अन्तर्राष्ट्रिय

हमास कमजोर हुँदा गाजामा इजरायलको दबदबा, फेरि घातक आक्रमण, आलोचना बढ्दै


इजरायल हमास युद्ध सुरु भएको करिब दश महिनाभन्दा बढी भएको छ । युद्धमा हजारौँले ज्यान गुमाएका छन् । तर पनि युद्ध रोकिने कुनै संकेत छैन । पछिल्लो २४ घण्टामा मात्रै इजराइली सेनाले गरेको आक्रमणमा ८१ जनाको ज्यान गएको छ भने १९८ जना घाइते भएका छन् ।

गत वर्षको अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु हमास समूहले प्यालेस्टाइन मुक्तिका लागि गाजा पट्टीबाट इजरायलमा रकेट र सवारी साधनमार्फत एकैपटक भीषण आक्रमण ग¥यो । सो आक्रमणमा कम्तिमा १२ सय इजरायली नागरिकको मृत्यु भएको थियो । हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले जवाफी कारबाही स्वरुप गाजामा लगातार आक्रमण गरिरहेको छ । जुन कारबाही अहिले पनि जारी छ । इजरायल र गाजाबीच सुरु भएको द्वन्द्वले मानवीय संकटसँगै गाजाको आर्थिक अवस्थालाई पूर्ण रुपमा ध्वस्त पारेको छ ।

गाजामा इजरायलको आक्रमणले कृषियोग्य जमिन र थुप्रै कृषि पूर्वाधारलाई समेत तहस–नहस पारेको छ । युद्धका कारण ध्वस्त भएका संरचनाको भग्नावशेष पन्छाउन र इजरायलद्वारा छाडिएका हातहतियारका टुक्राहरु हटाउन १४ वर्ष लाग्ने अनुमान राष्ट्रसंघले यसअघि नै गरिसकेको छ । अधिकारीहरुका अनुसार गत वर्ष अक्टोबर ७ बाट युद्ध सुरु भएयता १५ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । त्यसमध्ये ३० हजार भन्दाबढी बालबालिकाको भने कुपोषणबाट मृत्यु भएको जनाइएको छ । गाजा युद्धको चपेटमा परि करिब १७ हजार बालबालिका अनाथ हुनुका साथै आफ्नो अभिभावक गुमाएका छन् ।

युद्ध विराम र कैदी आदानप्रदान सम्झौतापछि हमासले आफ्नो कब्जामा रहेका १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए । हिंसा रोक्नका लागि नयाँ कुटनीतिक प्रयासहरू जारी छन् । तर युद्ध झनै भयावह हुँदै गएको छ । यसअघि नै हमासलाई नसिध्याएसम्म कुनै हालतमा युद्ध विश्राम नलिने प्रण गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू के अब हमासलाई सिध्याउने बाटोमा त अग्रसर भएका होइनन् भन्ने प्रश्नहरु उब्जिन थालेका छन् ।

पछिल्लो २४ घण्टामा गाजा सहरमा विस्थापितहरूको आवासको गेटमा इजराइली पक्षबाट बमबारीमा भएको छ । इजराइली सेनाले गरेको सो आक्रमणमा ८१ जनाको ज्यान गएको छ भने १९८ जना घाइते भएका छन् । यसबाट गाजामा मृत्यु हुनेको कूल सङ्ख्या ३८ हजार ७९४ पुगेको छ । सन् २०२३ को अक्टोबरमा प्यालेष्टिन–इजरायल द्वन्द्व शुरु भएदेखि हालसम्म ८९ हजार ३६४ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले विज्ञप्तिमार्फत जनाएका छन् ।

यही घटनालाई लिएर विश्व दुई ध्रुवमा बाँडिएको छ । अमेरिका, बेलायत, जर्मनी जस्ता शक्तिशाली मुलुकहरू खुलेयाम इजरायलको पक्षमा छन् । हमासलाई आतङ्ककारी सङ्गठन मान्दै आएका उनीहरूले इजरायलको जवाफी हमलालाई ‘प्रतिरक्षा अधिकार’का रूपमा व्याख्या गरिरहेका छन् । अर्कोतर्फ मुस्लिम राष्ट्रहरू हमासको पक्षमा छन् । उनीहरुले गाजाका जनताको नरसंहार हुन नसक्ने बताउँदै इजरायललाई पछि हट्न सुझाइरहेका छन् । तर पनि इजरायली सुरक्षाकर्मीले झिङ्गालाई जति पनि दया नराखी प्रत्येक दिन प्यालेस्टाइनीमाथि आक्रमण गरिरहेका छन् ।

इजरायलका गोत्रियाहरू यस कारबाहीलाई लिएर गर्व गरिरहेका छन् । तर, हमासमाथिको कारबाहीले गाजा क्षेत्रका नागरिकले भोग्नु परिरहेको दर्दनाक पीडालाई विश्व शक्ति राष्ट्रहरुले नजरअन्दाज गरिरहेका छन् । गाजाका जनताको चित्कार कसैले पनि सुन्न र देख्न चाहेका छैनन् । गाजा क्षेत्र ध्वस्त भएको छ ।

यसले इजरायलमाथि युद्धविराम गर्नु पर्ने दबाब पनि बढ्दै गएको छ । गाजाका नागरिकको सुरक्षा र अधिकारका निम्ति पनि इजरायल युद्धबाट पछि हट्नु पर्ने आवाज उठिरहेको छ । आतंककारीमाथिको कारबाही भन्दै प्यालेस्टिनी नागरिकको नरसंहारलाई टुलुटुलु हेरेर बस्न नसकिने भन्दै राष्ट्रसंघ, अरब राष्ट्रलगायतले आलोचना गरिरहेका छन् । तर पनि इजरायलले आफ्नो आक्रमणलाई रोक्न अस्वीकार गरिरहेकाले जारी युद्ध कतिन्जेल चल्ने हो यसै भन्न सकिने अवस्था छैन ।