनेको नयाँ सरकार जनतामा आशा जगाउने अन्तिम विकल्प हो । किनभने स–साना सबै दलले धेरैपटक चलाएको सरकार फेल भइसकेका छन् । दुई ठूला दलहरु मिल्दा पनि सकारात्मक नतिजा नआए देशमा झनै अस्थिरता बढ्ने आंकलनका बीच कसरी सफल हुन सक्छ वर्तमान सरकार ।

लोकतान्त्रिक मूल्य मान्यताविपरीत सुशासन र स्थिरता दिने नाममा बनेको सरकारको परीक्षा सुरु भइसकेको छ । विगतमा दुुई तिहाईकै सरकार चलाएका केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि खासै बोलेका पनि छैनन् । सुरुवाती समयमा मन्त्रीहरुलाई समय नै तोकेर नतिजा देखाउन निर्देशन दिएका ओलीले अख्तियार प्रमुखलाई पनि हठात्मै बोलाएर छलफल गरेका थिए ।

पहिलेजस्तो काम गर्दा पार्टीकै असहयोगको अवस्था अहिले नरहेकाले केही नतिजा दिने दाबीसमेत ओलीले गरेका थिए । तर, काण्ड मिलाउनकै लागि बनेको आरोप लाग्ने मन्त्रिमण्डलले सुशासनको प्रत्याभूति कसरी गराउँछन् चुनौती छ । त्यसमाथि दुई ठूला दल मिल्नुपर्ने आवश्यकताबारे भएको सहमति पत्र सार्वजनिक नगरिनुले स्थिरताको पनि टुंगो नहँुदा जनता आश्वस्त भइसकेको अवस्था छैन ।

यी पाँच मन्त्रालय हुन् जसले ओलीको प्रधानमन्त्री, उनी नेतृत्वको सरकार र दुई दल मिल्दाको नतिजाको निक्र्यौल गर्नेछ ।
१. गृह मन्त्रालय, रमेश लेखक

प्रतिपक्षमा हुँदा निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि नै प्रश्न उठाएर मन्त्री उपहार पाएका लेखकमाथि कम्ता चुनौती छैन । उनी आफैँ पनि कानुनका ज्ञाता र अघिल्लो गृहमन्त्रीका गतिविधि नजिकबाट नियालेकाले सकारात्मकताको अपेक्षा गर्न सकिन्छ । जुन मन्त्री बने पछि उनका संयमित प्रतिक्रियाले पुष्टि गरिरहेको छ । सुदूरपश्चिमको राजनीतिमा देउवा पछिको बाटो पक्रिरहेका उनलाई आफ्नै राजनीतिक भविश्यका लागि समेत केही काम गरेर देखाउनुपर्ने मौका मिलेको छ । त्यसमाथि चलिरेहका अनुसन्धानलाई मूर्तरुप दिँदै फाइल खोलेकै कारण सरकार ढलेको भाष्य चिर्नु भने उनका लागि चुनौतीपूर्ण छ । सहकारी पीडितलाई न्याय दिने, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचार र आपराधिक गतिविधिमा निर्मम् बन्नु पनि चुनौतीपूर्ण छ । त्यसमाथि आफ्नै वरिपरि रहेका फोहोरलाई सफा गर्दै सुशासन स्थापित गर्नु पनि उनका लागि चुनौतीपूर्ण छ ।

२. अर्थ मन्त्रालय, विष्णु पौडेल

आठौँपटक मन्त्री बनेका पौडेल, पाचौँपटक अर्थमन्त्री बनेका छन् । चाहेकै मन्त्रालय पाएकाले विगतका अनुभवलाई पनि प्रयोग गर्दै सबै शक्ति अर्थतन्त्र सुधारमा लगाएर सकारात्मक सन्देश प्रवाह गर्ने उनलाई मौका छ । लामो समयदेखि ठेकेदारले नपाएको रकम दिने आशा सञ्चारदेखि पुँजीबजारमा आएको सकारात्मकता देखिइसकेको छ । ऋण लिएर कर्मचारी पाल्नुपर्ने, कमजोर पुँजीगत खर्च र राजश्व संकलनमा सुधार गर्दै लगानीकर्तालाई लगानीको वातावरण बनाउनु पर्ने चुनौतीमा उनी छन् ।
३. परराष्ट्र मन्त्रालय, डा. आरजु राणा
अहिलेको मन्त्रिमण्डलमा सबैभन्दा विवादित पात्र नै आरजु राणा देउवा हुन् । व्यक्तित्वका हिसाबले उनीमाथि कैयन प्रश्न रहे पनि रोजेकै मन्त्रालय पाएपछि नतिजा दिने चुनौती उनीमाथि छ । मन्त्री बन्नुपूर्व नै छिमेकी देशहरुमाझ एकखालको सम्बन्ध बनाइसकेकी आरजुले चाहेको खण्डमा धेरै गर्न सक्ने अवसर छ । अहिले ठूला दल मिल्दा छिमेकी देशहरु नै सशंकित भइरहेका बेला विदेश नीतिमा सन्तुलन मिलाउनु नै उनको सबैभन्दा ठूलो चुनौती हो । त्यसमाथि एन्टी इन्डियन ओली प्रधानमन्त्री भएका बेला प्रो इन्डियन मानिने आरजुमाथि सन्तुलित सुमधुर सम्बन्ध राख्नु चुनौतीपूर्ण छ ।
४. स्वास्थ्य मन्त्रालय, प्रदीप पौडेल
युवा जोश र नयाँ पुस्ताप्रति जनताको आशा मर्न नदिनु नै प्रदीपका लागि चुनौती र अवसर हो । यसअघि स्वास्थ्य मन्त्रालयमै रहेर केही सकारात्मक गर्न खोजेका गगन थापाकै लय पक्रने अवसर पनि प्रदीपमाथि छ । उनै गगनको कार्यकालमा भएका नीतिगत विषय कार्यान्वयन गर्न सके सम्झिनलायक काम गर्न सक्ने अवसर प्रदीपसामु छ । आकस्मिक उचार गर्नुपर्ने बिरामी नै सरकारी अस्पतालको लाइनमा बस्नुपर्ने, अस्पतालको भिडभाड, उपचारका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता र घरखेत बेचेर उपचार गर्नुपर्ने बाध्यताबाट जनतालाई मुक्त गर्न सके प्रदीपसँगै सरकार पनि सफल हुनेछ ।
५. शिक्षा मन्त्रालय, विद्या भट्टराई
शिक्षा क्षेत्रमा पूर्वमन्त्री सुमना श्रेष्ठले केही आशा जगाउने काम गरेकी छन् । त्यसमाथि विद्या भट्टराई विगतमा प्राध्यापक भइसकेकाले पनि उनीसँग शिक्षा सुधारका धेरै अपेक्षा गरिएको छ । शिक्षणका समय भोगेका समस्याको औषधोपचार गर्ने स्वर्णिम अवसर भट्टराईलाई मिलेको छ । शिक्षा क्षेत्र राजनीति हस्तक्षेपमुक्त बनाउने, शैक्षिक क्यालेण्डर लागु गर्ने, शिक्षकहरुलाई राजनीतिको मूलप्रवाहबाट टाढै राख्ने सुमनाको कार्यकालका निर्णय कार्यान्वयन भट्टराईका लागि चुनौतीपूर्ण हो ।

यी पाँच मन्त्रालयको सफलतालाई मात्रै सरकारको पूर्ण सफलता मान्न भने सकिँदँैन । बाँकी मन्त्रालयको पनि आ–आफ्नो क्षेत्रमा सरकारलाई सफल बनाउन उत्तिकै भूमिका हुन्छ । तर, यी पाँच मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले मन्त्रालयकै सफलतालाई पनि सरकारको सफलताका रुपमा हेर्न सकिन्छ । यसबाहेक झण्डै दुई तिहाइको यो सरकारसँग, अस्थिरताको घनचक्करबाट देशलाई निकाल्दै राज्यप्रति नै युवाहरुको विश्वास गुम्दै गएका बेला सकारात्मक थिति बसाल्दै त्यो आशा फर्काउनु महत्वपूर्ण कार्यभार हुनेछ ।