Breaking

गृह गुमेपछि कसरी जोगिएलान् रवि ? लेखकले भने– छोडिन्न


रवि लामिछानेले गृहमन्त्रालयको नेतृत्व सम्हाल्दै गर्दा सहकारी ठगीको मुद्दामा सत्ताको शक्ति देखाएको भत्रे आरोप निक्कै खेप्नुपरेको थियो । रविविरुद्धको अग्रपंतिमा नेपाली कांग्रेसका नेताहरू हुने गर्थे । अब सबैभन्दा बढी कड्किने कांग्रेसकै हातमा गृहको तालाचाबी पुग्दा रविको मुद्दा कसरी अघि बढ्छ जिज्ञासा बढिरहेको छ ।

नयाँ बनेको समीकरणको सरकारमा नेपाली कांग्रेसले गृहमन्त्रालय सम्हालेसँगै अधिकांश नेपाली नागरिकको नजर त्यतैतिर घुम्न थालेको छ । कारण हो, गृहमन्त्रालयमा रमेश लेखकको नियुक्ति । पछिल्लो तीन महिनादेखि सहकारीको रकम अपचलनलाई लिएर आफूविरुद्ध परेको उजुरीमा प्रहरीले गरिरहेको अनुसन्धान रोकेको भन्दै कांग्रेसले तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर प्रश्न उठाउँदै आएको थियो ।

रविमाथि निरन्तर प्रश्न उठानेमध्येका एक कांग्रेस प्रमुख सचेतक लेखक नै जवाफ दिने ठाउँ गृहमा पुग्दा उनको आगामी कदमप्रति आमनागरिकको ध्यान केन्द्रित भएको छ । कांग्रेसले गरेको प्रधानमन्त्रीको अफरलाई लात हानेका लामिछानेलाई गृहमन्त्री बनाएकै कारण दुई महिनाभन्दा बढी संसद् अवरोध गरेको कांग्रेस नै अब सत्तामा हुँदा रविको मुद्दा किनारा लगाउनु पर्ने बाध्यता छ ।

सत्ताको आडमा जोगिएको आरोप खेपेका लामिछाने सत्ताबाट बहिर्गमन भइसकेका छन् । अब रविले भनेको न प्रहरी प्रशासनले टेर्नु पर्ने बाध्यता छ न त राज्य सत्ता नै उनको हातमा छ । न त अहिले सदनको अङ्क गणित हेर्दा भोलिका लागि रविको आवश्यक पर्ने जस्तो नै देखिन्छ ।

रविसँग नाम जोडिएका सहकारी ठग जीबी राईलाई उनले अब चाहेर पनि लुकाउन सक्ने अवस्था छैन । त्यसैले अहिले रविविरुद्ध सबैभन्दा बढी उछितो काट्ने गृहमन्त्री लेखकले चाहेअनुसार नै अनुशन्धान अघि बढ्न सक्ने अवस्था छ । यस्तोमा सदनदेखि सडकसम्म रवि नै सहकारी ठग भएको भाष्य निर्माण गरेको कांग्रेसलाई सरकारबाट बाहिरिँदै गर्दा रविले सदनमै आफूलाई जेल हाल्न चुनौती दिएका थिए ।

रवि मुछिएको कास्कीको सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक सूर्यबहादुर मगरलाई तत्कालीन गृहमन्त्री रविले अनुसन्धान रोक्ने उद्देश्यले समय नपुग्दै सरुवा गरेको कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सदनमा नै आरोप लगाएका थिए । गृहमन्त्री हुँदा ताका सहकारी पीडितको मुख थुन्न प्रहरीले रविविरुद्धको उजुरी लिन नमानेको कांग्रेसको आरोप छ ।

अब रविको पक्षमा बयान दिएका प्रहरी प्रमुख बसन्तबहादुर कुँवर पनि लेखककै निर्देशनमा चल्ने छन् । गगन, विश्वप्रकाश र लेखकले भनेजस्तै आफूसँग जोडिएका प्रत्येक मुद्दाका प्रमाण लुगाउने ठाउँमा अब रवि छैनन् । गृहमन्त्रीले प्रतिपक्षीमा हुँदाको बखत जसरी रविलाई दोषी करार गरेका थिए । त्यसलाई सावित गर्नुको विकल्प अब उनीसँग छैन । तर, अहिले रवि र रमेशको जिम्मेवारी फेरिएको छ । सत्ता र प्रतिपक्षमा हुँदा देखिएको यी दुईबीचको टसल मात्र आफ्नो धर्म निर्वाह गर्नु भएको र अब पनि त्यसैले निरन्तर पाउने जानकारको बुझाइ छ ।

यसअघि गिरीबन्धु र सहकारीको मुद्दालाई रापसाफ गर्नकै लागि राज्य संयन्त्र मौन रहेको भनिए पनि अहिले परिस्थिति बदलिएको छ । अब प्रधानमन्त्री ओलीलाई न रवि जोगाइ राख्नु पर्ने बाध्यता छ न त रवि नै आफू जोगिन बार्गेनिङ गर्ने ठाउँमा छन् । रवि दोषी हुन् वा होइनन् भत्रे कुरामा अनुसन्धान गर्न राज्य सत्ताले सम्पूर्ण बल प्रयोग गर्न सक्छ । रविसँग देखिएको जीबी र ग्यालेक्सी टिभीको सम्बन्धलाई सहकारी ठगीबारे छानविन गर्न बनेको संसदीय समितिले लिने मोडमा पनि महत्वपूर्ण हुनेछ ।

रवि विरुद्धका प्रशस्तै प्रमाणहरू आफ्नो हातमा भएको दाबी गर्दै आएको कांग्रेसले ती सम्पूर्ण प्रमाणहरू अब सार्वजनिक गर्छ वा फेरि प्रतिपक्षमा पुग्नु पर्दा एजेण्डाको रुपमा प्रयोग गर्छ ? यसै भन्न नसकिए पनि रविमाथि आफैँले लगाएको आरोपलाई पुष्टि गर्न कांग्रेस र गृहमन्त्रीमाथि पक्कै पनि दबाब बढ्ने छ । गृहमन्त्री लेखकले जनताका न्यायका लागि मात्रै नभई आफूले बोलेका शब्दको न्यायका लागि पनि रविको मुद्दामा छिनोफानो गर्नुपर्ने चुनौती छ । स्वार्थ बाझिने मन्त्रालयको नेतृत्व गरेर शक्ति देखाएकै भरमा जोगिँदै आएको आरोप लगाएका गृहमन्त्री लेखकले पहिले नै दोषी करार गरिदिएका रविलाई जेल हाल्न सक्लान् वा सक्दैनन् ? निकट भविष्यले दुधको दुध, पानीको पानी छुट्याउने नै छ ।