Breaking

ओलीले देखाएको सुधारको संकेत, भित्रभित्रै सर्कुलर


प्रधानमन्त्रीमा नियुक्त भएसँगै केपी शर्मा ओलीको मात्रै नभई मन्त्रीहरुको पनि रफ्तार र आत्मविश्वास बढेको छ । मन्त्रिमण्डलाई एकैपटक पूर्णता दिँदै अघि बढेका ओली र उनी नेतृत्वको सरकारलाई घेराबन्दी पनि छैन । कसैलाई रिजानु नपर्ने र सुशासन लागि पूर्ण काम गर्ने ठाउँमा पुगेको ओली नेतृत्वको सरकार कति सफल होला त ?

एकै पटक२२ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्दै अघि बढेको केपी शर्मा ओली नेतृत्वको सरकार रफ्तारमा छ । असार ३१ गते राष्ट्रपतिबाट प्रधानमन्त्री ओली र २१ मन्त्रीको शपथ लिएरमन्त्रिपरिषदलाई एकै पटक पूर्णता दिँदै ऐतिहासिक कदम चालेका ओलीले सोही दिन मन्त्रिपरिषद्को पहिलो बैठक राखे । पहिलो मन्त्रिपरिषद् बैठकबाटै प्रधानमन्त्री ओलीले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको कार्य सक्ने समय नै तोके भने टाइमकार्ड लिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।

अहिले प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनका लागि चाहिने नियुक्तिसमेत धमाधम गरिरहेका छन् । जसका लागि उनले सत्तारुढ दलको प्रमुख सचेतकमा महेश बर्तौतालाई नियुक्त गर्नेदेखि महान्याधिवक्तामा रमेश बडाललाई नियुक्ति गर्ने काम गरे । पूर्ण आत्मविश्वासका साथ अघि बढेका ओली नेतृत्वका मन्त्रीहरुको पनि रफ्तार कम छैन । जहाँ गृहमन्त्री रमेश लेखकले पहिलो निर्णय नै सिमलताल पहिरोमा परि हराएकाको खोजी गर्न कार्यदल गठन गर्दै विपद्विरुद्ध लड्ने कदम चाले ।

प्रहरी हेडक्वार्टरमै पुगेर उनले निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा सम्झौता नगर्न निर्देशनसमेत दिइसकेका छन् । यस्तै शिक्षामन्त्री विद्या भट्टराईले पनि एक महिनाभित्र परिणाम दिने गरी काम गर्ने उद्घोष गरिसकेकी छन् । तीन वर्षअघि असार २८ मा सत्ताच्युत भएर पुनः ३ वर्षपछि असार २८ मै ठूलो राजनीतिक संर्घषपछि सत्तारोहण गरेका ओलीलाई यो चौथौ कार्यकालमा सफल हुने अवसर मिलेको छ । पहिला जस्तो घेराबन्दी नहुँदा आत्मविश्वास बढाएका ओली यो कार्यकालमा सुशासनको सान बढाउने हुटहुटीमा छन् ।

सदनको सबैभन्दा ठूलो दलको समर्थन र प्र्रतिपक्ष कमजोर हुँदा हौसिएका ओलीको आत्मविश्वास बढ्नु स्वभाविकै हो । तर सत्तापक्षविरुद्ध घेराबन्दी बढाउन प्रतिपक्ष एक ढिक्का मात्रै भएको छैन उनीहरुले विभिन्न रणनीति बुन्न थालिसकेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गुमनाम भएको समाजवादी मोर्चा अहिले पुनः ब्युँतिएको छ ।

जहाँ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका ४ दल सरकारविरुद्ध थप सशक्त ढङ्गले अघि बढ्ने तयारीमा छन् । यतिमात्रै होइन प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवैधानिक भन्दै सर्वोच्चमा रिटसमेत परिसकेको छ । जसको सामना गर्दै अघि बढनुपर्ने चुनौतीमा प्रधानमन्त्री ओली छन् । सत्तामा आफूलाई धोका दिएपछि रन्थनिएको माओवादी ओलीसँग बद्ला लिने रणनीतिमा छ ।

त्यसोत, सदनको चौथौ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारविरुद्ध सशक्त आवाज उठाउँदै बलियो प्रतिपक्षी बन्ने रणनीतिमा छ । कमजोरै भएपनि प्रतिपक्षको घेराबन्दी तोड्दै अघि बढ्नुपर्ने चुनौतीमा रहेको सरकारलाईस्वार्थका लागि दलहरुले सत्ता साटेको आरोप चिर्दै सुशासनको परिणाम दिनुपर्ने दबाब छ । यसअघिका तत्कालीन गृहमन्त्री रवि लामिछाने, पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खरो प्रश्न गर्ने रमेश लेखक अहिले जवाफ दिने ठाउँ गृहमै आएका छन् । अब उनी कति सफल हुन्छन् । त्यसका लागि केही समय कुर्नै पर्ने हुन्छ । यद्यपि, नयाँ सरकारले उपलब्धिमुलुक केही काम गर्न नसक्ने र देशमा झनै अस्थिरता छाउने विश्लेषकको टिप्पणी छ ।

ठूला दलहरुको सहमतिमा बनेको सत्ता समीकरण वर्ष दिनभन्दा माथि टिक्ने अनुमान छ । स्थायित्वसँगै यो सरकारले परिणाम दिने विश्वास गरिए पनि सत्ता स्वार्थका लागिजुन कुनैबेला जो कोहीलाई धोका दिने परिपाटीका कारण यो समीकरण पनि कति टिक्छ? यसै भन्न सक्ने अवस्था छैन ।

तर सरकारलाई टिकाउने रणनीति अनुरुप अघि बढेका ओली राजनीतिक झन्झटबाट मुक्त हुन यही साउन ६ गते विश्वासको मत लिने तयारीमा छन् । तर, यो सरकार बनाउनकै लागि कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता अझैसम्म सार्वजनिक नहुनुले भने शंका उब्जाएको छ । बाहिर आएकाभन्दा अरु नै सहमति भएको हुन सक्नेभन्दै सार्वजनिक गर्न आलटाल गरिएको विश्लेषणसमेत भइरहेको छ । जसले गर्दा यो सरकार पनि विगतका सरकारभन्दा फरक नहुने र स्वार्थ केन्द्रित राजनीतिमै रुमलिने टिप्पणी हुने गरेको छ ।

पटक–पटकको अस्थिरताबाट आजित भएका नेपाली नागरिकले सत्ता सञ्चालनमा सुधार र सुशासनमा रफ्तार चाहेका छन् । साथै आफ्नो दैनिकीमासमेत परिवर्तन चाहन्छन् । राजनीतिक रुपमा सत्ता यात्रा गर्न सफल भएका ओली जनताको मन जित्न कति सफल हुन्छन् ?त्यो त आगामी दिनले नै देखाउँला । तर ओलीको यो चौथौ कार्यकालमा पनि जनताले महसुस हुने गरी काम गर्न नसके ८४ मा पहिलो शक्ति बन्ने रणनीतिमा रहेको एमालेलाई जनताले नै मूल्याङ्कन गर्दै सोहीअनुसार नतिजा दिने नै छन् ।।